
तीन टुक्रा
बाहिर मात्र होइन, मन भित्रको लिपपोत अनिवार्य हुन्छ तिहारमा । काग, कुकुर, गाई गोरुको पूजा, भाइटीका पूज्य कार्य हुन्छ तिहारमा ।

लक्ष्मण नेवटिया :
बिपिन जोशीको प्रतिक्षामा देश- १
आँगनमा ढकमक्क फूलेको
सयपत्री प्रतीक्षा गर्दै ओइलाएको छ
दाइलाई लाउन नपाउँदा भाइटीका,
बहिनी “पुष्पा”को मन,
सल्ला झैँ सुसाएको छ ।
नेपाल आमाको सपूत बिपिन
नफर्किंदा कच्मचिएछ तिहार,
व्यथित छ तिमी बिना राष्ट्र
आँखा रसाएको छ ।
कहाँ छौं कसरी, चिन्ता छ मनमा ।
फर्कने छौ छिट्टै शुभेच्छा बिपिनमा ॥
सयपत्री नेपाली बारीको- २
मलाई मनपर्छ सयपत्री मेरो बारीको
बारीको हुँदाहुँदै किन प्यारो पारीको ?
स्थल मेरो, मल पनि मेरो, जल पनि मेरो
पाउँछु नगद, काम छैन पारीको, उधारीको ।
सयपत्रीका लागि पनि, भरपर्दा -अर्कामा ।
ओइल्यायो सयपत्री, किसान परे मर्कामा॥
मनभित्रको लिपपोत- ३
बाहिर मात्र होइन,
मन भित्रको लिपपोत
अनिवार्य हुन्छ तिहारमा ।
काग, कुकुर, गाई गोरुको पूजा,
भाइटीका पूज्य कार्य हुन्छ तिहारमा ।
मखमली, सयपत्री, गोदावरीको
माला लगाऔँ हर्षोल्लासले,
देउसी भैलो लय हालेर गाउनु
अपरिहार्य हुन्छ तिहारमा ॥
०००
विराटनगर