मानिला मान्छे खुसी हुने तरिका !

जीवित प्राणी हरेकको मृत्यु हुन्छ, किन साँञ्चिनै मर्नुअघि बारम्बार मर्ने आतङ्कले अधमरो जीवन जीउने ? आफ्नो ज्ञान, सिप र अनुभवका आधारमा सहज र प्रफुल्ल जीवन जीउन तपाइँलाई कसले रोक्छ ?

पृथ्वीमा भएका सबै विकशित प्राणीमा उमेरअनुसार सुखदुख, राम्रो-नराम्रो, मनपर्ने-नपर्ने र मिल्ने-नमिल्ने हुनसक्छ । मस्तिष्कको विकाससँगै हरेक जीवका क्षमता फरक भएका हुन्छन् र परिस्थितिका अनुभूति र अनुभवहरू पनि फरकफरक भएको पाइन्छ । मानिस सबैभन्दा बढि मस्तिष्क विकास भएको पृथ्वीमा उत्पत्ति भएका प्राणीमा पर्दछ । संसारको जुनसुकै कुनामा जस्तोसुकै आर्थिक सामाजिक परिस्थितिमा भए पनि आआफ्नै भोगाईले रमाइलो र नरमाइलो मान्ने गरेको पाइन्छ ।

जीवनका विभिन्न कालखण्डमा विभिन्न किसिमका रमाइलो गर्ने पनि उमेरजन्य तरिकाबाट मानिसका क्रियाकलाप भएको देखिन्छ । केटाकेटीको रमाइलो, किशोरकिशोरीको इतरिनु, वयस्कहरूका ठट्टा र पाका मानिसले गर्ने हास्यव्यङ्ग्यका फाँकी फरकफरक सन्दर्भ र विषयबस्तु हुन्छन् । शारीरिक बनावट, क्षमता, परिस्थिति, शैक्षिक स्तर, ठाउँ र मानव समुहअनुसार पनि विविधता पर्छ होला !

पाकाहरूको रमाइलोः
उमेर धेरै भइसकेपछि सामान्य घटनाको रमाइलो कम लाग्न थाल्छ होला ? सैयौँ घटनाको चाङले थिचिएर अनुभव बाक्लिएको ज्यानले सामान्य कुराको पूर्वाग्रही हेक्काले पिरिएर हलुका होइन गम्भीर कुरा मन पराउन थाल्छ । शारीरिक क्षमता र उत्सुकता पनि उमेरसँगै पाको हुँदै गएकाले चटपटे होइन मतापको सोचाईले घर गर्न थाल्दछ । उमेरदारले अहिले समाजमा थपिएका भनिने कतिपय घटना अहिलेका पाका मान्छे आफैँले भोगेका पनि हुनसक्छन् । आफ्ना उमेरमानै आफैँले नभोगे पनि आफूभन्दा पाका बाआमा, नातेदार र साथिभाइबाट सुनेका हुनसक्छन् । यस अवस्थामा उहाँहरूको रमाइलो भनेको कि आफैँले जानेका उतिखेरका पाका मान्छेले भनेका रमाइला कुरा होलान् कि आफ्ना बाल्य र किशोर अवस्थाका हास्य प्रशङ्ग होलान् ? भोगिएको सामाजिक परिवेशको बाक्लो पत्रले पूर्वाग्रही भएका अहिलेका पाका मान्छेले नयाँ, अहिलेका युवाहरू सँगसँगै उही समय र सन्दर्भमा आनन्द नमान्ने हुनसक्छ । यस्तो परिस्थिति हरेक कालखण्डमा आएको हुन्छ र उदेक मान्नुपर्ने कुनै तर्कनै हुँदैन, मान्छेका उमेर सिमा बुझेर चित्त बुझाउनु पर्छ ।

