अमर अधिकारीखित्कै खित्का– १५
महँगीको मुक्का
सरकारले प्रहार गर्छ । जित्दैन । जनता लागिपर्छन्, यताउता सर्वत्रबाट प्रहार गर्छन् तर जित्दैनन् । एक–दुई दिन होइन, अहोरात्र प्रहार गर्छन् तर उसैले जित्छ । उसैले अर्थात् महँगीले । महँगीलाई मुक्का हान्न कसैले बाँकी राखेको होला ? पक्कै छैन । तर, महँगीले नै मुक्का हान्छ । महँगीले कतिलाई मार्छ भन्ने तथ्यांक छैन तर मर्नु न बाँच्नुचाहिँ अधिकांशलाई बनाइरहेको छ । आतंककारीले भन्दा बढी आतंक महँगीले फैलाउँछ । आतंककारी होइन, महाआतंककारी हो यो महँगी भन्ने ।
महँगीको सेप लागेर नेपाली जनतालाई सुकेनास लाग्दै गएको छ तर महँगी भने फस्टाउँदै गएको छ । रासायनिक मल हाल्न नपर्ने, गोडमेल गर्न पनि नपर्ने, पानी पनि नचाहिने, गजबको बाली हो महँगी, सिर्फ पैसा चाहिने । अधिकांश नेपालीको महिनाभरिको कमाइ क्वाप्पै खाइदिन्छ । अनि, फस्टाउँदैन त ? व्यक्ति–व्यक्तिलाई महँगीले मुक्का हानिरहेकै थियो, अहिले देशलाई नै हानेको छ । वर्षमा एकपटक महँगीले देशको मुखमा प्वाक्क हान्छ । हरेक वर्ष देशको मुखमा हान्ने महँगीको हातलाई ‘बजेट’ भनिन्छ ।
तपाईंलाई महँगीको मुक्का कत्तिको लागेको छ ? कत्तिको दुखेको छ ?
एउटा गाईको भागबन्डा
हाम्रा पार्टीहरू भागबन्डामा दक्ष छन् । जे पनि भागबन्डा गरिहाल्छन् । सत्तावासी होऊन् या सडकवासी, बाँडीचुँडी गर्छन्, मिलेर खान्छन्, मिलेर पद लिन्छन् । यस्तो अद्भूत राजनीतिक परम्परा अरू देशमा होला त ? हाम्रा पार्टीहरू कसरी भागबन्डा गर्छन् भनेर परीक्षण गर्न एकपटक एउटा अप्ठ्यारो उपहार अर्थात् विदेशी गाई दिई हेरौँ न त, त्यो पनि एउटा मात्रै ।
– गाईका लागि अन्तर्राष्ट्रिय स्तरको गोठ, गोठालाका लागि आवास, घाँस र दाना राख्ने भवन बनाउन सरकारले बजेट निकासा गर्नेछ । यसको ठेक्का मुख्य पार्टीले लिनेछ ।
– दाना, घाँस खरिद ठेक्का अर्काे पार्टीले पाउँछ । अनि, त्यही पार्टीले गोठालाहरू नियुक्त गर्ने जिम्मा पनि पाउनेछ ।
– गाईको उपचार गर्ने र औषधि किन्ने ठेक्का पार्टी नम्बर–३ को हुनेछ ।
– विदेशी गाईको स्याहार कसरी गर्ने ? यसको अध्ययन गर्न पार्टी नम्बर–४ का नेताहरू विदेश भ्रमण गए ।
– गोबर व्यवस्थापन गर्दै त्यसबाट खेती गर्न केही बिघा जमिन सरकारले छुट्याउनेछ । यसको ठेक्काचाहिँ ५ नम्बर पार्टीले लिनेछ ।
तर, अब दूधचाहिँ कसले खान्छ भन्ने उत्सुकता रहनेछ । वास्तवमा दूध कसैले लिन मान्ने छैनन् । दूध हामीले पाउनुपर्छ भनेर कुनै पार्टीको दाबी आउने छैन । त्यसपछि भागबन्डा विज्ञ भनेर कहलिएका नेताले रहस्य खोल्नेछन्, ‘गाईले दाना, घाँस केही खान पाउनेवाला छैन, उपचार र स्याहार पनि पाउनेवाला छैन । त्यसैले गाईले दूध दिनेवाला छैन । दूध खान पाइँदैन भन्ने सबै पार्टीलाई थाहा छ अनि कसले दूध पाउनुपर्छ भनेर दाबी गर्छ ?’
भित्तातन्त्र जिन्दावाद !
अब एउटा भित्ता बनाउनुपर्यो । निकै ठूलो भित्ता । त्यहाँ रङ पोत्ने । कालो पोत्न मन लाग्नेले कालो, सेतो पोत्न मन लाग्नेले सेतो । जसलाई जस्तो रङ पोत्न मन लागेको छ त्यस्तै पोत्ने । रिस देखाउन पनि त्यही भित्ता पोत्ने, प्रेम देखाउन पनि त्यही भित्ता पोत्ने । समर्थन गर्न पनि भित्तामा पुग्ने, विरोध जनाउन पनि भित्तामै पुग्ने । त्यसपछि जे देखिन्छ, भित्तामै देखिन्छ । भित्ताले सत्ता पनि देखाउँछ, भित्ताले भत्ता पनि देखाउँछ । भत्ता खाएर विरोध र समर्थन गर्नेहरूको रङ पनि भित्तामै देखिन्छ । सत्ता चाहिनेहरूको लोभको रङ पनि भित्तामै हुनेछ ।
नाम भने लोकतान्त्रिक भित्ता राख्दा राम्रो हुन्छ अथवा पहिचानको भित्ता राखे पनि हुन्छ । जति मनपरी गर्नु छ, त्यही भित्तामा गर्ने । नानाथरी पनि भित्तामै गर्ने । भोट माग्नेदेखि नोट माग्नेसम्म सबै काम त्यही भित्तामा गर्ने । प्रदेश सीमांकनमा समस्या भो ? भित्तामा नेपालको नक्सा बनाउने अनि आफूले चाहे अनुसारको प्रदेश बनाउने । गजब हुनेछ यस्तो भित्ता ! भित्ताअगाडि उभिएर भाषण गर्न पाइने व्यवस्था पनि मिलाउने । अझ एक ठाउँमा होइन कि, ठाउँ–ठाउँमा यस्तो भित्ता बनाउने । अनि, लोकतन्त्रलाई भित्तातन्त्रमा परिणत गर्ने । भित्तातन्त्र–जिन्दावाद !
पर्यटन अब रक्सीटन
घुम्न आउने पर्यटक, रक्सी खान आउने रक्सीटक । अब भन्नूस्, हामीलाई पर्यटनले धेरै फाइदा कि रक्सीटनले ? भूकम्प र नाकाबन्दीले पर्यटनलाई तहसनहस बनाएका बेला रक्सी पिउन बिहारीहरू नेपाल आउन थाले, रक्सीटन फस्टाउन थाल्यो । रक्सीटनको प्रचूर सम्भावना भएको संकेत हो यो । भारतको बिहार राज्यमा रक्सी प्रतिबन्धित भएपछि नेपाललाई चाँदी हुने अवसर पनि हो । पहिले–पहिले हिमाल हेर्न नेपाल आऊ भनेर प्रचार हुन्थ्यो, अब रक्सी खान नेपाल आऊ भने भो । तर, यसरी फस्टाउन थालेको रक्सीटनसमेत भारतले देखिसहेन । नेपालबाट रक्सीटन गरेर स्वदेश फर्किएका बिहारीहरूलाई त्यहाँको प्रहरीले पक्रन सुरु गरेछ । भारतले नेपाललाई देखिसहेन, अति पो गर्न थाल्यो । आफ्ना जनताले रक्सी खाएको पनि देखिनसहने, नेपालीले गरिखाएको पनि नसहने, यो के गर्न खोजेको ?
भारतले यसरी नै निहुँ खोज्छ, फस्टाउँदै गरेको रक्सीटन उद्योगलाई धराशयी बनाउन खोज्छ भने सरकार चुप लागेर बस्न हुँदैन । सरकारले अब भूमिगत पाइप गोप्य रूपमा बिच्छ्याएर बिहारका घरघरमा रक्सी पुर्याउनुपर्छ । रक्सीटन उद्योगलाई बचाउने अरू कुनै उपाय छ कि ? लौन सरकार, आइडिया लगाउनुपर्यो ।
नेपाल, जेष्ठ २०, २०७३
Subscribe
Login
0 Comments
Oldest




































