साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १९

Nepal Telecom ad

मगन्ते मन्त्रालय
चीनले रेल दिन्छ, साउदीले तेल दिन्छ । बेलायतले सशक्त बनाउन सशक्तीकरण कार्यक्रम दिन्छ । अर्काे कुनै देशले जलविद्युत् आयोजना ल्याइदिन्छ । माग्नु मात्रै पर्छ, विश्व बैंक र एसियाली विकास बैंकले हाम्रो खल्तीमै ऋण ओईयाइदिन्छ । अब नेपालीका सुखका दिन आउँछन्, सुतेर खान पाइन्छ । चिनियाँ रेलले चिनी ल्याइदिन्छ, चामल दिने देश पनि खोजौँ, हामीले मागेपछि अवश्य दिन्छ । चिया पनि मागौँ, दाल पनि मागौँ, आलु त झन् माग्नैपर्छ ।
अरूले मात्र दिएर हुन्छ ? भारतले दिन पर्दैन ? भारतले पनि रेल ल्याइदिन्छ । रेलमा अनेक सामान पठाइदिन्छ । पेट्रोल खानी खोज्न चीनलाई लगाऊ, पेट्रोल निकाल्न अर्काे कुनै देशलाई पत्र पठाऊ । सरकार चलाउन जनतासँग कर उठाऊ । स्कुल बनाउन कुनै देशलाई जिम्मा लगाऊ । शिक्षकको तलब विदेशीसँगै माग । बालबालिकालाई स्कुल पठाऊ, विदेशबाट पुस्तक मगाऊ । विद्यार्थीलाई परीक्षा दिन दुस्ख हुन्छ, परीक्षा दिन विदेशबाटै भाडाका विद्यार्थी मगाऊ । सबैथोक विदेशीसँगै मागौँ । हामीचाहिँ सुतेर खाऊँ, मागेरै बाचौँ । विदेशीले शौचालय बनाइदिएर मात्र के हुन्छ ? थालबाट उठाएर मुखमा हाल्न पनि एउटा परियोजना चाहिन्छ, जसरी हामीले गरेको फोहोर उठाउन उहिल्यै जर्मनीले आर्थिक एवं प्राविधिक मद्दत गरेको थियो ।
यसै माग्ने उसै माग्ने, एउटा मगन्ते मन्त्रालय तत्काल चाहिन्छ । त्यसैले अब यसरी हुँदैन, मगन्ते मन्त्रालयबिना अब देश चल्दै चल्दैन ।

गरिब पार्टी, हरिप नेता
खुट्टा भए जुत्ता हजार, नेता भए पार्टी हजार । आयव्यय नबुझाउने राजनीतिक पार्टी खारेज गर्ने रे π पार्टी होइन, नेता खारेज गर्नुपर्छ । पार्टी खारेज गरेर के गर्नू ? खारेज पार्टीका नेताले अर्काे पार्टी खोलिहाल्छन् । उद्योगधन्दा खोल्न गाह्रो छ, पसल खोल्न पनि गाह्रो छ तर पार्टी खोल्न सजिलो छ । अलिकति काइदा जानेर पार्टी खोले फाइदै फाइदा । पार्टीलाई त के फाइदा हुनु, नेतालाई फाइदा । हाम्रोमा पार्टी घाटामा चल्छ, पार्टीको आर्थिक बिजोग हुन्छ तर नेता भनाउँदो मोटाउँछ । पार्टी गरिब, नेता धनी । सुरुमा पार्टी र नेता दुवै गरिब हुन्छन् । पछिपछि नेता धनी हुँदै जान्छ, पार्टी गरिबको गरिब नै रहन्छ । त्यस्तो गरिब पार्टीले के भनेर आयव्यय बुझाउने ? गरिब पार्टीका हरिप नेतालाई पार्टी खारेज भएर फरक पर्दैन । उसले भोलिपल्टै अर्काे पार्टी खोल्छ या अर्काे पार्टीमा फाल हान्छ । अर्काे पार्टी पनि गरिब हुन्छ तर त्यहाँको नेता ऊजस्तै हरिप हुन्छ । नेता कति हरिप भने तिनले गरिबी मात्र देखाउँछन्, आफ्ना ड्राइभर गरिब, पीए गरिब, भान्से गरिब, अर्दली गरिब, घरको पाले गरिब, सबै गरिब । पर्दाअगाडि पार्टी हुन्छ, पर्दापछाडि आयव्यय हुन्छ । पर्दापछाडिको आयव्यय कसले बुझाउने ? किन बुझाउने ? कसरी बुझाउने ?
यसो गरौँ, पार्टी खारेज नगरौँ, नेता खारेज गरौँ । आयव्यय नबुझाउने पार्टीको नेताले पद नपाउने, अरू पार्टीमा समेत पस्न र बस्न नपाउने माग गरौँ । चाँडो गरौँ, नत्र आयव्यय नबुझाए पार्टी खारेज हुने नियम नै यी हरिप नेताहरूले खारेज गरिदेलान् ।

सहमतिका किसिम
नेताहरू ट्याप्प मिले अनि एकअर्का्विरुद्ध फलाक्न थालिहाले भने भर्खरै कुनै सहमति गरेछन् भनी बुझे हुन्छ । कसैले ‘लौ, राष्ट्रिय सहमति गरौँ’ भन्यो भने ‘कि कुर्सी देऊ, कि मिलेर खाऊँ’ भनेको हो भनेर कसले बुझ्दैन र ? भोलि आफूले नमान्ने र अर्काेले पनि बेइमानी गर्ने दुवैखाले विषय राख्नुपर्ने अवस्थामा बुँदे सहमति गरिन्छ । केही बुँदामा एउटाले र केही बुँदामा अर्काेले बेइमानी गरेपछि बुँदे सहमति बाँदरे सहमतिमा परिणत हुन्छ । यी सबैखाले सहमति बुझियो तर अहिले बजारमा सुपरहिट ‘भद्र सहमति’ फिटिक्कै बुझ्न सकिएन ।

गोप्य सहमतिको विकसित रूप नै भद्र सहमति हो भन्नेहरू पनि छन् । भद्र सहमतिमा एउटाले ठाडो हात पारेर ‘बेला आएपछि सहमति प्रकट हुनेछ’ भन्दा रैछन्, अर्काेले चाहिँ धारे हात लाउँदै ‘सहमति भएको हो भने तमसुक देखाऊ’ भन्दा रैछन् । भएको हो कि होइन, अन्योल उत्पन्न हुनेलाई भद्र सहमति भन्नुपर्ने हो कि † अरू खाले सहमति कहाँ टुंगिन्छ भन्ने हामीले बारम्बार देख्या छौँ तर यो भद्र सहमति नयाँ भएकाले भेउ पाउन सकिएन । भद्र सहमतिबारे अरू केही नबुझिए पनि एउटा कुरा भने बुझियो, यो सहमतिको खेल मैदान पनि सिंहदरबारको कुर्सी नै हो ।
ल अब भनम्, कुर्सीका लागि नेपालमा कति किसिमका सहमति प्रचलित छन् ?

गफ शिरोमणी
– अल्छी ती हुन्, जसले गफ दिन जान्दैनन् या दिँदैनन् । महाअल्छी ती हुन्, जो काम मात्र गर्छन् तर फिटिक्कै गफ दिँदैनन् । यस्ता अल्छी र महाअल्छी दुवैखाले मानिसलाई गफ दिन सक्ने, गफ सुनाएर ट्वाँ पार्न सक्नेचाहिँ जाँगरिला हन् । नेपालमा त्यस्ता जाँगरिला मानिस एक जना छन् । लौ ठम्याउनूस् त, उनी को हुन् ?
– गफ प्रतियोगितामा एक जनाले स्वर्ण, रजत र काँस्य तीनवटै पदक कुम्ल्याएछ । कारण, उसले भेष बदलेर फरकफरक रूपमा मञ्चमा आएर गफ दिएको थियो । तीनवटै गफ असाध्यै दामी थिए । प्रतियोगितापछि ऊ असली रूपमा प्रकट भयो । अरू सबै उसलाई नमस्कार ठोक्दै नतमस्तक भए । चिन्नुभो त उनलाई ?
– उनले भने, ‘मैले विकासको कुरा गर्दा विरोधीहरू अत्तालिए ।’ मान्नैपर्छ उनको ‘कुरा’ अर्थात् गफलाई । कुराले नै आत्तिने कस्ता खालका विरोधी हुन् ? ‘कुरा’ गर्दा मात्रै पनि विरोधी आत्तिँदा रहेछन् भने काम नै गर्न थाले भने झन् के होला ?

अब त पक्कै चिनिसक्नुभयो होला, ‘गफ शिरोमणि’लाई ?

नेपाल, असार २, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x