दिल्दगी र हास्यव्यङ्ग्य पाका मान्छेमा कि लयबद्ध, अन्त्यानुप्रास मिलेको छन्दका पद्य, गीत, कि गम्भीर शिक्षाप्रद आफू अनुकुल समभोगाइका गद्य मन पराएको पाइन्छ । अझै पनि बाटोछेउमा घाँसे गीत गाएर बेच्न बसेकाहरूका वरपर किशोर किसोरी होइन पाका मान्छे झुम्मिएको देखिनु यसैको द्योतक होला । त्यस्तै भोगाइका लयबद्ध सारङ्गी रेटी गाइने गीतमा पाका मान्छे कि झुमेका कि आफ्नै कथाझैँ मन्टो लुक्र्याउँदै बसेका देखिन्छन् । खुद्रा मसिना, शब्दका बाङ्गाटिङ्गा अर्थ र भाव भएका हास्य मन नपराउने पाका मान्छे बरु लुरुलुरु हिँड्नु, नयाँ ठाउँ र चिजबिज हेर्नु रमाइलो मान्छन् । दौँतरी पाए बितेका दिनहरू सम्झँदै गफ गर्नु, सँगीसाथीसँग भएका घटनामा र उतिखेर के के उम्नाचो गरेको थियो भनि एकअर्कालाई उल्ल्याउँदै रमाइलो गर्न मज्जा मान्छन् ।

पाको मान्छेले शारीरिक अप्ठ्यारो, आर्थिक चिन्ता र सामाजिक वितृष्णा भइरहेको उमेरमा साथीभाइ र दामली भेट्नुजस्तो औषधि केही छैन भनि धेरैले भनेका छन् । उनीहरू प्राय घरमा पनि नसोधिने ‘आजकाल स्वस्थ्य कस्तो छ ? रुचि कस्तो छ ? परिवारको लागि भनेर नसक्ने काम गर्न अघि नसर्नु नि, अब त सकिन्न है बर्कतले, कि सक्छस् ?’ भनि स्नेह देखाउँछन् । त्यत्ति सोद्धा पनि ‘मलाई पुछ्ने छन् नि है अझै’ भनि कति जीउ हलुको हुन्छ ? औषधि सेवन नियमित गर्नेभए ‘फापेको नफापेको’ सोध्नेमात्र होइन कुन चिकित्सकको व्यवहार र औषधि राम्रो नराम्रो पनि भन्छन् । सबैभन्दा मज्जा त भेट हुन पाएको छैन, सामान्य दाह्री काटेकोलाई पनि ‘अचेल त के हो ? निकै चिरीचट्टै छ त ? रातोपिरो, निकै राम्रो छ ज्यान पनि’ भनि फुरुङ्ग पारेर बैँसका झिल्के कुराले हँस्यौली गर्छन् । यति आत्मीयता र रमाइलोगरी तपाइँलाई अरु कसले सोध्छ ?

नयाँ लुगा लगाए त के भन्नु ? त्यो भेटमा सबै खनिएर ‘उहाँको त के भन्नु ? उहिलेदेखि ख्यालको छत्तिसा थियोे र ? के के गरेन बैँसमा ? हाम्रो पालाको त हिरो नै हो नि’ भनि उखरमाउलो गर्छन् । एकछिन त बढाईचढाई गरेर सबैको हाहा हुहुले हरेकमा फेरि बैँस फर्केकै बेगमा हँस्यौली मच्चिन्छ । त्यस्ता जमघटमा न सम्पतिको कुरा हुन्छ न हिजोको फूर्तिफार्ती सबै समान एउटै धरालोका सहयात्री । आफ्नो अन्तिम सुखमय बनाउने अनुभवको आदान प्रदान बस् । सबैको एउटै प्रश्न हुन्छ ‘अब कहिले भेट्ने हो मित्रहरू ?’ अनि बुझक्की पाकाले भनिहाल्छन् ‘के लछारपाटो लाउनु छ र ? धुम्धुम्ती लडिरहनु साटो गोडा नि तन्कने, रमाइलो पनि हुने, मन लागेको दिनमा जसले भेट्ने तलतल लागेर सम्झन्छ, खबर गर न हो, हाजिर भइहालिन्छ नि !’ कति आनन्द र खुसी हुने अवशर ? त्यस्तो अखाडा र ट्याम मिलाइदिने परिवार नै भए त क्या मज्जा ? त्यो साँझ हेर्नु त्यस्ता जमघटबाट आएका घरका पाका मान्छेको फूर्ति नै बेग्लै, सय वाटको चिम बलेको जस्तो अनुहार नै उज्यालो हुन्छ !

