डा. लोकेन्द्रप्रसाद पौड्यालबैंसको दरौंदी
स्पर्शले गोडेर सुस्तरी
हिर्काएर धानखेतको आली
बगिरहेछ दरौंदी
गाएर बैंसको गीत ।
जसरी भर्भराउँछ
श्रीनाथकोटको सिउँदोमा लालीगुराँस
जसरी मगमगाउँछ
अजिरकोटमा बुकीफूल ।
जसरी वर्षन्छ
बाललहरीमा प्रेमको बर्षा
र, फुकालेर चोलीको तुना
पोखिन्छ भुसुण्डी खोला
उसरी नै
चुमेर आदिम सभ्यता
पोखेर फाँटभरि जीवनको रङ
बगिरहेछ दरौंदी
सुसेलेर बैंसको सङ्गीत ।
जब घुम्टो उघारेर बादलको
मुसुक्क हाँस्छ बौद्ध हिमाल
जब छल्किएर छङ्छङ्
झर्छ नारदकुण्डबाट हिउँखोला
विस्तारै
बैंसको लाली चढ्छ रुपिनालामा
होली खेल्दैखेल्दै
बगरहरूसँग बग्छ दरौंदी
छोपेर भाका प्रेम गीतको ।
उन्मुक्त बगेर बैंसमा
जीवन जगमगाउँछ नदीमा
जसरी आँखाको कुनाबाट
खसेको खुसीको अलिकति बिउ
ओठसम्म पुग्दा
सुकेर मुस्कान बन्छ ।
अलिकति चंचलता
अलिकति सपना
अलिकति महत्वाकांक्षा हुन्छ बैंसमा
तर मान्छेजस्तै नदी पनि
बैंसमा सबैभन्दा सुन्दर देखिन्छ ।
गोरखा
Subscribe
Login
0 Comments
Oldest






































