सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पद्मा रामचन्द्र लघुकथा सम्मान श्याम आशालार्ई

वि.स. २०७९ को पद्मा रामचन्द्र लघुकथा सम्मान भक्तपुर निवासी लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लार्ई प्रदान गर्ने भएको छ ।

Nepal Telecom ad

नेपाल वाङ्मय परिषदले वि.स. २०७९ को पद्मा रामचन्द्र लघुकथा सम्मान भक्तपुर निवासी लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लार्ई प्रदान गर्ने भएको छ । यस सम्मानमा नगद दश हजार, दोसल्ला एवम् सम्मानपत्र रहेको छ ।

नेपाली लघुकथामा अक्षयकोष सहित स्थापना गरिएको यो सम्मान वि.सं. २०७१ सालबाट प्रदान गरिँदै आएको हो । वि.स. २०७१ देखि वि.सं. २०७८ सम्म यो सम्मान लघुकथा समाजले वितरण गर्दै आएको थियो । यस सम्मानबाट मोहनराज शर्मा (२०७१), प्रा.डा. दयाराम श्रेष्ठ (२०७२), विनयकुमार कसजू (२०७३), किशोर पहाडी (२०७४), नारायण तिवारी (२०७५), सरुभक्त (२०७६), विजय सागर (२०७७) एवम् डा. रवीन्द्र समीर (२०७८) सम्मानित भइसक्नुभएको छ ।

यस वर्ष सम्मानित हुन लाग्नुभएका लघुकथाकार श्याम आशा नेपाल भाषामा कलम चलाउने वरिष्ठ लघुकथाकार हुनुहुन्छ । उहाँ वि.स. २०११ पुस २२ गते बालाखुं भक्तपुरमा मिट्ठीदेवी कायस्थ एवम् कृष्णगोपाल कायस्थका सुपुत्रका रुपमा जन्मनु भएको हो । उहाँका प्रकाशित कृृतिमा आशाका टुक्राहरू (लघु कविता, ने.स. ११०३), लघु (ध्रुव मधिकर्मीससँग संयुक्त लघुकथा, ने.स. ११०३, वि.सं. २०३३) प्रकाशित छन् । यसबाहेक उनका प्रकाशित कृतिमा लहु गुल्छा (लघुकथा, ने.स. ११०१), पंजलंम दुने पेजलपिने (लघुकथा, ने.सं ११३९), लालटिन (लघुकथा, ११४०), जालय जी (ने.सं १९४१), निभा प्रिया ख्वपीं (ने.स., ११४२) आदि रहेका छन् ।

कायस्थका नेपाल भाषाका लघुकथालाई नेपाली भाषामा अनुवाद गरेर ध्रुव मधिकर्मीले वि.स. २०७३ मा श्याम आशाका लघुकथाहरू भनेर कृति प्रकाशित गर्नुभएको छ । उहाँ ज्योति पुस्तकालय, भक्तपुरका संस्थापक अध्यक्ष, विराट गुठीका आजीवन सदस्य, नेपाल साहित्य मन्दिर का आजीवन सदस्य, नेक्रा गुथिजका आजीवन सदस्य हुनुहुन्छ । उहाँले पाँच लाखको अक्षयकोष सहित याताज नेपाल भाषा साहित्य श्याम सिरपा (पुरस्कार) स्थापना गर्नुभएको छ । यो सिरपाबाट हरेक वर्ष नेपाल भाषाको एक स्रष्टा रु. ३५,५५५ सहित सम्मानित हुने गरेका छन् ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad