फरक
सहर, भोज गर्छ
प्लेटमा चौटाहरूको उरुङ लगाउँछ
घरमा भए चुसेर खान्थ्यो {{read more}}
भोजमा भने आधा फाल्छ
फोहर फाल्ने पेटीमा
खाना हैन विवेक हाल्छ ।
सुदूरका
अनकण्टार गाउँहरू छन्
बस्ती हैनन्
भोक र रोगका पहाड छन्
कागतमा छापिएका
विकासका सूचक त छन्
तर प्रोजेक्टरले भित्तामा ग्राफ देखाउने
उज्यालोजति पनि किरणहरू छैनन्
सहरले
एकछाकमा फालेको खानाले
चार छाक अघाउने
सेपिला पेटहरू मात्र छन् ।
सहर–
पाइन्टमा वास्तुकलाको झ्याल हाल्छ
तेह्र नपुग्दै स्टेजमा क्याटवाक् थाल्छ
गाउँ–
नियमले हटाएको छाउगोठ फेरि बनाउँछ
भार भएका हुन् कि चेली र बुहारीहरू
झ्याल त कहाँ हुन्थे छाउगोठमा
भित्ताका प्वालबाट बिखालु सर्प छिराउँछ
अहा !
सम्म छन् छापिएका प्रगतिका पानाहरू
तिनीहरूमा असमानता सोझै हराउँछ ।
ए हजुर !
हाम्रो छोरा हाइअस्कुल पास करेको छ
सुन्छु कि मघेसको पनि कोटा गरेको छ
तीन बार त भइसक्यो ऊ फयेल भएको
जिमीदारको छोराले कोटा खाएको छ
न हुम्लासम्म छ समृद्धिको न्यानो
न महोत्तरीले पाएको छ शीत छेक्ने छत
घामै नभएको त कहाँ हो र
पुग्ने गरी पहार कहाँ छ र ?
लागोस् एउटा घाम
सगरमाथाको टुप्पोबाट
मिथिला, लुम्बिनी र खप्तडहरूमा
आनन्दको झुल्का पारेर
सबैका शिरमाथि बराबरी
सुखको किरण छरेर ।
सातदोबाटो, ललितपुर