केशवराज अर्याल ‘निश्चल’सभासद् महात्म्य
मुखले देशको औतार सेकेन्डमै फेरियो,
भदौको गाइजात्रा वर्षैभरी हेरियो ।
त्यो सभासद् जो तीनपाथी खाएर चारपाथी डकार्छन् ।
हामीले बोल्नै हुन्न उल्टै झपार्छन् ।
सभासद्को पीडा धेरै छ, त्यसैले यो रोगी छ,
माननीय सभासद् भइसक्यो बाबुचाहिँ जोगी छ ।
चरित्र र नैतिकता फिटिक्कै छैन,
भ्रष्टाचारीको सूचीमा नाम, सुरुकै लाइनमा ।
विकास र संविधानको भाषण भन्थ्यो,
दिनभरि लुट्थ्यो रातभरि गन्थ्यो ।
संसदमा दन्त्यकथाका नाटक देखाउँछन्,
भेडा नाच्छन गधा, बाँदरहरू हेर्न आउँछन् ।
आफ्नो इज्जत राखे कि फाले ?
तर मनको घाउ चाहिँ धनले टाले ।
चुनाव हारेपछि सभासद् बन्यो,
सभासद् बनेपछि बाह्रखरी पढ्यो ।
एसएलसी दिन, नोकरलाई लगायो,
सिग्नेचरको ठाउँमा ल्याप्चे लगायो ।
जनताको घरमा आगो लाका,
सब जलेर सत्यानास भाको ।
पोथीले बोलाको भए ऊ जान्थ्यो ।
भालेले बोलाको किन मान्थ्यो ?
जाति, धर्म, छुवाछुत, देश, प्रदेश, सङ्घीयता,
चार वर्षमा नौ अर्ब, आधी उता, आधी यता ।
हनुमान बन्ने रहरले पुच्छरमा आगो लगायो ।
आफ्नो रुपलाई डढेको ठुटोझैं बनायो
कुनैदिन पार्टी परे निमन्त्रणा बिनै पुगिहाल्छ,
घरमा कुकुर्नी ब्याउँछे, ऊ सुत्केरी भत्ता लिन कुदिहाल्छ ।
सभासद् भन्छः
थाहा छ बुढी ? साउनमा जन्मदिन रे वैशाखदेखि गरेछ पार्टी ।
घरमा चामल जोगिन्छ, धत् । जानुपर्छ लाटी ।
जनताले मानेकै छन्, सरकारले पैसा खन्याइहाल्छ,
संविधानको के वास्ता ? भत्ता भने आइहाल्छ ।
सभासद्को पछि लागे नेता बन्न पाइन्छ,
पार्टी खोलेपछि त झन् प्रधानमन्त्री नै भ्याइन्छ,
त्यसैले आउनोस् सबै नयाँ पार्टी खोलाँै,
पैसाको पछि कुदौँ, देशको बारे बोलौँ ।
भन्दै दौड्यो सडकमा झोला बोकी सभासद्,
हेर्दाहेर्दै चिया पसलेको खायो दुई झापड ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest








































