साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १५

Nepal Telecom ad

महँगीको मुक्का
सरकारले प्रहार गर्छ । जित्दैन । जनता लागिपर्छन्, यताउता सर्वत्रबाट प्रहार गर्छन् तर जित्दैनन् । एक–दुई दिन होइन, अहोरात्र प्रहार गर्छन् तर उसैले जित्छ । उसैले अर्थात् महँगीले । महँगीलाई मुक्का हान्न कसैले बाँकी राखेको होला ? पक्कै छैन । तर, महँगीले नै मुक्का हान्छ । महँगीले कतिलाई मार्छ भन्ने तथ्यांक छैन तर मर्नु न बाँच्नुचाहिँ अधिकांशलाई बनाइरहेको छ । आतंककारीले भन्दा बढी आतंक महँगीले फैलाउँछ । आतंककारी होइन, महाआतंककारी हो यो महँगी भन्ने ।

महँगीको सेप लागेर नेपाली जनतालाई सुकेनास लाग्दै गएको छ तर महँगी भने फस्टाउँदै गएको छ । रासायनिक मल हाल्न नपर्ने, गोडमेल गर्न पनि नपर्ने, पानी पनि नचाहिने, गजबको बाली हो महँगी, सिर्फ पैसा चाहिने । अधिकांश नेपालीको महिनाभरिको कमाइ क्वाप्पै खाइदिन्छ । अनि, फस्टाउँदैन त ? व्यक्ति–व्यक्तिलाई महँगीले मुक्का हानिरहेकै थियो, अहिले देशलाई नै हानेको छ । वर्षमा एकपटक महँगीले देशको मुखमा प्वाक्क हान्छ । हरेक वर्ष देशको मुखमा हान्ने महँगीको हातलाई ‘बजेट’ भनिन्छ ।

तपाईंलाई महँगीको मुक्का कत्तिको लागेको छ ? कत्तिको दुखेको छ ?

एउटा गाईको भागबन्डा
हाम्रा पार्टीहरू भागबन्डामा दक्ष छन् । जे पनि भागबन्डा गरिहाल्छन् । सत्तावासी होऊन् या सडकवासी, बाँडीचुँडी गर्छन्, मिलेर खान्छन्, मिलेर पद लिन्छन् । यस्तो अद्भूत राजनीतिक परम्परा अरू देशमा होला त ? हाम्रा पार्टीहरू कसरी भागबन्डा गर्छन् भनेर परीक्षण गर्न एकपटक एउटा अप्ठ्यारो उपहार अर्थात् विदेशी गाई दिई हेरौँ न त, त्यो पनि एउटा मात्रै ।

– गाईका लागि अन्तर्राष्ट्रिय स्तरको गोठ, गोठालाका लागि आवास, घाँस र दाना राख्ने भवन बनाउन सरकारले बजेट निकासा गर्नेछ । यसको ठेक्का मुख्य पार्टीले लिनेछ ।

– दाना, घाँस खरिद ठेक्का अर्काे पार्टीले पाउँछ । अनि, त्यही पार्टीले गोठालाहरू नियुक्त गर्ने जिम्मा पनि पाउनेछ ।

– गाईको उपचार गर्ने र औषधि किन्ने ठेक्का पार्टी नम्बर–३ को हुनेछ ।

– विदेशी गाईको स्याहार कसरी गर्ने ? यसको अध्ययन गर्न पार्टी नम्बर–४ का नेताहरू विदेश भ्रमण गए ।

– गोबर व्यवस्थापन गर्दै त्यसबाट खेती गर्न केही बिघा जमिन सरकारले छुट्याउनेछ । यसको ठेक्काचाहिँ ५ नम्बर पार्टीले लिनेछ ।

तर, अब दूधचाहिँ कसले खान्छ भन्ने उत्सुकता रहनेछ । वास्तवमा दूध कसैले लिन मान्ने छैनन् । दूध हामीले पाउनुपर्छ भनेर कुनै पार्टीको दाबी आउने छैन । त्यसपछि भागबन्डा विज्ञ भनेर कहलिएका नेताले रहस्य खोल्नेछन्, ‘गाईले दाना, घाँस केही खान पाउनेवाला छैन, उपचार र स्याहार पनि पाउनेवाला छैन । त्यसैले गाईले दूध दिनेवाला छैन । दूध खान पाइँदैन भन्ने सबै पार्टीलाई थाहा छ अनि कसले दूध पाउनुपर्छ भनेर दाबी गर्छ ?’

भित्तातन्त्र जिन्दावाद !
अब एउटा भित्ता बनाउनुपर्यो । निकै ठूलो भित्ता । त्यहाँ रङ पोत्ने । कालो पोत्न मन लाग्नेले कालो, सेतो पोत्न मन लाग्नेले सेतो । जसलाई जस्तो रङ पोत्न मन लागेको छ त्यस्तै पोत्ने । रिस देखाउन पनि त्यही भित्ता पोत्ने, प्रेम देखाउन पनि त्यही भित्ता पोत्ने । समर्थन गर्न पनि भित्तामा पुग्ने, विरोध जनाउन पनि भित्तामै पुग्ने । त्यसपछि जे देखिन्छ, भित्तामै देखिन्छ । भित्ताले सत्ता पनि देखाउँछ, भित्ताले भत्ता पनि देखाउँछ । भत्ता खाएर विरोध र समर्थन गर्नेहरूको रङ पनि भित्तामै देखिन्छ । सत्ता चाहिनेहरूको लोभको रङ पनि भित्तामै हुनेछ ।
नाम भने लोकतान्त्रिक भित्ता राख्दा राम्रो हुन्छ अथवा पहिचानको भित्ता राखे पनि हुन्छ । जति मनपरी गर्नु छ, त्यही भित्तामा गर्ने । नानाथरी पनि भित्तामै गर्ने । भोट माग्नेदेखि नोट माग्नेसम्म सबै काम त्यही भित्तामा गर्ने । प्रदेश सीमांकनमा समस्या भो ? भित्तामा नेपालको नक्सा बनाउने अनि आफूले चाहे अनुसारको प्रदेश बनाउने । गजब हुनेछ यस्तो भित्ता ! भित्ताअगाडि उभिएर भाषण गर्न पाइने व्यवस्था पनि मिलाउने । अझ एक ठाउँमा होइन कि, ठाउँ–ठाउँमा यस्तो भित्ता बनाउने । अनि, लोकतन्त्रलाई भित्तातन्त्रमा परिणत गर्ने । भित्तातन्त्र–जिन्दावाद !

पर्यटन अब रक्सीटन
घुम्न आउने पर्यटक, रक्सी खान आउने रक्सीटक । अब भन्नूस्, हामीलाई पर्यटनले धेरै फाइदा कि रक्सीटनले ? भूकम्प र नाकाबन्दीले पर्यटनलाई तहसनहस बनाएका बेला रक्सी पिउन बिहारीहरू नेपाल आउन थाले, रक्सीटन फस्टाउन थाल्यो । रक्सीटनको प्रचूर सम्भावना भएको संकेत हो यो । भारतको बिहार राज्यमा रक्सी प्रतिबन्धित भएपछि नेपाललाई चाँदी हुने अवसर पनि हो । पहिले–पहिले हिमाल हेर्न नेपाल आऊ भनेर प्रचार हुन्थ्यो, अब रक्सी खान नेपाल आऊ भने भो । तर, यसरी फस्टाउन थालेको रक्सीटनसमेत भारतले देखिसहेन । नेपालबाट रक्सीटन गरेर स्वदेश फर्किएका बिहारीहरूलाई त्यहाँको प्रहरीले पक्रन सुरु गरेछ । भारतले नेपाललाई देखिसहेन, अति पो गर्न थाल्यो । आफ्ना जनताले रक्सी खाएको पनि देखिनसहने, नेपालीले गरिखाएको पनि नसहने, यो के गर्न खोजेको ?

भारतले यसरी नै निहुँ खोज्छ, फस्टाउँदै गरेको रक्सीटन उद्योगलाई धराशयी बनाउन खोज्छ भने सरकार चुप लागेर बस्न हुँदैन । सरकारले अब भूमिगत पाइप गोप्य रूपमा बिच्छ्याएर बिहारका घरघरमा रक्सी पुर्याउनुपर्छ । रक्सीटन उद्योगलाई बचाउने अरू कुनै उपाय छ कि ? लौन सरकार, आइडिया लगाउनुपर्यो ।

नेपाल, जेष्ठ २०, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x