सुलसुलेमहेन्द्र उपाध्यायको उपन्यास कृति ‘मिन्झारी’ विमोचन
युवा स्रष्टा महेन्द्र उपाध्यायको औपन्यासिक कृति ‘मिन्झारी’ नेपाल प्रज्ञा प्रतिष्ठानको खुला डबलीमा लोकार्पण गरियो । आख्यानकार नयनराज पाण्डे र पूर्व सांसद शान्ता चौधरीद्वारा एक समारोहका बीच संयुक्त रूपमा लोकार्पण गरिएको हो ।

काठमाडौं, २८ माघ २०७९ । थारू संस्कृतिलाई पृष्ठभूमि बनाएर लेख्दै आएका युवा स्रष्टा महेन्द्र उपाध्यायको औपन्यासिक कृति ‘मिन्झारी’ नेपाल प्रज्ञा प्रतिष्ठानको खुला डबलीमा लोकार्पण गरियो । आख्यानकार नयनराज पाण्डे र पूर्व सांसद शान्ता चौधरीद्वारा एक समारोहका बीच संयुक्त रूपमा लोकार्पण गरिएको हो ।
‘मिन्झारी’ उपन्यास सार्वजनिक गरेपछि शान्ता चौधरीले ‘आफू ८ वर्षको उमेरदेखि १८ वर्षसम्म कमलरी बस्दाको अनुभव बाँड्दै थारुसमुदायको समस्यामा केन्द्रित पुस्तक लोकार्पणको निम्तो पाएर रातारात दाङबाट रात्रीबस चढेर आइपुगेको बताइन् । उपाध्यायको यो उपन्यासका धेरै अंशमा मैले आफूलाई र आफूजस्तै कमलरीहरूको हिजोको विगतलाई पाएको छु । यसका लेखक उपाध्याय थारु हैनन् पहाडिया हुन् तर थारु जनजीवनलाई उपन्यासमा उतारेको देखेर म छक्क परेकी छु- चौधरीले बताइन् ।
आख्यानकार नयनराज पाण्डेले उपन्यासमाथि समीक्षा गर्दै महेन्द्रको यो कृति पहिलो हो तर यसको संरचना, आख्यानमा नवीनता र भाषाशिल्प हेर्दा अत्यन्त समृद्ध, प्रखर र प्रभावशाली रहेको बताए । उपन्यासको कथानकसँगै पात्रहरू चलायमान छन्, स्वतन्त्र छन् तर सूक्ष्मढङ्गले कथानकसँग एकाकार देखिन्छन् भन्दै पाण्डेले उपन्यासमा जुन नवीनता प्रक्षेपित गरिएको छ यसले ‘मिन्झारी’लाई सोचेभन्दा धेरै माथि उठाएको बताए । उनले थपे- मिन्झारी पढिरहँदा मलाई शुरुदेखि अन्त्यसम्म बलपूर्वक तानिरह्यो । कहिँ पनि ‘बोरिङ’ हुन दिएन, रुचि मर्न दिएन ।
अनौपचारिक ढङ्गले आरम्भ भएको समारोहमा ‘मिन्झारी’ उपन्यास प्रकाशन गर्ने काबु क्रियशनका तर्फबाट महेश नेपालीले यसको तीन वर्षे रचनागर्भ कोट्याउँदै पश्चिम तराईमा मूलधारको राजनीतिले कमैया मुक्तिको घोषणा गरे पनि उनीहरूलाई मुक्त हुन नदिएर केवल मालिक फेर्ने अवसरमात्र दिएको यथार्थ बताए । उपन्यासको कथानक दैलेखसम्म पुगेको र त्यताको जनजीवन र सांस्कृतिक दृश्यचित्रसमेत खिचेको उल्लेख गरे ।
‘मिन्झारी’ का युवा लेखक महेन्द्र उपाध्यायले आफ्नो बाल्यावस्था र किशोर वय थारुसमुदायमै त्यहीँको धूलोमाटोमा बितेको चर्चा गर्दै त्यो माटोप्रति दायित्वबोध गरेपछि नै आफूले कलम समातेको बताए । उनले उपन्यासको प्लट निर्माण गरेपछि पूर्वस्मरण गर्दै आफू धेरैपटक तराईको धूलो टेक्न पुगेको बताए । तराईमा पहाडियाको प्रवेश भएपछि आदिवासी जनजाति थारुहरूमाथि अत्याचारको शृङ्खला सुरु भएकाले पनि थारु संस्कृति आफूले लेखनको पृष्ठभूमि बनाउन थालेको लेखक उपाध्यायको कथन थियो ।
उपन्यास प्रकाशनका यो अवसरमा मालिकको आँखाबाट, मालिककै सोचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारको दुरूस्त चित्रण गरिएको उपन्यास भएको प्रकाशन गृह काबु क्रियसनका प्रबन्ध निर्देशक रसिक राजले बताएका छन् । उनले भने, ‘कथानक, लेखन शिल्प, मुद्दा सबैमा उत्कृष्ट उपन्यास हो मिन्झारी । जसले पाठकको मन जित्नेमा हामी ढुक्क छौं ।’
थारु भेषभुषामा सजिएकी भूमिका थारुले सञ्चालन गरेको लोकार्पण समारोहमा सहभागी हुन युवा पुस्ताका लेखक, स्रष्टा तथा पत्रकारहरूको उल्लेखनीय सङ्ख्या प्रज्ञा-डबलीमा पुगेको थियो ।
कैलालीमा जन्मिएका ‘मिन्झारी’का लेखक पेशाले इन्जिनियर हुन् । गजल लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनले आख्यान विधामा आफ्नो परिचय स्थापित गरेका छन् । उनका दर्जनौ कथा सिर्जना प्रकाशित भैसकेका छन् र युवा पुस्ताबीच लोकप्रिय बनेका छन् । साहित्यमा किनारीकृत समाजलाई उतार्ने उपाध्यायले सामाजिक, राजनीतिक, सांस्कृतिक लगायतका मुद्दालाई लेखनको केन्द्रमा राखेको भेटिन्छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































