साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घण्टाघर ! भो अब समय गन्ने टन्टा नगर् !

Nepal Telecom ad

केवल सपना सिरानी लगाएर सुस्ताएको भीमबहादुर ! सिस्नोको खोले बाँडेर परिश्रमको बिस्कुन सुकाउँछ । आफू आधापेट खाएर पनि सन्तानको भविष्य खोज्न दिनरात भौँतारिन्छ सारङ्गी झैँ खोक्रो पेट बोकेर । थाहै नदिई आउने समयको थप्पडले ऊ मर्माहत हुन्छ । ए घण्टाघर ! तँ स्वयंलाई आफ्नो समयको पत्तो छैन, अरूलाई समयको ज्ञान दिने टन्टा नगर् !

सारङ्गी झैँ खोक्रिएका पेटहरू मरिच झैँ चाउरिएका मनहरूमाथि एक्कासि विश्वासको खडेरी परेपछि घरघडेरी र स्वास्नीको तिलहरीसमेत साहुलाई सुम्पिएर आशाका टोकरीमा कल्पनारूपी फलहरू बटुल्दै सपना तुन्ने अल्लारे साइँलालाई यदि समयमै विदेशी स्याउभन्दा स्वदेशी ताजा नासपाती नै मिठो हुन्छ भन्ने ज्ञान भएको भए घण्टाघर, त्यस बिचराले बिदेसिने रहरमा भएको सबै सम्पत्ति दलाललाई बुझाएर जोगी बन्नुपर्ने थिएन ।

परिस्थतिको दास न हो मान्छे, बाउन्न हन्डर र त्रिपन्न ठक्कर खाएर पनि उसलाई समयको पटक्कै पत्तो हुँदैन । समय कस्तो निष्ठुरी छ, कहिले खारामा रगत भएर बग्छ, कहिले धारामा भ्यागुता बनेर उफ्रन्छ । कहिले दिप्सुङ्गमा मान्छेका बस्तीहरू उजाड्दै हिँड्छ, कहिले हाङ्देवाको सातो खान्छ त कहिले विचारको आँधीभित्र स्वार्थको बाढी लिएर कसैका काख रित्तिन्छन्, धेरेको सिन्दुर पुछिन्छ, हिजोको परिश्रमी गाउँमा आज खेतबारी बाँझै छन्, खनजोत गर्ने पुरुष जति विचारको बाढीले बगायो अब आमाका काख मात्र होइन, कोख पनि रित्तिँदै छन् । भोलि कतै मेरो सुन्दर गाउँ स्मशानमा परिणत नहोस्, पुरुष शून्य बस्तीमा मानव इतिहास बचाउनकै लागि पनि फेरि व्यास जन्मिनु नपरोस्, परस्त्रीलाई आमा समान, पर पुरुषलाई देवता समान आदर गर्ने हाम्रो पवित्र समाजमा स्वार्थकै लागि पर पुरुष र परस्त्री बिच ऋतुदानको बीभत्स नाटक रच्नु नपरोस्, घण्टाघर, खै त समयले यहाँ कसलाई बचायो ? कसलाई हँसायो ? अनि कसलाई बनायो ?

समय विपरीत भइदिँदा मेरो देशमा पानी बग्ने धारामा रगत बग्न थाल्यो । पढ्ने पाठशालामा ताला लाग्यो । गुरुजीले बोलीको सट्टा गाली खाए, देशमा विकासको सट्टा विनाश सुरु भयो । निर्माणमा भन्दा ध्वस्त पार्नमा जुट्न थाले हातहरू, देख्दादेख्दै महलहरू खरानीमा परिणत हुन थाले । खै त घण्टाघर ! यदि समयको सूचना पाएको भए कमसेकम बाँच्ने उपाय कसले सोच्दैनथ्यो होला । मान्छे मर्न चाहन्छ तर मर्न डराउँछ । सबैभन्दा ठुलो कमजोरी मान्छेको मृत्युको हो अनि मृत्यु समयको नियन्त्रणमा छ । समय सूचक भएर पनि समयमै सूचना दिन नसक्नु वास्तवमै नादानी हो । वसन्तमा सिक्रे पिपल पाउलिन नसक्नु, प्रभातमा सूर्योदय हुन नसक्नु, जलस्रोतको धनी देशमा पानी नपाएर मर्नु, नियमित लोडसेडिङ गर्नु जस्तै हो ।

हामी बुद्धका चेला भए पनि हामीसँग बुद्धिको अनिकाल छ । हामी विश्वशान्तिका लागि शङ्खनाद गर्दै हिँडे पनि आज गोत्रहत्यामा वियोत्सव मनाइरहेका छौँ त्यसैले हामी जितिरहेका छैनौँ, आफैँसँग हारिरहेका छौँ । यथार्थलाई बिर्सिएर काल्पनिक संसारको स्वप्निल परिकल्पनामा रमाइरहेका छौँ । आज स्वार्थको जालोमा बेरिएर अस्तित्व हराएका, आफैँसँग डराएका, मान्छेका मन कुँडिएका छन्, विचार बुडिएका छन्, जताततै लासहरू तेर्सिएका छन्, केवल लास मात्र बनेर । भोकाको खाना, नाङ्गाको नाना, असहायको छाना बनेर भावनाका तानावानासहित टारीहरूमा छाउनुपर्ने बारीहरूमा, गोठहरूमा अनि कलेटी परेका ओठहरूमा, समय ! सक्छस् भने मधुर मुस्कान बनेर आइज ।

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x