सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशैंमा शिक्षकका लागि ’शिक्षकको भाषा’ उपहार

’शिक्षकलाई शिक्षाको भाषा’ अभियान अन्तर्गत एक शिक्षक एक पुस्तक उपहार हुनेगरी उनीहरूले सर्जक छवि अनित्यद्वारा लिखित शिक्षकको भाषालाई छनौटमा पारेका हुन् ।

Nepal Telecom ad

हेटौंडा, ९ असोज । मकवानपुरका विभिन्न विद्यालयहरूमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरूले दशैंको विदामा अध्ययनका लागि आफ्ना विद्यालयमा पुस्तक हस्तान्तरण गरेका छन् ।

’शिक्षकलाई शिक्षाको भाषा’ अभियान अन्तर्गत एक शिक्षक एक पुस्तक उपहार हुनेगरी उनीहरूले सर्जक छवि अनित्यद्वारा लिखित शिक्षकको भाषालाई छनौटमा पारेका हुन् ।

अनित्यको यो तेश्रो कृति हो । यसअघि उनले हल्ला र तुइनको बाटो कविता संग्रह प्रकाशित गर्नु भएको थियो ।

२२ वर्षको शिक्षणअनुभव, बेहोरेका समस्याहरू, बालमनोविज्ञानका विषयवस्तु तथा शिक्षक र विद्यार्थीबीचमा आइपरेका विभिन्न समस्याहरूबारे उदाहरणसहित सम्बोधन गर्ने जमर्को गरेका यस कृतिमा यथार्थतालाई व्यक्तिगत आक्षेपविना प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसै कारणले पनि यो शिक्षकहरूमाझ छलफलको विषय बन्न गएको छ ।

मकवानपुरका १० सामुदायिक विद्यालयका ३ सयभन्दा बढी शिक्षकहरू यस अभियानअन्तर्गत समेटिएका छन् । अभियानको प्रारम्भ अरुण भूमिनन्दन सापकोटा र मालती फयलले बंशगोपाल मा.वि. का शिक्षकका लागि उपहारस्वरुप पुस्तक हस्तान्तरण गर्दै भएको थियो । यस अभियानमा पूर्व विद्यार्थीहरूले मकवानपुरका अन्य विद्यालयहरू बालबोध मावि, श्रमिक मावि, लक्ष्मी आवि, जनप्रिय मावि, महेन्द्र मावि, ज्योति मावि आदि छनौट गरेका थिए । यस्तै महेन्द्रकिरण मावि, मनहरी मकवानपुरमा एसएलसी २०५७ व्याचले आइतबार एक समारोहबीच प्रधानाध्यापक शिवबहादुर रिमाललाई संप्रस पौडेलको संयोजनमा पुस्तक हस्तान्तरण गरेको थियो । राष्ट्रिय रोटरी मावि, मनहरी मकवानपुरमा भने विद्यालयले नै पुस्तक खरीद गरी एक शिक्षक एक पुस्तकका रुपमा प्रदान गरिएको प्रधानाध्यापक गोविन्द पौडेलले बताउनु भयो ।

शिक्षकका लागि लेखिएको पुस्तकको माग बढ्दै गएको र दशैंपछि मकवानपुरबाहिर अवस्थित विद्यालयहरूमा पुस्तक हस्तान्तरण गर्न सकिने सर्जक अनित्यले बताउनु भयो ।

असोज १ मा विमोचन गरिएको यस पुस्तक आकृति क्रिएसनले प्रकाशन गरेको । प्रकाशन गृहका राम अविकासले यस पुस्तक चितवन, पोखरा, काठमाण्डौंमा उपलब्ध भैसकेको र अन्य सहरहरूमा माग भैरहेको बताउनु भयो । यस पुस्तकभित्र कूल १३ वटा लेखहरू संग्रह गरिएका छन् ।

०००

– संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad