सुलसुलेभैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारद्वारा संस्था र स्रष्टा पुरस्कृत
यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई, भैरव वाङमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई र हास्यकलाकार रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरियो ।

काठमाडौ, पुष ०९, २०७९ । यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई, भैरव वाङमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई र हास्यकलाकार रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरियो ।
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले शनिवार वितरण गरेको हो ।
भैरव अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । २०७९ सालको भैरव पुरस्कार वासुदेव-विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरियो ।
त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार हास्यकलाकार रामचन्द्र अधिकारी (गोक्ते काजी) लाई प्रदान गरियो । गुठीका अध्यक्ष समेत रहनु भएका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले वितरण गर्नु भएको पुरस्कार वितरण कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे साहित्यकारहरू विजय चालिसे, प्रा.डा. सुषमा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले चर्चा गर्नु भएको थियो । वासुदेव लुइँटेलको साहित्यिक योगदानबारे डा. मुकेश चालिसेले प्रकाश पार्नु भएको थियो भने साहित्यकार विश्वम्भर चञ्चलको योगदानबारे डा. ध्रुव घिमिरेले जानकारी गराउनु भएको थियो ।
भैरव प्रतिभा पुरस्कारले सम्मानित कलाकार रामचन्द्र अधिकारीको योगदानका विषयमा चलचित्र नायक कृष्ण मल्लले अवगत गराउनु भएको थियो । पुरस्कृत स्रष्टाहरू विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारीले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु गर्वको विषय भएको बताउनु भएको थियो ।
कार्यक्रममा साहित्यकार विष्णुप्रभातद्वारा सम्पादित भैरव अर्यालका कविताहरू एकीकृत गरी तयार गरी प्रकाशित गरिएको कृति ‘भैरव कवितावली’ पनि सार्वजनिक गरिएको थियो ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोखरेल र फित्कौली डटकमका प्रधान सम्पादक एवम् व्यङ्ग्यकार नरनाथ लुइटेल सदस्य रहनु भएको समिति बनाएको थियो ।
०००
– निर्मल अर्याल
Subscribe
Login
0 Comments
Oldest












