उतिखेरका फरक पेशा, पदप्रतिष्ठा, कमाई, समुहगत भिन्नता भए पनि पाको उमेर सबैका लागि उस्तै शारीरिक र मानसिक भोगाईको अवस्था हो । त्यसैले हिजोका बिबिधता बिर्सिएर यो उमेरमा कतिपय ठाउँमा अचम्भको समानता पनि देखिन्छ । हिजोसम्म खानपिनमा छोइछिटो गर्ने पनि अहिले बानी छ भने एउटै चुरोट पालैपालो तान्ने र जल्ले माडे पनि सूर्ति बाँडेर च्याप्छन् । अझ कतिपयले त ‘अमुकलाई मन पर्छ’ भनि आफ्ना घरबाट लुकाएर ल्याई पनि ‘खा न तलाइँ सम्झेर एक्लै खानै सकिन’ भनि दिन्छन् । खानपिन गर्ने जमघट भएमा ‘उमेराँ खाए पनि अहिले त बिचार गर है’ भनि एक चोटीको खवाईले सातादिन साथीले दुख नपाआोस् भनि हकार्छन् पनि । हेर्नोस् त कति माया भएको ? आफन्तीको भन्दा बढि हेक्का राखेको ! घरकाले मानिदिएमा कसैकोमा मर्दापर्दा आई भनेका कुरा रौँ तलमाथि नगरी ढुक्क जिम्मा लिएर काम फत्ये हुनेगरी मतापले सघाउँछन् । त्यस्तो काम गर्दा उहाँहरूको मान भएको अनुभूतिले अनुहारको चमक र कामको सुसुर्को फुसुर्को हेर्नोस् त कति बढी हुन्छ ? अझ पछि त्यस्तै सन्दर्भमा पाका मान्छेको कुरा गर्दिनु, के थियो र ? पाका मान्छे मक्खपरेर ‘पर्‍या बेलाँ सम्झिनु नि’ भनि पुरस्कार पाएझैँ मसक्क मस्किन्छन् ।

शिक्षादीक्षा र आर्थिक हैसियत जस्तो भए पनि पाका मान्छेका अनुभव कसैले अब आएर प्रशंसा गर्दा आफू अझै कसैका लागि सम्झिनेमा पर्ने भन्ठानेर मसक्क मक्ख पर्छन् । कुरा गर्न अनुकुल अझ भए त त्यतिबेलाका थप प्रशङ्ग जोड्न पनि हौसिन्छन् । कोहीकोही त भावनामा यति बग्छन् कि सुन्ने फेला परेकोमा अरुले थाहै नपाएका तत्कालिन अरु ‘महाभारत’ नै सुनाउन थाल्छन् । यसो हुनु स्वभाविक नै हो । पाका मान्छे बर्तमान समाजिक अवस्थामा एक्लिएका छन्, कुरा सुनिदिने घरकै मान्छे पनि छैनन् । कोही उमेरदार कुरा सुन्ने फेला परे कति मनमा गुम्स्याएर राख्नु त ? यसै मनोविज्ञानबाट प्रभावित भएर नै हो पाका मानिस कति धेरै मानिला काम गरेका अनुभव भएर सुनिदिने, बुझिदिने र मानिदिने वयस्कका अभावमा ससाना नाति नातिना र केटाकेटीसँग पनि रुचाउँछन् । यो त सरासर ज्ञानगुण र छ दशक लामो अनुभव किशोरकिशोरी र वयस्कहरूलाई सजिलै उपलव्ध हुने प्रक्रियामा घाटा भएन र ? स्थितिलाई सुल्ट्याउनै पर्छ र समाजलाई व्यवस्थित र उपयोगी बनाउन तेस्रो पुस्ता मात्र होइन दोस्रो पुस्ताले समाजमा चलखेल गरिरहेकाले पाका मान्छेका ज्ञान सुन्नै पर्छ हो !

