वासुदेव पाण्डेयदृष्टिकोण

बग्रेल्ती वस्तु भेटिन्छन् जे चाह्यो रोज्छ मानिस
दिन्छ सञ्जीवनी धर्ती धरामै मिल्दछन् विष {{read_more}}
१
रूप आकारले भन्दा झस्किन्छन् क्षमतासित
हात्ती आकारले ठूला तर्सिन्छन् कमिलासित
२
विना सम्भावना खट्छौं व्यर्थ नै हुन्छ कोसिस
नाङ्लाका प्वाँख गाँसेर उड्न सक्ला र मानिस
३
भ्रमको जिन्दगी बाँच्छौं थच्चिन्छौं चेतना खुले
आकाश थाम्नुको चिन्ता पालेझैं हुट्टिट्याउँले
४
अरूका घाउमा थप्छन् मान्छेले नुन वा चुक
आश गर्छन् परे पीडा सम्झिदैनन् भए सुख
५
हर्ष, हाँसो, खुसी, सत्ता, बैंस हुन् क्षणभङ्गुर
पानीमा उठ्छ फोका जो आयु लामो कहाँ छ र
६
ज्ञानको दायरा जत्रो उत्रै देख्दछ ब्रह्मले
थियो श्रीखण्ड खुर्पाको बीड ठान्यो मनुष्यले
७
मनका वेदना पोखे मनले शान्ति पाउँछ
जसरी भरिया भारी बिसाई त्राण पाउँछ
८
झार के रोप्दछौ भन्छन् तुलसी रोपिए पनि
डाडुले स्वाद के चिन्थ्यो दालले छोपिए पनि
९
मूल्य यो जिन्दगानीको अन्तमा चाल पाउँछ
डुब्दो मनुष्य आशाले सर्पलाई समाउँछ
१०
Subscribe
Login
0 Comments
Oldest






































