सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रचण्डलाई धन्यवाद

Nepal Telecom ad

बल्ल सरकार ढल्ने भयो । अब मजा आउने भयो । सरकार बनेकै दिनदेखि आफूले त भनेको हो, यो सरकार ढाल्नुपर्छ । यो मात्रै होइन, जुनसुकै सरकार पनि यसै गरी ढालिरहनु पर्छ । सरकार भनेकै ढाल्नका लागि हो । अब बन्ने सरकारलाई पनि छिटोभन्दा छिटो ढाल्नुपर्छ । सरकारलाई कहिल्यै पनि आफैँ ढल्न दिनुहुँदैन ।

सरकार नढलेर लामो समय टिक्यो भने के हुन्छ हामीलाई कुनै अनुभव छैन । के थाहा, त्यो एकदमै जोखिमपूर्ण पनि हुन सक्छ । उदाहरणका लागि मानौँ, अहिलेको केपी ओली सरकारलाई लामो समय काम गर्न दिँदा भ्रष्टाचारमा डुब्दै गयो, अक्षम, बदनाम र पतन हुँदै गयो भने त राम्रै हुन्थ्यो तर राम्रा राम्रा काम गरेर, मुलुकको विकास गरेर जनताको मन जित्न थाल्यो भने कत्रो जोखिम हुन्थ्यो ! जनताले उसैलाई बढी मन पराउन थाले भने उसैका दलले चुनावमा जित्न थाल्ला । बहुमत ल्याएर एकलौटी सरकार बनाउला । एकलौटी सरकार भएपछि ढाल्न नसकिएला । कुनै सरकार एक वर्ष, डेढ वर्षसम्ममा पनि ढाल्न नसकिने गरी बलियो भयो भने लोकतन्त्रको के स्थिति होला ?

ल हेर्नूस् जोखिम ! लोकतन्त्रमा त्यस्तो जोखिम उठाउनु हुँदैन । ६ महिना, आठ महिनामा सबैले पालैपालो सरकार चलाउन पाउनुपर्छ । सबैले पालैपालो आफ्नो झोली भर्ने मौका पाउनुपर्छ । यसकै लागि त त्यत्रो बलिदान गरेर मुलुकमा हामीले प्रजातन्त्र ल्याएको, लोकतन्त्र र गणतन्त्र ल्याएको । त्यसैले जोखिम मोल्ने काम गर्नु हुँदैनथ्यो । सरकार ढालिहाल्नुपथ्र्यो, ठीकै भयो । अब मजा आउने भयो ।

सरकार ढल्ने भन्ने कुरा सुन्दै कति आनन्ददायक छ, कति रोमाञ्चक छ । यसै यसै हाम्रा कान ठाडा हुन्छन् । हामी सबै एकाएक सक्रिय हुन्छौँ । सरकार ढल्ने बेलामा कसैले पनि बेरोजगार बस्नुपर्दैन । हामी सबै एकाएक रोजगार हुन्छौँ । गाउँ, टोल, चोक र चौतारी चारैतिर मानिसहरू सबै अरू काम छाडेर जिब्रो फट्कार्न थाल्छन्, विपक्षीलाई ललकार्न थाल्छन् । कर्मचारीहरू गर्दागर्दैका काम छाडेर सरकार परिवर्तनको छलफलमा उत्रिन्छन् । किसानहरूले रोपाइँ छाड्छन् । रोगी, बूढा, बिरामी सबै र्जयाकजुरूक उठेर मन्त्रीहरूको सूची बनाउन थाल्छन् । सेयर बजारको भाउ घटेर के हुन्छ, पत्रकार तथा सञ्चार माध्यमहरूको भाउ बढेर एकाएक माथि पुग्छ । सत्ता उन्मुख नेता–कार्यकर्ताको फूर्ती झन् माथि चढ्छ । देशमा मात्रै किन, छिमेकी राष्ट्रका राजधानीमा समेत हलचल आउँछ ।

महिनौँसम्म एउटै प्रधानमन्त्री, एउटै मन्त्री देख्दा देख्दा हामीलाई वाक्कै लागिसकेको थियो । नयाँ सरकारको न्यास्रोले सताउन थालिसकेको थियो । बल्ल न्यास्रो मेटिने भयो । हाम्रो इच्छा पूरा हुने भयो । नयाँ सरकार आएपछि अब हामीले नयाँ प्रधानमन्त्री, नयाँ–नयाँ मन्त्रीहरू देख्न पाउने भयौँ । नयाँ शपथग्रहण, नयाँ–नयाँ शुभकामना, नयाँ–नयाँ बधाई सन्देशहरू, नयाँ–नयाँ गाडी, नयाँ–नयाँ मन्त्रालय, नयाँ–नयाँ पीए, नयाँ–नयाँ जोगी, नयाँ–नयाँ खरानी । हाम्रा लागि भरपूर मनोरञ्जन प्राप्त हुने भयो ।

अरू हुने त के हो र ! हामी जनताको मनोरञ्जनका लागि भए पनि सरकार ढल्नै पथ्र्यो, ढल्यो । आफ्नै सरकार आफैँले ढालेर भए पनि हामीलाई यस्तो असीम मनोरञ्जन प्रदान गर्ने नायक प्रचण्डलाई धेरै धेरै धन्यवाद ।

नेपाल, श्रावण ७, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे