साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धाक लगाउने काइदा

Nepal Telecom ad

वस्तुभाउ के कति छन हजुर भनेर सोध्दा खै किला गन्नु पर्छ बाबु भन्थेरे पहिलेका ठूला ठालु, आज भोलि चाहिं लाइक र कमेन्ट गर्दे कि गर्दे भनेर सन्देश लेख्दा रैछन् । यौटै कमेन्टको लागि दुई पटकसम्म धन्यवाद दिएको देखियो अनि ४ जनालाई पालैसँग छुट्टाछुट्टै कोमेन्ट गरेको पनि देखियो । कतै कतै अरुको कमेन्ट भन्दा स्वयंको ज्यादा भेटिन्छ । अनि कतै चै लाइकको सङ्ख्या भन्दा बढी कमेन्ट । आफ्नो त सस्तो मोबाइल र फ्रीको स्लो नेट, चहिएकै ठाउँमा पनि लाइक र कमेन्ट गर्न पाएको छैन । नत्र म पनि… ।
धाक देखाउने तरिका पनि अनौठा अनौठा हुँदा रहेछन् । कुनै पसलको बिलमा फेरि पनि आउँनुहोला धन्यवाद लेखेको देख्छु । फेरि ठग्नलाई होइन त ? कतै शुद्ध सुँगुरको मासु पाइन्छ लेखेको पाटी देख्छु । कस्तो होला सुद्ध सुँगुर ? कुनै खाजा घरमा हजुर पाल्नुहोस् लेखेको किन होला ? ग्राहकले साहुजीलाई पाल्नु पर्ने होला सायद । आज नगद भोलि उधारोको कहानी पनि कम रोचक छ र ?
मङ्सिरमा मुरी बोकेर उभो लग्दै गरेको खलो धनीलाई धान कति भो दाजै भन्दा ५ मुरीलाई ५५ पाथी पुगेन भाइ अरे । कति धाक लगाए अघाउला मान्छे ? त्यो देश र ठाउँको नाम त याद रहेन उबेलाको जमानामा पनि चर्पी प्रयोग अनिवार्य र बाध्यात्मक थियो रे अनि मान्छे छोराको बिहे गर्ने बर्ष खेताला खोजेरै भए पनि आफ्नो चर्पीमा आची गर्न भन्थे रे किन कि छोरी दिनेले कत्तिको खान्दानी छ, चर्पी हेरेरै मूल्याङ्कन गर्थे रे । उबेलाको के कुरा भयो र हिजो भर्खर पत्रिकामा पढेको उत्तरी र मध्य भारतमा गाउँमा बिहाबारी चल्दैन अनि मध्यप्रदेश र आसपासका क्षेत्रमा केटीले केटाको फोटो माग्दा रहेछन् । केटाले पनि आधुनिक चर्पीको अघिल्तिर उभिएको फोटो खिचेर पठाउने चलन रहेछ । किन कि अब नव युवतीलाई बाटामा र रेलको लिकमा आची गर्न लाज लाग्यो रे । तर रेल चढ्दा देख्नु नदेख्नु देख्नै पर्छ ।
अस्ति मात्रै एक जना नामी गायक गन्दर्भले भने– गीत गाएरै सात ओटी स्वास्नी ल्याएँ हजुर । ऊ त्यो पारि खेत सब्बै मेरै हो । बुढाले साइँली औँलाले अप्ठेरो गरी देखाउँदै भने । के भएछ चोर औँलामा सोचेको सुनको औँठी लगाएका रहेछन् साइँली औँलामा ।
घरमा पाँच लिटरको क्षमतावाला क्यान हुँदाहुँदै दस लिटरको क्यानमा दुई लिटर दुध बेच्न हिंड्नेहरू पनि बिहानीपख डेरिमा भेटिंदै छन् । तेत्रो नभएको धाक लगाउँने अरुलाई चाहिं अझ खसालेर भन्छ, देखाउँछ ।
केही समय अघिको कुरो हो । बिहेको सबै कुरा मिलिसकेपछि यौटा भँडुवाले फलानालाई छोरी नदेऊ बुढा, तिनीहरू रिणमा डुबेका छन्, सय मुरी धान त ब्याज मात्रै भर्छन् । जमाना अनुसार अन्न ब्याज भर्ने चलन हुनुपर्छ । बुढाले उसलाई धन्यवाद दिए बेलैमा सचेत गराई दिएकोमा । तर बुढाले केही दिनपछि त्यही सय मुरी धान ब्याज भर्ने केटासँगै छोरीको बिहे गरिदिएछन् । भँडुवाले सोधेछ– किन मैले सम्झाउँदा सम्झाउँदै पनि उसैलाई छोरी दियौ त ? बुढाले जवाब दिएछन्– तिम्रै कारणले दिएँ बाबु, जब उनीहरू ब्याज मात्रै सय मुरी तिर्छन् भने अरु आम्दानी झन् कति होला त ?

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x