के के गर्ने ?
पाका मान्छे सबैले उमेरकै कारण र अझ रोगव्याध थपिएको छ भने भोग्ने उस्तै हो, आर्थिक, राजनीतिक र सामाजिक हैसियतले फरक नपार्ला ? ज्यानको धनु बलियो हुनेले जस्तो परे पनि लस्याकलुसुक गरिरहलान् अरुको त हालत हुने बेला हो पाका मान्छेको हबिगत । त्यसैले पाका मान्छे आफैँले केहि कुरामा बिचार मन्थन गरी खुसी भएर सहज जीवनको बाटो लाग्नुपर्छ । पाका मान्छले आफैँ मसिना कुरामा ध्यानलिई मनोवैज्ञानिक स्वभावमा परिबर्तन गर्नुपर्छ, हिजोसम्म तुजुक, घमण्ड र मिच्याइँ गर्ने स्वभाव भए पनि अब हरेक कुरा सहने, कम बोल्ने अँ अँ गर्ने, बोल्नै परे थोरै ‘यस्तो लाग्छ’ सम्म भन्ने । ‘यसो गर, उसो गर, यस्तै हुनुपर्छ मलाईे’ नभन्ने, बरु चासो कम राख्ने र परिवारका अरुलाई हस्तक्षेप नगर्ने, जेजस्तो भए पनि ‘हुनुपर्ने त्यस्तै होला’ भनि चित्त बुझाउने । फेरि तपाइँहामीले बिभिन्न कारणले आफैँ जोहोगरी तामेली गर्न नसक्ने अवस्थामा अरुले ‘त्यसो गर्न सक्दैनौ’ भन्दा किन जिद्दी गरी अप्ठ्यारो स्थिति बनाउनु ? नकारात्मक वातावरण बनाउने काम तपाइँहामीले गर्ने नै होइन, सकारात्मकतिर मात्र लाग्ने हो ।

मन बाँध्नोस्ः
त्यस्तै पाका मान्छेले जे जे कुराले आफूलाई अप्ठ्यारो बनाउन, ग्लानी गराउन र निहुर्‍याउन खोज्छ, त्यस्ता सबै कुरा, काम र परिस्थितिलाई ठाडै नकार्नोस् । मानव जीवनका हरेक उमेरसमुहले आफ्नो दैनिकीमा अबाञ्छित बाधाबिरोध, निराशा, दिकदारी, अनिश्चिन्ता र असफलता भोग्न अभिशप्त नै हुन्छ । मात्रा र बुझाईमा फरक पर्न सक्छ । त्यस्ता कुरामा घोत्लिएर जीवनको उज्यालो पक्ष- खुसी हुने उचित बेलालाई त्याग्नु हुन्न । खुसी हुने बानी भएन भने त ठूलो उपलब्धिमा पनि नुन खाएको कुखुराको स्वभाव भइहाल्छ नि ! पाको उमेरमा त सँधै प्रफुल्ल रहने, हरेक कुरामा सन्तोषी भएर खुसी हुने बानी नै बसाल्नुपर्छ । दुखी, असन्तोषी र अहिलेको परिस्थितिमा दिक्क मान्ने हो भने अहिलेभन्दा बढि दुख पर्दा र कष्टकर परिस्थिति भएमा के गर्ने नि ? त्यस्ता नकारात्मक कुरा पछिलाई राखौँ अहिले खुसी होऔँ । हार्वाड चिकित्सा विद्यालयका स्वास्थ्य विज्ञहरूले सकारात्मक मनोविज्ञान बारेमा छिपछिपे होइन मनैदेखि खुसी हुने उपायहरू बारेमा धेरै चर्चा गरेका छन् । असन्तोषी त आफूले गर्ने सक्ने पनि नगरिरहेको उन्नतितिर ध्यान नगएको र अब लागिहाल्नु पर्छ भन्नेमा पो गर्ने हो र यस्तो उमेरमा पनि अझ बढी मिलनसार र समाज उपयोगी बन्न नसकेकोमा गर्ने हो !

खुसी हुन सिकौँः
अनुसन्धानले पनि देखाएको छ कि ति विज्ञानसम्मत उपायहरूले गर्दा मनोवैज्ञानिक असरमात्र होइन शारीरिक स्वास्थ्यमा समेत अनूभूति गरिने प्रभाव र परकपन आएको देखिन्छ । सकारात्मक भावनाको प्रभावले चिन्ता घटाउनेमात्र होइन नियमित अभ्यासले मुटु रोग, हृदयघात र अरु विभिन्न जटिलता न्यूनीकरण गर्न सहायक भएको पाइन्छ । खुसी हुनु भनेको ङिच्चङिच्च अनुहार गरिरहनु होइन बरु भित्री मनमस्तिष्कदेखि हरेक समस्याहरू सहेर सकारात्मक पाटो देख्नु हो । राम्रो पक्ष खोजौँ नाकनिक नगरौँ, भएका कुरामा खुसी हुन सिकौँ । त्यसका लागि आफ्नो समय कहाँ व्यस्त गराउन र मस्त हुन सकिन्छ त्यतै बिताउँ । सक्ने काम लिउँ र त्यसैमा दत्तचित्त भई लागि रहौँ, काम पनि हुने चिन्तित भई नकारात्मक सोच फुर्ने फुर्सद नै नलिउँ ।

विविधता नअँगालौँः
विविधता खानाको होस् कि प्रयोग गर्ने सामान, सकेसम्म सरल र सहज उपलब्ध हुने साथै फारुतिनोमा मन लगाउँ । थोरैभन्दा थोरै बस्तुमा आफ्नो दैनिकी चलाउने बानी बसालौँ । यस्तो भएमा चाहाना छिरोलेर आफैँलाई रोज्ने र अरुलाई बाधा पर्ने वा झण्झट लाग्ने अवस्था आउँदैन । आफूलाई ठिकबेठिक, फापअफाप रोजाईको चिन्ता हुँदैन र अरुलाई व्यवस्था गर्न परिभँडार गर्न नपरेकाले प्यारो होइन्छ । सादा थोरै बस्तुमा निर्भर रहने बानी परे हिँडडुल गर्दा र कसैकहाँ जाँदा आफैँलाई फाइदा हुन्छ भने अरुका लागि बोझ नभई ‘कति हलुको हुनुहुन्छ ? भगवान जस्तै गुनी, म कहाँ बसे बाँचुन्जेल पाल्छु, यस्ता बाआमा सबैका भए हुन्थ्या नि, आँखामा हाले नि नबिझाउने’ भनेर प्रशंसा सुन्न पाइन्छ ।

स्वभाव फेरौँः
अँ, तपाइँको परिवार र सङ्गत पाका मान्छेलाई मानमनितो गरी आदर गर्ने खालको भए जतिखेर जेकुरामा पनि नभनि अति बिग्रन लाग्दामात्र भन्ने गर्नुभयो भने मान कायम होला । अन्यथा ‘सँधैको गनगन, कहिले छुटकारा पाइएला ?’ भन्ने अवस्था नपुर्‍याउनु पाका मान्छेको बाँकी जीवन सुखमय बनाउने बाटो हो । कतिपय सामाजिक, आर्थिक असमानताले उब्जाएको र पारिवारिक अंशमा आएका स्वभावमा उमेर ढल्किएको अवस्थामा शारीरिक कारणले पनि परिबर्तन ल्याउनु आवश्यक हुन्छ । सामान्यतया पूर्वाग्रहपूर्ण रिसराग गर्ने, नीजि लोभलालच र खराब चित्तले मनसाय व्यक्त गर्नुहुन्न । तपाइँ अरुको कुभलो गर्दा र चिताउँदा आफैँ त्यहि पङ्क्तिमा परिरहनुभएको हुन्छ । यसोगर्दा तपाइँ आफ्नै अहित गर्दै हुनुहुन्छ भन्ने हेक्का राख्नुहोस् । बिब्ल्याँटो सोच्ने र पछुताउने उमेर होइन है पाका मान्छेको ! सोझा, सहज र सुपाच्यमात्र बोली आफूलाई राम्रो गर्ने मनोविज्ञान हो र अरुको हाईहाई हुने उपाय हो ।

