साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वप्निल र असीमका कविता

Nepal Telecom ad

असार २, २०७३ । कवि स्वप्निल स्मृति र असीम सागर बुधबार राजधानीमा एउटै स्टेजमा देखिए । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको पहिलो दिन गर्दै आएको ‘हामी : कवि र कविता’ को ३६ औं शृंखलामा यी दुई प्रस्तुत भए ।

कार्यक्रमको पहिलो चरणमा स्वप्निल सुनिए । कुनै समय नामको अघिल्तिर ‘स्वर्गीय’ जोड्ने यी कविले आफ्ना कवितामा पूर्वी नेपालको माटो र संस्कृतिको बास्ना छरे । साथसाथै सीमान्तीकृत आवाजलाई मुखर पारे । ‘रंगैरंगको भीर’, ‘बाडुली र सुदूर सम्झना’ जस्ता कविता कृतिका स्रष्टा स्वप्निलले ‘छोरालाई अनुरोध’ शीर्षकमा भन्दै थिए–

त्यो बूढो हिमाल तिम्रो पुर्खा हो
त्यो गहिरो आकाश तिम्रो इच्छा हो
एक रूख अर्को रूख उफ्रिहिँड्ने
यो चञ्चल बतास तिम्रो प्राण हो
डोरी झुन्ड्याएजस्तै
पारि पहाडका ती नागबेली बाटाहरू
तिम्रा स्वप्नहरू हुन्…

पाँचथरको फिदिमका यी कविले आधा घण्टा अवधिमा झन्डै एक दर्जन कविता सुनाए ।

यसपछि दर्शकश्रोतासामु उभिएका असीमले पनि उत्ति नै कविता सुनाए । अर्घाखाँचीमा जन्मेका यी कविले मुलुकको वर्तमान अवस्था, वैदेशिक रोजगारीको कारुणिक पक्षदेखि राष्ट्रप्रेमसम्म झल्किएका रचनाहरू सुनाए । ‘जून पोखिएको रात’, ‘अस्तित्वका आवाजहरू’ जस्ता कृतिका यी कविले ‘पसिनाको को जुलुस’ कवितामा सर्वसाधारणको देशभक्ति भावलाई यसरी प्रस्तुत गरे–

धनमाया,
स्कुस बेच्छिन्, इमान बेच्दिनन्
साग बेच्छिन्, स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन्, हिमाल बेच्दिनन
देशको मानचित्र बेच्छिन्, तर देश बेच्दिनन्…

यी दुई कविलाई प्रस्तुतिअघि सर्वनामका तर्फबाट रंगकर्मी अशेष मल्ल र साहित्यकला मन्दिरका तर्फबाट विष्णुविभु घिमिरेले फूलमाला लगाइदिएर सम्मान गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x