रमेश खकुरेलकोकले र चञ्चले
(यो कविता सांसदहरूलाई लक्षित गरिएको हैन है)
दाइ कोकले भाइ चञ्चले
गाइ गोरु ली चौरमा चले
साथ गाउँका वाल-मण्डली
बस्तु भाउ ली उफ्रँदै चले ।
व्योममा उता घाम चम्कियो
वायुले यता सरर हम्कियो
पातपातमा रूख वल्लरी
तान्दछन् सफा छत्र झल्लरी ।
स्वादिला मुना बस्तु चर्दछन्
बाल बालिका खेल खेल्दछन्
निकटमै बगेको सफा जल
दिव्य गान झैं गर्छ कल्कल ।
रूख पातमा फूल फुल्दछन्
खेतमा अहा ! धान झुल्दछन्
चौरमा उता बस्तु डुल्दछन्
बाल बालिका खेल खेल्दछन् ।
सरर वायुमा विटप फेदमा
कोकले सुत्यो मस्त नींदमा
चञ्चले चढ्यो आँप बोटमा
फल टिपी टिपी चुस्छ मोजमा ।
हूल गाइका खेतमा पसे
गोरुले उखू भाँचदै चुसे
धान फाँडियो लाछियो मकै
आज बस्तुको भो चकाचकै ।
खेतका धनी दिक्क मान्दछन्
हातमा छडी ली धपाउँछन्
हलल गाउँले हाँस्न थाल्दछन्
चञ्चलेहरू लाज मान्दछन् ।
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