साहसी बन्नुहोस्ः
उमेर ढल्कँदै जाँदा पहिले कहिल्यै नसोचेको शारीरिक र सामाजिक अवस्था आउन सक्छ । हिजोसम्म निहुरेर अभिवादन गर्नेहरू देख्या नदेख्यै गर्ने वा भनेको सिन्को नभाँच्ने हुनसक्छन् । आफ्नो हैसियत झरेकोमा, गन्न छाडे भनि असहज भएर पिलीपिली रुने र अतिभए आत्महत्या गर्ने सोचाई आउन सक्छ । यो सर्बथा ग्लानी र स्वअहमको चिन्तन हो । यस्ता कुरामा ध्यान कम दिने र कहिले त राम्रो बेला आउला नि, यस्तो असमान व्यवहार धेरै टिक्दैन भनि आशामुखी भई त्यस्ता समस्यामा साहसी बनि आफ्नो नियमित काम उत्तिकै जोशजाँगरले गरिरहनु पर्छ । समस्यामा आफैँ पिरोल्लिने, मर्न पाए नि हुन्थ्यो भनि कसैलाई सुनाउने काम नगर्नोस्, यसले तपाइँलाई झन कमजोर र अरुको दृष्टिमा हेय बनाउँछ । केहि नसके मनमा औडाहनै भए बोल्न मनलागे अमुक प्राणी वा निर्जिव बस्तुलाई आफ्ना व्यथा भनेर मन हलुङ्गो पार्नोस् । कतिपय चिन्तित पाका मान्छे एक्लै बाटो हिँड्दा साथी भएझै हात हल्लाउँदै गफ गर्दै हिँडेको देख्नुभएको होला ? एक सरो बोली सकेपछि कति मन हलुङ्गो हुन्छ, सोध्नोस् त ?

आभार व्यक्त गर्न सिक्नुहोस्ः
सामान्यतया पाका मान्छे विभिन्न अवस्थाले परिवार र समाजमा ज्येष्ठ भएकाले कसैलाई अघि सरेर नमस्कार समेत भन्नु नपर्ने समय हुन्छ । तर सकेसम्म अरुलाई आदरभाव राख्ने सोमतअनुरुप नमन गर्ने, केहि भनेमा र आफ्नो लागि केही गरेमा आभार व्यक्त गर्न सिक्नुहोस् । तपाइँको नरमपनाले आफैँमा सकारात्मक सोचाई आउने त छँदैछ भेटेका मानिससँगको सम्बन्ध पनि झन रसिलो र बलियो हुनजान्छ । यस्तो बानी बसेमा असामान्य परिस्थितिमा पनि तपाइँ सहयोगकासाथ अघि बढ्न साहस बढाउन सक्नुहुनेछ । घरपरिवारमा पनि ससाना बालबालिकासँग मान राखेर तपाइँ, हजुर भनि कुरा गर्नुहोस्, फिर्तामा उनीहरू पनि तपाइँलाई मान गर्न थाल्ने छन् । सामान्य दैनिक खानपानमा पनि सन्तोषी भई खाना पछि पकाउने र व्यवस्था गर्नेप्रति मिठो खान पाएकोमा आभार व्यक्त गर्नुहोस् । यसले काम गर्नेलाई सन्तुष्टिमात्र मिल्ने होइन तपाइँलाई फेरि ख्वाउन लालायित बनाउने छ र तपाइँले पछि अझ मिठो राम्रो खान पाउने प्रत्याभूति गराउने छ । आखिर जस्तो रोप्यो त्यस्तै फल्ने न हो, आलु रोपे आलु फल्छ, पिँडालु रोपे पिँडालु, बाँको र कण्टकारी फल्दैन नि !

ध्यान केन्द्रित गरौँः
पाको मान्छेको उमेर भनेको धेरैतिर ध्यान छिरोल्ने अवस्था होइन ! समाज र परिवारमा सैयौँ बिचार र व्यवहारका विविधता हुन्छन्, सबैमा सोलाकार जाहेर गर्नुपर्ने आवश्यक्ता तपाइँको उमेरको माग होइन । आफूले जानेको, ईच्छा लागेको, सकेको राम्रो गर्दै सकृय रहने, स्वास्थ्यको ख्याल गर्ने र आफूले राम्रो पाउन अरुलाई सकेसम्म राम्रो गर्ने हो । के के गर्दा तपाइँका दिनहरू सुबिस्ताले अठोटेको काम गर्दै बितोस् भन्ने चाहनुहुन्छ, त्यस्ता कुरामा मात्र ध्यान दिनुहोस् र पुरा गर्न सतर्क रहनुहोस् । सरिर र अवस्थाले नदिँदा पनि ह्याकुलाले पेल्छु भन्ने सपना नदेख्नु भए तपाइँलाईनै फाइदा हुन्छ । हेर्दा सामान्य झिनामसिना तर आधारभूत आवश्यक्ताका कुरा गर्नोस् धेरै श्रम पनि लाग्दैन र तपाइँको ज्ञानको दायरामा नै पर्छन् । खासै काम नदेखिए पनि तपाइँको सहयोग झ्यालढोकाको चुकुल र तरकारीको नुन जस्तै काम लाग्ने हुन्छ ।

