सुलसुलेसाहित्यिक भित्ते पात्रो र कृति विमोचन
साहित्यिक भित्तेपात्रो २०८० एवं कवि रेणुका भट्टराईको ‘धार्मिक व्यक्तित्व मित्रबहादुर भट्टराई’ जीवनी कृति विमोचन सप्पन्न भयो ।

मोरङ । काव्य घर नेपालले कृति तथा साहित्यिक भित्ते पात्रो विमोचन एवं स्रष्टा सम्मान गरेको गरेको छ ।
काव्यघर नेपालद्वारा प्रकाशित क्यालेन्डरमा कविता प्रकाशित २०५८ सालदेखि निरन्तर प्रकाशनमा रहेको साहित्यिक भित्तेपात्रो २०८० एवं कवि रेणुका भट्टराईको ‘धार्मिक व्यक्तित्व मित्रबहादुर भट्टराई’ जीवनी कृति विमोचन सप्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेल, सुन्दरहरैचा नगरप्रमुख केदारप्रसाद गुराराई, जिल्ला समन्वय समिति उपसभापति उषा झा, लेखक रेणुका भट्टराई, मित्रबहादुर भट्टराई, काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।
राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा कविहरू तिला लेकाली, चित्रा पौडेल लक्ष्मी रायमाझी खड्का, विष्णु भण्डारी, नगरप्रमुख केदारप्रसाद गुरागाई, जिल्ला समन्वय समिति उपसभापति उषा झा लगायतले साहित्यिक भित्तेपात्रोको महत्व र धार्मिक व्यक्तित्व मित्रबहादुर भट्टराई कृतिको चर्चापरिचर्चा, बधाई र शुभकामना व्यक्त गरेका थिए ।
क्यालेन्डरमा भगवानका फोटो र संघसंस्थाका तस्वीरहरू राखेर प्रकाशन गर्ने प्रचलन भए पनि यसबाट माथि उठेर लेखक कविहरूको सिर्जना राख्दै प्रकाशन भएको साहित्यिक भित्ते पात्रोको पहिचान र महत्त्व अलगै रहेको अधिकांश वक्ताले राखेका थिए । साहित्यकार/पत्रकार रेणुका भट्टराईको कृति धार्मिक व्यक्तित्व मित्रबहादुर भट्टराई जीवनीले भट्टराईको योगदान र महत्त्व स्थापित गराउन सफल रहेको भन्दै लेखकको प्रशंसा गरिएको थियो ।
काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत लेखक तिला लेकाली र चित्रा पौडेललाई काव्य घर नेपाल स्रष्टा सम्मान-२०७९ बाट सम्मान गरिएको थियो ।
त्यस्तै सामाजिक कार्यमा निरन्तर लागिरहेका हरैचाका समाजसेवी मित्रबहादुर भट्टराई र बद्रीकुमारी थापालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान-२०७९ बाट सम्मान गरिएको थियो ।
कृतिकार रेणुका भट्टराईले सुरुसुरुमा आँट नगरे पनि पछि काव्य घर नेपालको सहयोगमा मित्रबहादुर भट्टराईको जीवनी लेखेर सम्पादन गरेको सिर्जनालाई पुस्तकको रूप दिएको बताइन् ।
काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा क्यालेन्डरमा कविता छाप्ने काम आफूले मात्रै निरन्तर गर्दै आएको दावी गरे । उनले भने, ‘नेपाली साहित्यमा क्यालेन्डरमा कविता छाप्ने शुरूवात मैले २०५८ सालदेखि पाँचथरको रानिगाउँबाट गरेको र पछि नेपालका अन्य क्षेत्रबाट प्रकाशन गर्न थालिए पनि यसलाई निरन्तरता दिन सकेको छैन । मैले चाहिं निरन्तरता दिंदै आएको छु ।’
कार्यक्रमका प्रमुख अतिथि पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेलले भित्ते पात्रोमा तिथिमितिसँगै साहित्यिक खुराक समेत पाइने भएकाले यसको निकै महत्त्व भएको बताए ।
बयानब्बे वर्षका मित्रबहादुर भट्टराईको जीवनी लेखेर लेखक रेणुका भट्टराईले अतुलनीय कार्य गरेको भन्दै खुलेर प्रशंसा गरे । आफू पनि साहित्य-संगीत मन पराउने र कहिलेकाहीं गीत गुनगुनाउने गरेको बताइन् ।
काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाका अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वेच्छा भट्टराईले गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरू चित्रा पौडेल, तिला लेकाली, विष्णु भण्डारी, लक्ष्मी रायमाझी खड्का, उषा झा, घनश्याम भट्टराई, बद्रीकुमारी थापा लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































