साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १७

Nepal Telecom ad

बुँदामय दिनचर्या
नेताजीले बिहान नास्ता पाँचबुँदे खानुभो । खाना दसबुँदे खानुभो । एक बुँदाले मुख चुठेर कार्यक्रममा जानुभो । कार्यक्रममा २०र२५ बुँदाको भाषण दिनुभो । अझ धेरै बुँदाको भाषण दिनुहुन्थ्यो होला तर आयोजकले उहाँसमक्ष सानो चिर्कटोमा एक बुँदा पेस गरिदिए । चिर्कटो देख्नासाथ उहाँको भाषणका बुँदा नियन्त्रित भए । भाषण सकेर पार्टी कार्यालय जानुभो । कार्यकर्तासमक्ष दुई–चार बुँदा गफ हान्नुभो । त्यसपछि विभिन्न पार्टीका नेता सम्मिलित बैठकमा जानुभो । बैठकमा उही गर्नुभो, उही अर्थात् वार्ता गर्नुभो । वार्ताको विषय थियो– बुँदा ! एउटा पार्टीका नेताले नौ बुँदा भने, अर्काे पार्टीले १० बुँदा भन्यो । उहाँले ११ बुँदा भन्नुभो । कति बुँदा लेख्ने त ? यसैमा बुँदाबुँदामा छलफल भयो । हरेक बुँदामा कुरा अड्कियो तर अन्तिममा एउटा बुँदामा सहमति भयो । त्यो थियो– आजका लागि बैठक सक्ने ।

त्यसपछि घर आउनुभो । दुई–चार बुँदा खाना खाएर सुत्नुभो । बिहान आँखा मिच्दै उठ्नुभो । घरमा कार्यकर्ता आइसकेका थिए । उनीहरूमाझ जानुभो । कार्यकर्ताले सोधे– ‘राजनीति कहाँ अड्किएको छ ?’ नेताजीले सुरुप्प एक बुँदा चिया घुट्काउँदै जवाफ दिनुभो– ‘बुँदामा अड्किएको छ ।’

देश खाने कथा
मोटे नेताले दुब्लो नेतालाई गाउँखाने कथा सोध्यो– ‘पदका लागि मरिहत्ते र पैसाका लागि अपहत्ते गर्ने ! यसको जवाफ के हो ?’ दुब्लोले कसै गरे जवाफ दिन सकेन । त्यसपछि मोटेले देश माग्यो । दुब्लोले ‘देश मलाई नै चाहिन्छ, दिन्न’ भन्यो । मोटेले प्रदेश माग्यो, दुब्लोले ‘मुख्यमन्त्री म बन्छु, तिम्लाई किन प्रदेश दिन्छु’ भन्यो । मोटेले जिल्ला माग्यो, ‘जिल्ला पनि दिन्न’ भन्यो । त्यसपछि दुब्लोले दियो– झुत्रेगाउँ ।

झुत्रेगाउँ पाएपछि मोटे फलाक्न थाल्यो– ‘काठमाडौँबाट सिंहदरबार र संसद्लाई झुत्रेगाउँ सार्ने काम तेरो, त्यसमा राज गर्ने काम मेरो । ठूलठूला राजनीतिक नियुक्ति मेरो, विरोध गर्ने काम तेरो । मन्त्रिमण्डल मेरो, गाउँपालिका तेरो । ठेक्कापट्टा मेरो, कुल्लीकाम तेरो । राजदूतजति सबै मेरो, दूतावास बढार्ने काम तेरो । एनसेल कम्पनी मेरो, पकाउने सेल तेरो । निजगढ–काठमाडौँ फास्ट ट्रयाक मेरो, लगाउने ट्रयाकसुट तेरो । खेत सबै मेरो, बारीजति तेरो । भूकम्पपीडित सबै तेरो, पुनस्निर्माणको काम मेरो । डलर, भारु मेरो, नेरु सबै तेरो । प्रत्यक्ष चुनाव लड्ने काम तेरो, समानुपातिकमा बस्ने काम मेरो…. ।’

मोटे यति फलाक्यो कि आजित भएर दुब्लोले भन्यो– ‘ल, ल, सबै तेरो भो । अब गाउँखाने कथाको जवाफ बता !’

मोटेले टाउको कन्याउँदै भन्यो– ‘यो गाउँ होइन, देश खाने कथा हो तर यसको जवाफ मलाई पनि थाहा छैन !’

नीति तथा कार्यक्रमको अर्थ
सरकारको नीति तथा कार्यक्रम भनेको के हो ?

– बुझ्नेलाई यो कुरा सजिलो छ, नबुझ्नेलाई पनामा पेपर्सजस्तै गहिरो छ । सरकारको नीति भन्या टिक्ने हो । जसरी पनि टिक्ने, नगिरेसम्म प्राण हत्ते हालेर टिकिरहने नीति हो । अर्थात् नियत नै नीति हो । नीति बुझेपछि कार्यक्रम पनि सजिलै बुझिन्छ । टिक्नका लागि गरिने जेजति खेलोमेलो छ, त्यो चाहिँ कार्यक्रम हो ।

राष्ट्रपतिले संसदमा वाचन गरेको चाहिँ के हो ?
– त्यो भाषण हो । त्यसको खोलभित्र सरकारको टिक्ने नियत र टिक्नका लागि गरिने कार्यक्रम छुपेको हुन्छ ।

स्वदेशी चाहिँदैन
स्वदेशीले सक्दैनन् क्या, विदेशी चाहिन्छ । बाटोमा कालोपत्रे हामीले नै गरेको हो तर अलकत्रा हामीले बनाएको हो ? होइन ! गिटी हामीले नै कुटेको हो तर गिटी कुट्ने घन हामीले बनाएको हो ? होइन । हवाईजहाज हामीले बनाएको हो ? त्यो पनि होइन ! हामीले त सरकारसमेत बनाउँदैनौँ । एउटा सरकार ढलेर अर्काे बन्नुपर्छ, त्यो विदेशीले नै बनाइदिएको हो भन्छम् । सरकार ढाल्ने पनि विदेशी, बनाइदिने पनि विदेशी ।

माटो हाम्रै हो, बाटो बनाउन सक्दैनौँ । हामीले बनाएको बाटो गतिलो बन्दैन । बाटोमा पिच उप्किएको देख्नुभा छ ? त्यो हामीले उप्काएको हो । बन्यो भने विदेशीले, भत्कियो भने हामीले । हामीले गर्ने भनेकै भत्काउने हो । बनाउने काम गर्न हुन्न । सिक्न हुन्न । विदेशीलाई जिम्मा दिनुपर्छ । यो तत्त्वज्ञान अग्रणी नेता शेरबहादुर देउवामा जति कसैमा देखिएन । उनले काठमाडौँ–निजगढ सडक स्वदेशीले बनाउन हुन्न, विदेशीले बनाउनुपर्ने माग राखे । ठीकै गरे ।

हामीले ठूलठूला काम गर्न हुन्न । हामीले ठूलो काम गर्दा बिग्रन्छ । देउवाले अस्ति ठूलो काम गर्न लागेका थिए, बिग्रिहाल्यो– केपी ओलीलाई ढाल्न लागेका थिए । प्रधानमन्त्री ढाल्नेजस्तो ठूलो काम स्वदेशी देउवाले गरेर कहाँ हुन्छ ? यो पनि विदेशीलाई जिम्मा दिनुपर्छ । यस्ता काम अनेक छन्, सबैको बेलिविस्तार के लाउनु ?
सारमा भनौँ, ‘स्वदेशी चाहिँदैन, विदेशी नभई हुँदैन !’

नेपाल, जेष्ठ ६, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x