सञ्चारको ठिक प्रयोगः
आफ्नो आवश्यक्ता र बिचार अनुसारका फाइदा पुग्ने सामाजिक सञ्चार साधनको उपयोग गर्नुहोस् । पूँजि बजारको असरल्ल बिस्कुनमा सद्देदेखि बिग्रेका र सडेगलेका विविध सामान पाइन्छन् । सबै हेरेर पढेर तपाइँ चिन्तित हुनुपर्ने, मनोदशा बिगार्नुपर्ने र रन्थनिनुपर्ने हुँदैन, कतिपय त झुट्टा र दुर्वाच्य फैलाउने खालका हुन्छन् । किन सबैको वास्ता गर्ने ? हामीले हेर्नैपर्ने र पढनैपर्ने छैन्, बजारमा पाइएका र विज्ञापन गरिएका सबै सामान राम्रा र किन्ने पर्छ भन्ने छ र ? आफूलाई खट्टो परेर आवश्यक र आनन्द दिने, मनपर्नेमात्र छनौट गरे टण्टै साफ, पछि ‘थुक्क के किनिएछ नि हल्लाको भरमा, पैसा, समय सबै नाश’ भन्ने पर्दैन । ‘बन जाउँ न बाघले खाउँ, आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ भन्ने उखान त्यसै पहिलेका पाका मान्छेले चलाएका होइनन् है, मसक्कै बुझौँ ।

अन्त्यमा,
पाका मान्छे अझै सकृय हुन सक्छन् र खासै शारीरिक रोगव्याध छैन भने गरिरहेकै कामकाज अघि बढाउँदा हुन्छ । विभिन्न कारणले कमजोर र कम सकृय हुने अवस्था छ भने पहिलाको फूर्तिफार्ती सम्झेर आत्मग्लानीमा दिन काट्ने होइन । सकेको सकारात्मक सोच बनाएर अझै जति सकिन्छ सकृय र समाज उपयोगी बन्न खोज्नु मानिसको कर्तव्यभित्र पर्छ । मृत्यु सम्झेर हातगोडा लुला पार्ने होईन जीवित प्राणी हरेकको मृत्यु हुन्छ, किन साँञ्चिनै मर्नुअघि बारम्बार मर्ने आतङ्कले अधमरो जीवन जीउने ? आफ्नो ज्ञान, सिप र अनुभवका आधारमा सहज र प्रफुल्ल जीवन जीउन तपाइँलाई कसले रोक्छ ? त्यस्ता शत्रु भावना त्यागौँ र सकारात्मक भई मनको चइनकासाथ आनन्द मान्नु नै पाका मान्छेको खुसीका क्षण बन्नजान्छ ।

०००
२०७९ पुस १५
ल.पु. चालिसेडाँडा

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई यत्ति भए पुग्छ !

पाका मान्छेलाई यत्ति भए...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे, दुर्व्यवहार र चुनाव !

पाका मान्छे, दुर्व्यवहार र...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ !

पाका मान्छेलाई निम्ता गर्दा...

डा. मुकेशकुमार चालिसे
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

गङ्गाप्रसाद अधिकारी
मानिला मानिसमा घुँडा र कम्मर समस्या !

मानिला मानिसमा घुँडा र...

डा. मुकेशकुमार चालिसे
जाडोमा पाका मान्छेलाई समस्या !

जाडोमा पाका मान्छेलाई समस्या...

डा. मुकेशकुमार चालिसे
घाँडो बूढो

घाँडो बूढो

राजेन्द्र कार्की
पाका मान्छेलाई यत्ति भए पुग्छ !

पाका मान्छेलाई यत्ति भए...

डा. मुकेशकुमार चालिसे