स्मृतिमा भूभिकाे कविता
वासुदेव मास्टर साहेब पनि खुबै चुरोट खानु हुन्थ्यो । देवकोटाको त्यो चित्रलाई थान थापेर चुरोट खानु भएको अन्दाज हुन्थ्यो । जुन कुर्सीका ठिक माथि पछिल्तिरकाे भित्ताेमा त्याे चित्र थियाे ।
हाेम सुवेदी :
२०३३ सालको हिउँदको बेला छ । माघ महिनै हो । गते भुलेँ । भूतको भिनाजु अर्थात् ताहाचलको स्याल अर्थात् वासुदेव शर्मा लुइँटेलले मलाई अफिसमा बोलाउनु भो र सानो लामो चिर्कटोमा एकातिर मात्र लेखिएको एक सानो कविता “होमनाथ यो कम्पोज गर्न देऊ त” भन्नु भो । यसो हेरेँ प्रेसको किताब कटिङ् गरेर बाँकी रहेका अलिक ठुला चिर्कटामा लेखिएको रहेछ । एकपटक यसो पढेर कम्पोज गर्न कालेबहादुर मगरलाई दिएँ ।
उनले एक घन्टाभित्रमै कम्पोज गरी सकेर प्रुफ निकालेर मलाई देखाउन ल्याए । मैले तुरुन्तै शुध्याएँ र फेरि फाइनल प्रूफका लागि उनैलाई दिएँ खासै अशुद्ध पनि थिएन ।
जगदम्बा प्रेसमा जहाँ उहाँको बस्ने कुर्सी थियो त्यसका ठिक पछाडि माथितिर महाकवि देवकोटाले सिग्रेट तानिरहेको निकै ठुलाे श्वेतश्याम चित्र थियो । वासुदेव मास्टर साहेब पनि खुबै चुरोट खानु हुन्थ्यो । देवकोटाको त्यो चित्रलाई थान थापेर चुरोट खानु भएको अन्दाज हुन्थ्यो । जुन कुर्सीका ठिक माथि पछिल्तिरकाे भित्ताेमा त्याे चित्र थियाे र त्यसका मुनि उहाँको अफिसकुर्सी थियो ।
कविताले त्यो कुर्सीमा बस्ने स्वयंलाई र त्यसमा बस्ने हाकिमलाई अर्थात् स्वयं कविलाई र त्यहाँको स्थितिलाई बुझाउँछ । कविता केही वर्ष पहिलेसम्म कण्ठ थियो अहिले अलिक भुलिएछ । जति सम्झन्छु त्यो कविता यस्तो थियो:
अथ स्तोत्रम्
देवकोटा स्थिते भित्ते मुन्तिरे एक मेचकम्
त्यस्माथि चकटी सानो त्यसैमा श्री विराजितम् ।
देब्रे हाते स्थितम् फोनम् दाहिने डटपेनकम्
तालु खुइले लामो नाकै किच्च किच्च प्रतिक्षणम् ।
हजुर हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हजुर हजुर
इत्येवम् वदतम् स्वामिं प्रणमामि सदा प्रियम् ।
दायाँ गिलास चियाया बायाँ ठुटो चुरोटकम्
सुरुप् सुरुप् सुर्र सुर्र गरन्तम् तम् नमाम्यहम् ।
अथ फलम्
तिमी छोटा हाकिम हौ निमित्त कहिले कहीँ
तिम्रै पिछा परेका छौँ तिम्रो जय मनाउँछौँ ।।
छोटा हाकिमको स्तोत्रम् मध्यान्हि पखमा पठेत्
चिया कफी चुरोटम् च यथायोग्यम तथा लभेत् ।
इति
०००
भद्रपुर, झापा