सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाल साहित्य र नाटक सम्बन्धी गोष्ठी

Nepal Telecom ad

काठमाडौं, २०७३ जेठ २८ । नेपाल प्रज्ञा–प्रतिष्ठानको लोक वार्ता र बाल साहित्य विभागले साहित्य सदन नेपालको सहकार्यमा बालबालिकालाई समेत सहभागी गराइ बाल साहित्य गोष्ठीको सम्पन्न भयो । बाल साहित्यका अग्रणी व्यक्तित्व शान्त दास मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीको अध्यक्षता साहित्य सदन नेपालका अध्यक्ष एवम् समाजसेवी अमीर थापाले गर्नु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै शान्तदास मानन्धरले केटाकेटीले रुचाउने वार ‘शुक्रवार’ शीर्षकको कविता वाचन गरी गर्नु भयो । मानन्धरले बालनाटकका लेखक स्वयं बालकै हुनु पर्ने र पुरानो ठाउँमा टेकेर नयाँ कुरा बनाउन नसकिने हुँदा नाटक खेलाउँदा बालबालिकालाई नै आधार बनाएर खेलाएमा सच्चा बाल साहित्य हुने विचार व्यक्त गर्नु भयो ।

सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले सिर्जनात्मक नाटकमा धेरै कुरा आएको र बालनाटकप्रति अझ फिँजारिन पर्ने भनाइ राख्नु भएको थियो । समारोहमा प्रमुख अतिथिले सहभागी विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्नु भयो ।

यसै गरी संयोजक प्राज्ञ नर्मदेश्वरी सत्यालले कार्यक्रमको उद्देश्यबारे आफ्ना धारणा राख्दै आउँदा दिनहरूमा पनि बालबालिकाकै कार्यक्रम राख्ने र आफूले संयोजन गरेको बालसाहित्यसम्बन्धी पहिलो कार्यक्रम भएको भन्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
प्रभात सापकोटाले ‘नेपाली बाल नाटकको सर्वेक्षण’ विषयमा प्रस्तुत गर्नु भएको कार्यपत्रमा विद्वानद्वय देविका तिमिल्सिना र प्रभा भट्टराईले टिप्पणी गर्नु भयो । कार्यपत्र ५० वर्ष भन्दा अघिका बाल नाटक प्रकाशनको सन्दर्भमा चर्चा गरिएको थियो । उक्त कार्यपत्रमाथि लक्ष्मी एडी, रामबहादुर पहाडी, कृष्ण शाह ‘यात्री’ र गणेश न्यौपानेले जिज्ञासा राख्दै बाल साहित्य सम्बन्धी गोष्ठी अलि छोटो अवधिमा भए यसको आवश्यकता र महत्व अझ बढी हुने बताउनु भयो ।

गोष्ठीपत्रमा बालनाट्य विधामा प्रकाशित साहित्यकार रमेश ‘विकल’ को सात थुङ्गा बालनाटकदेखि, कृष्णप्रसाद पराजुली, अशेष मल्ल, विजय चालिसे, सरु भक्त लगायतका बालनाटक सम्बन्धी चर्चा गरिएको थियो ।
साहित्य सदन नेपालका उपाध्यक्ष एवम् प्राज्ञ सभासद् हेमनाथ पौडेलले लक्षित वर्गलाई उपस्थित गराइ कार्यक्रम गरेको जानकारी गराउनका साथ उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।

समारोहका सभाध्यक्ष अमीर थापाले कविता वाचनका साथ उपस्थित बालबालिकालाई आफ्नै देशमा सबै चिज पाउने वातावरण निर्माण गर्न र अरूको भर नपरी आफै सक्षम हुन आग्रह गर्नु भयो । कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी छात्रछात्राले आआफ्ना बाल सिर्जना वाचन गरेका थिए ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad