सुलसुलेवाङमयसेवी विरक्तिको जीवनीमा आधारित काव्य विमोचित
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अन्य अतिथि डा. दुर्गाप्रसाद अर्याल, डा. रामप्रसाद ज्ञवाली, नरनाथ लुइँटेल, भूवनहरि सिग्देल, गोरक्षनाथ पीठाधीश श्रीनाथ योगीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

काठमाडौं, फागुन २०, ०७९ । बहुआयामिक व्यक्तित्व अर्जुन विरक्तिको जीवनीमा आधारित भएर सिर्जना गरिएको कवि श्यामबहादुर भावुकको कृति फेरि जन्मन्छन् जन्मदैनन् गीतिकाव्य विमोचित भएको छ ।
दायित्व बाङमय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा प्रज्ञा-प्रेक्षलयमा आयोजित समारोहमा प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त, डा. दुर्गाप्रसाद अर्याल, डा. रामप्रसाद ज्ञवाली, नरनाथ लुइँटेल, भूवनहरि सिग्देल, गोरक्षनाथ पीठाधीश श्रीनाथ योगीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।
विमोचित कृतिमाथि डा. रामप्रसाद ज्ञवालीले समीक्षा गर्दै काव्य नायकको जीवनवृत्तलाई सुललित गीतिलयमा कवि भावुकले उतार्नु भएको बताउनु भयो । कवि भूवनहरि सिग्देलले गीति लोकलयमा काव्य सिर्जनाको परम्परा भावुकले अघि बढाउनु भएकामा बधाइ र शुभकमना दिनु भयो भने नरनाथ लुइँटेलले कृतिमा समाविष्ट गीति मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
प्रा.डा.दिनेशराज पन्तले अर्जुन विरक्ति जस्ता वाङमयसेवीलाई राज्यले नचिन्नु दुखद आश्चर्य रहेको बताउँदै कवि भावुकले काव्यनायकका रुपमा प्रस्तुत गरेर प्रशंसनीय कार्य सम्पन्न गरेकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्नसक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ बताउनु भयो ।
कार्यक्रममा प्रा.डा.दुर्गाप्रसाद अर्याल, श्रीकृष्ण अधिकारी, प्रकाश गौतम, गोरक्षनाथ पीठाधीश श्रीनाथ योगी लगायतका वक्ताले काव्यनायक एवम् कृतिकारको रचना शिल्पबारे चर्चा गर्नुभएको थियो ।
कृतिनायक अर्जुन विरक्ति स्वयम्ले १६ भाषा र लिपिमा तयार गरेको कदरपत्र प्रमुख अतिथि मार्फत कृतिकार भावुकलाई प्रदान गरियो ।
दायित्व प्रतिष्ठानका सचिव केशवराज पन्तले स्वागत मन्तव्य दिएपछि दीप प्रज्ज्वलन गर्दै आरम्भ भएको समारोहमा विभिन्न स्रष्टाद्वारा कृतिनायक अर्जुन विरक्तिमा समर्पित गीति सिर्जनाका साथै काव्यांश प्रस्तुत गरिएको थियो । डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखियाले काव्यअंश प्रस्तुत गर्नु भयाे ।
काव्यनायक अर्जुन विरक्तिले आफूलाई राष्ट्रले नचिने पनि जसले चिने उनीहरूकै माया, श्रद्धा र सहयोगबाट आजसम्म बाँचिरहेको बताउनु भयो भने कृतिकार भावुकले गीतिलयमै समारोहमा उपस्थित विद्वतजनमा कृतज्ञता र आभार व्यक्त गर्नुभएको थियो ।
विद्वत, स्रष्टा र द्रष्टाहरूकाे घनिभूत सहभागिता रहेकाे समाराेहलाई यादव भट्टराईले सहजीकरण गर्दै रसिलाे ढङ्गले सञ्चालन गर्नु भएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest









































