सुलसुलेअनुपम काव्य वाचन र श्रद्धाञ्जली अर्पण
अनुपम सिर्जना प्रतिष्ठानले मासिक सिर्जना वाचनको ११९ औँ श्रृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।

अनुपम सिर्जना प्रतिष्ठानले मासिक सिर्जना वाचनको ११९ औँ श्रृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार आयोजना गरिँदै आएको उक्त कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तिका रूपमा कविवर पुरुषोत्तम सिग्देल रहनुभएको थियो भने अध्यक्षता संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा लम्जुङका कवि लक्ष्मीप्रसाद मिश्रले पहिलो प्रस्तुति स्वरूप काव्य सिर्जना पस्कनु भएको थियो । त्यसपछि कवयित्री दुर्गा रिमाल अधिकारीले सुकोमल शब्द र भाकामा आफ्नो काव्य सिर्जना पस्किनु भयो । त्यस्तै सर्जक जितु खड्का र विनुबाबा घिमिरेले दिवंगत स्रष्टा श्रीधर पौडेलप्रति शब्दश्रद्धा व्यक्त गर्दै उहाँमा समर्पित सिर्जना वाचन गर्नुभयो । कार्यक्रममा स्रष्टा उर्मिला पन्तले लघुकथा तथा सुधा मिश्रले मैथिली भाषामा कविता सनाउनु भयो भने कवि मणिराज सिंह र नारायणप्रसाद पोखरेलले आ-आफ्ना सशक्त काव्य सिर्जना प्रस्तुत गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा सञ्चारकर्मी एवं हास्यव्यङ्ग्य स्रष्टा नरनाथ लुइँटेलले केशर पुस्तकालयको हविगत र यसतर्फ राज्यको पुग्न नसकेको ध्यानका बारेमा बोल्नुभयो । साथै उहाँले चर्चित कवि भूपी शेरचनको स्मृतिमा उहाँको सशक्त कविता ‘हामी’ लाई पृष्ठभूमिमा राखेर तयार पारिएको व्यङ्ग्य सिर्जना ‘भूपीको हामीः हाम्रा मुखिया र जिम्दार’ शीर्षकको आलेखसमेत वाचन गर्नुभयो । कार्यक्रममा प्रमुख आमन्त्रित स्रष्टा पुरुषोत्तम सिग्देलले आफ्नो कविता वाचनका साथै सबैका सिर्जनाको समीक्षा पनि गर्नुभयो ।
अन्त्यमा, अनुपम सिर्जना प्रतिष्ठानका आजीवन सदस्य, मनमती साहित्य समाजका अध्यक्ष एवं सशक्त छन्दशिल्पी श्रीधर पौडेलको असामयिक निधनप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँको स्मृतिमा एक मिनेट मौनधारण गरियो अनि सभाध्यक्ष जगदीश्वर पोखरेलले उपस्थित सबै सर्जकलाई धन्यवाद भन्दै आफ्नो सिर्जना वाचन गरेर कार्यक्रमलाई विसर्जन गर्नुभयो । प्रविधिमैत्री कार्यक्रमको संयोजनमा हुनुहुन्थ्यो महासचिव जितु खड्का ।
०००
– जितु
Subscribe
Login
0 Comments
Oldest












































