सुरेशकुमार भट्टमास छर्ने काईदा, मासियो लिँड्को लाम्दा
ल सुन्नुस् सबैले आज जोत्नु अघि तोरी छरे झैं छर्नु अनि जोत्ने र तीन चार दिनपछि लिँड्को लाइदिने ‘तपाइको गोती’ खाएर नसक्ने मास फल्छ।

सुरेशकुमार भट्ट :
गाउँघर होस् वा शहर बजार जहाँ होस् एक न एक गफाष्टक, हँसीमजाक गर्ने रउसे मानिस भएकै हुन्छन्। यस्ता मान्छेको ठट्टागराई बोलाई कामगराई कहिले रमाइलो कहिले साह्रै नराम्रो हुन जान्छ। त्यसैले भन्छन् झगडाको बिउ ठट्टा, बेथाको बिउ रूघा। बहुतै रेला ठट्टा गरिरहनु पर्ने जामुनेका नाम चलेका पुछारे कान्छा थिए। उनले गरेको सबै काम पक्का तर बोलेको कुरा कति हो कति हैन, नकेलाइकन स्विकार्नै गाह्रो थियो।
अलकति भने पनि बाँडफाड नबोली नहुने। उनका मावली मसिल भएकोले “कान्छा तिमी मसिल जानी भए मलाई एक पाथी मासको बिउ ल्याइदिनु है“ भनेर द्वारे कान्छाले भने। गोरखाको मसिल मास र घैया धान खेतीको लागि बहुतै प्रसिध्द थियो। २०२६ सालमा यस पाला बर्षात नहुनाले न पुरै खेत रोपियो, न त कोदाको बिउ नै गतिलो भएर पाखामा रोप्न पाइयो। यस्तो पीडामा गोरखाका नयाँ मूलपानीमा भरपर्ने अधिकांश किसान छटपटीमा परिरहेका थिए। त्यसो हुनाले खेतमा अनि पाखा बारीमा पनि मास छर्नु बाध्यता थियो । मास बाहेक अरू खेतीको आशा पनि थिएन। ताकू, घुन्चोक, मुच्चोक, देउराली सबैतिरका मास छर्नकै लागि मसिलमा बिउ खोज्न गइरहेका थिए । पुछारेको कान्छो पनि जाने भन्ने सुनेरै द्वारे कान्छाले पहिल्यै कुरा बिसाएका थिए। कान्छाले जानेवेलामा पैसालिएर गए र एक पाथी मास ल्याई दिए।
द्वारेले भने लौ कान्छा अल्देखि ‘मासको बिउ त ल्याई दियौ छर्ने कसरी हो ? गोडमेल केगरी गर्ने हो ? सबै रामरी बताई देऊ।” कान्छाले भने अलदेखि ल सुन्नुस् सबैले आज जोत्नु अघि तोरी छरे झैं छर्नु अनि जोत्ने र तीन चार दिनपछि लिँड्को लाइदिने ‘तपाइको गोती’ खाएर नसक्ने मास फल्छ। गोड्न झारआए उखेल्दिनी नआए पर्दैन अल्देखि गोड्ने भनेकै माससँगै आएको झार उखेल्नि त हो।”
सबैगए आ आफ्ना खेत रोप्न नपाएको खेतमा र कोदो रोप्न नपाएका बारीमा मास छरेर जोते। कसैले तीन दिन पछि कसैले चार दिनपछि लिँड्को लिएर खेत बारीमा गए। एक सर्को लिँड्को लाउँदा त देखे भर्खर उम्रेको मास लिँड्काले दलेर भसक्कै मासिएको । तब द्वारेले सोचे यो पुछारे कान्छोको उट्पट्याङ र उछेल्याहा कुरा झलक्क सम्झेर कराए- ए ! पदेरू कान्छा, ए खडु, ए बंगाले कसैले नि लिँड्को नलाओ है नलाओ त्यो पुछारे ढकाल कान्छाले भाउँतो लाको रैछ, लिँड्को लाए मास मासिन्छ है नलाओ ।” घुन्चोक टारबाट कराएपछि रोकिए कतिले एक दुई सर्को लाइसकेछन् कतिले लाउँनै बाँकि रोके सबैले । अनि पो उछेल्याहा पारी जामुनेबाट करायो ए ! होसै नभाका मान्छे हो किन बौलाएर उम्रिएको मासको दिउली मास्न लिँड्को लाको ? तेति नि थाहा छैन ? उम्रेको मासमा लिंड्को लाउँदा मासिन्छ भन्ने पनि। मैले त मास छर जोत अनि लिँड्को लाऊ पो भनेको त । खै अल्देखि कुरो बुझेको ?
झन् हेर त उनैको कुरो ठूलो ? द्वारेले पारी घुन्चोकटारबाट कराएर भने पापी मोरो गर्नु गरिस्। तिमीहरू लिँड्को लाउने अल्देखि ए ! मैले गरेको हो त ? तिमीहरुको होस् छैन् तोरी उम्रिन थालेसी लिँड्को लाउँछौ र ? मासमा लाको ? उल्टै अरूलाई पो उल्लु बनायो पुछारे कान्छाले झन्। अरूले गाउँमा भन्न थाले “मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा।” है द्वारे बा ?
बिचरा अलि वर्ष द्वारे मान्छेको जमघट भाको ठाउँमै जान छाडे। अनि त उखानै बन्यो “ मास छर्ने (द्वारे) काईदा ‘मासियो लिँड्को लाम्दा।”
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest


































