सुलसुलेसाहित्यिक पत्रिका : वर्तमान अवस्था र चुनौती विषयक अन्तक्रिया
मात्र व्यक्तिको समर्पणमा सेवामूलक ढङ्गले साहित्यिक पत्रकारिता अघि बढिरहेको छ । सधैँ उपेक्षित भएर बाँचिरहेको साहित्यिक पत्रकारिताबारे नीति निर्माणको तहमा संलग्न व्यक्तिबाटै चासो र अभिरुचि दिनु अपरिहार्य छ ।

काठमाडौँ, ०७९, माघ २७ । नेपालको सबैभन्दा जेठो पत्रकारिता नै साहित्यिक पत्रकारिता हो । यसको प्रकाशन युवाकवि मोतीराम भट्टको प्रेरणाले नेपालबाट वि.सं. १९५५ साउनमा ‘सुधासागर’ मासिक साहित्यिक पत्रिका प्रकाशित भएको थियो ।
’सुधासागर’ प्रकाशित हुँदा मोतीराम भट्ट कीर्तिशेष भइसकेकाले पं. नरदेव मोतीकृष्ण शर्माको सम्पादन र प्रकाशनमा सो पत्रिका निस्किन थालेको थियो । यस आधारमा साहित्यिक पत्रकारिताले १२३ वर्ष लामो इतिहास बोकेको छ । वि.सं. १९५८ वैशाख २४ गते ‘गोरखापत्र’ को प्रकाशन भएको थियोे ।
यसरी पत्रकारिताको थालनी नेपालमा भएको थियो । छापामाध्यम हुँदै विद्युतीय अर्थात् अनलाइन पत्रकारिताले अहिलेसम्म आउँदा व्यापकता पाइसकेको छ । तर पनि साहित्यिक पत्रकारिता ज्युँत्युँ टिकिरहेको देखिन्छ । यस पत्रकारिताले व्यावसायिक रूप धारण गर्न सकेको छैन । मात्र व्यक्तिको समर्पणमा सेवामूलक ढङ्गले साहित्यिक पत्रकारिता अघि बढिरहेको छ । सधैँ उपेक्षित भएर बाँचिरहेको साहित्यिक पत्रकारिताबारे नीति निर्माणको तहमा संलग्न व्यक्तिबाटै चासो र अभिरुचि दिनु अपरिहार्य छ ।
प्रस्तुत तथ्यलाई आत्मसात् गर्दै प्रेस काउन्सिल नेपालका पूर्व सदस्य, झिसमिसेका सम्पादक, पूर्वमन्त्री तथा सङ्घीय सांसद रघुजी पन्तको संयोजनमा “साहित्यिक पत्रिकाः वर्तमान अवस्था र चुनौती” विषयक छलफल कार्यक्रमको आयोजना यलमाया केन्द्र, पाटनढोकामा सम्पन्न भएको थियोे ।
पन्तले साहित्यिक पत्रकारितालाई अघि बढाउन नीतिगत रूपमा प्रोत्साहित गर्न सरकारीतवरबाट अघि बढ्ने र साहित्यिक पत्रकारिताका समस्यालाई समाधान गर्न आफू लागि पर्ने बताउनुभएको थियोे । साथै, उहाँले यस विषयमा प्रेस काउन्सिल प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको थियोे ।
त्यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व सदस्य, नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा रचना साहित्यिक द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेले साहित्यिक पत्रकारितामा पुर्याएको योगदान र जटिलताबारे धारणा राख्नुभएको थियोे । उहाँले प्रेस काउन्सिललगायत सरकारी निकायले साहित्यिक पत्रकारिताको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्घका वर्तमान अध्यक्ष तथा जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालले साहित्यिक पत्रकारितालाई राज्यले बढी उपेक्षित गरेको विषयमा आफ्नो कुरा राख्नु भएको थियोे ।
त्यस्तै, पूर्व सांसद तथा साझा प्रकाशनका अध्यक्ष विजय सुब्बाले साहित्यिक पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै सबै अघि बढ्नुपर्ने बताउनुभएको थियोे ।
साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशकहरू वासुदेव अधिकारी, वियोगी बुढाथोकी, रामप्रसाद पन्त, कनकमणि दीक्षित, आरसी रिजाल, शैलेन्दुप्रकाश नेपाल, शार्दुल भट्टराई, जयदेव भट्टराई, चेतनाथ धमला, अच्युत घिमिरे, स्नेह सायमी, धीरकुमार श्रेष्ठ, गायत्री चापागाईं, विदुर गौतम, बालिका गिरी, विनयकुमार शर्मा, डा.विन्दु शर्मा, नवराज रिजाल, होमशङ्कर बास्तोला र निबन्ध आचार्यलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सांस्कृतिककर्मी तथा सांस्कृतिक संस्थानका पूर्व अध्यक्ष एवम् महाप्रबन्धक राजेश थापाले गर्नुभएको थियो ।
०००
– चेतनाथ धमला
Subscribe
Login
0 Comments
Oldest











































