फित्काैली डटकमनाम कमाउने काईदा
मान्छे भएर जन्मेपछि नामको महत्व निकै ठूलो भएको कुरोको चुरो पाउन मलाई निकै वर्ष कुर्नुप¥यो । जन्मदेखि मृत्युपर्यन्त निकै कुरा सिकेर मात्र मान्छेले आफूलाई अरुका अगाडि परिचित गराउन सक्दोरहेछ । अरुका अगाडि आफूलाई चिनाउन पनि कम्ति महाभारत हुँदोरहेनछ । अरुका कुरा सुनेर व्याख्या विश्लेषण नगरी जस्ताको तस्तै होमा हो मिलाएर हिंडे पनि नहुने, सुनेको नसुन्यै ग¥यो भने पनि झन गाह्रो, योे गर्ने कि त्यो गर्नेको दोधारमा बस्न झन गाह्रो, के गर्ने के गर्ने समस्याले कन्सिरी तताउन थालेपछि बल्ल समाधानको खोजी गर्न शुरु गरेको छु ।
संसारका सम्पूर्ण मान्छेको नामसँग जोडिएर आउने दामका कुराले मन त्यसै त्यसै पुलकित भएर आउँछ । नाम कमाउने आशमा के के गर्ने भनेर म नदुखेको टाउको धेरै चोटि दुखाएर नघोरिएको पनि होईन । जति गरे पनि चित्त बुझ्दो उपाय नसुझेपछि एक मनले त नाम नकमाउने विचारले पनि डेरा जमाउन थालेको महशुस पनि गर्न थालेको थियो । हिरो बन्नेदेखि कविता लेख्ने गीत गाउने जस्ता अनेक कर्म गर्न मनले ढाडस दिनसम्म दियो आफैलाई । अरुका अगाडि आफूलाई चिनाउन निकै प्रयत्न गरे पनि सफलताको नामोनिशाना नआएपछि लाग्यो नाम कमाउने भन्दा दाम कमाउनेलाई पो मान्छेले चिन्छन् त । साथीभाइबाट यस्तो सल्लाह र ढाडस पाइयो । दाम कमाउने कोशिस गर्नलाई शहरको गल्ली–गल्ली चोक–चोक घुमेर कामको खोजीमा कयौँ दिन र रात बिताएपछि पनि कामको पत्तो नलागेपछि बजारमा खुलेका विज्ञापन एजेन्सीको सहारा लिने विकल्प बाँकी थियो । एकपल्ट त्यसको पनि प्रयोग किन नगरौं त भन्ने कौतुहलताले मनमा डेरा जमाएको थियो ।
साथीभाईको सल्लाह र राय लिँदालिँदा निकै समय व्यतित गरिसकेपछि उनीहरूकै सल्लाह बमोजिम बजारको नाम चलेको एउटा विज्ञापन भएको ठाउँमा पुगियो, कामको आश गर्दै । बायोडाटाको फोटोकपीको एक चाङ बुझाएर विदावारी भइयो । रजिस्ट्रेसन दस्तुर बुझाएर हिँडेका दुईचार दिनमा उपयुक्त खालको काम खोजेर कल गर्छौं भनेर विदा गरेको महिना बित्दा पनि कल नआएपछि एकदिन यसो विज्ञापन गर्ने कार्यालयको ढोका ढकढकाउन पुगियो । त्यहाँ त नयाँ कार्यालय प्रमुख पो बसेका रहेछन् । सामान्य सोधपुछ गरेर घरतिर फर्किएँ । मध्यस्थकर्ता मार्फतको जागिर त्यसरी नपाउँदै सकियो ।
अनि शुरु भयो फेरि नयाँ कथा । दाम र नाम कमाउने भूत अझै मेरो वरिपरि घुमिरहेको थियो । त्यसैले लागियो विज्ञापनको भरमा जागिर खोज्न । भएभरका पत्रिका र अनलाईनका भरमा जागिरको मेसो मिल्ला कि भनेर भए सके जति दौडिइयो । अनि सोचें यतिका दौडधुप गर्न सक्ने म जस्ता मान्छेले के जागिर खोज्ने, आफैं अरुलाई जागिर दिन सकिन्छ नि ! मनमा यस्तो बिचार आएपछि दुई चारजना साथीभाइ मिलाएर स्वरोजगारको सीप सिक्ने र सिकाउने भनेर संस्था खोलेर काम शुरु नगरी लफडा शुरु भए ।
हरेक प्रकारका काम गर्दा पनि केही नभएपछि अचेल म फगत सोचेर बस्छु, एक राम्रो बिचारक, सल्लाहकार बन्न खोजी रहेको छु । म आफैं केही गर्न नसकेपछि अरुलाई काम गर्न सिकाउने बिचारमा छु । कतै मेरा जागिर नपाएका तथा बाटोभरि बेरोजगार दौडेको अनुभवले कसैलाई सहयोग गरेछ भने मेरो नाम पनि बजारभरि चल्ला, मेरा फ्यानहरूको लर्काे तपाईंहरूसम्म आइपुग्ला, म फगत आशा गरिरहेछु ।
आँखिभुई— ८, संखुवासभा
Subscribe
Login
0 Comments
Oldest






































