सुलसुलेहोली विशेष रचना वाचन कार्यक्रम
उदयपुरको गाईघाट स्थित उदयपुर साहित्य कला प्रतिष्ठानले मंगलबार आफ्नो नियमित रचना वाचन कार्यक्रम अन्तर्गत होली विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

उदयपुर गाईघाट, २०७९ फागुन २३ । उदयपुरको गाईघाट स्थित उदयपुर साहित्य कला प्रतिष्ठानले मंगलबार आफ्नो नियमित रचना वाचन कार्यक्रम अन्तर्गत होली विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
होली अर्थात् फागु पर्वका बारेमा चर्चा गर्दै स्रष्टाहरूले होली पर्वका दिन साथीभाइ मिलेर रमाइलो गर्ने वैमनष्यता त्यागेर भाइचाराको सम्बन्ध कायम गरी समाजमा व्याप्त होलीको विकृति अन्त्य गरेर सभ्य र प्रगतिशील समाज निर्माणमा हामीले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
गत माघ ४ गते जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता भएको उदयपुर साहित्य कला प्रतिष्ठानले नियमित रूपमा रचना वाचन तथा साहित्यिक गतिविधि सम्बन्धी विविध कार्यक्रम गर्दै आएको छ ।
संस्थाका संस्थापक सदस्य गंगाकुमारी पहाडीले आफ्नो छन्द कविता प्रस्तुत गरेर रचना वाचनको शुरुवात भएको सो कार्यक्रममा उदयपुरका महाकाव्यकार उद्धव घिमिरे, सरिता पौडेल गुरागाई, सीमा मास्के, कीर्ति बहादुर खड्का, विष्णु बहादुर खड्का, हर्क नारायण श्रेष्ठ, बासुदेव पोखरेल, माधव पोखरेल गोज्याङ्ग्रे, ऋषिकेश पोखरेल, महेन्द्र कुमार राई, निर्मला पुरी, विनोद श्रेष्ठ लगायतका दर्जन बढी कविहरूले आ आफ्नो रचना वाचन गरेका थिए । सो अवसरमा स्रष्टा कीर्ति बहादुर खड्काले संगिनी गीत सम्बन्धी आमा, बुहारी, र छोरीले गाउने संगिनी गीत र नृत्यका बारेमा रोमाञ्चक अभिनय प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।
आउँदो चैत्र महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिवार भव्यताका साथ रचना वाचन कार्यक्रमलाई अघि बढाउने र जिल्लाका आठबटै पालिकासम्म संस्थाले हाफ्नो कार्यक्रम लिएर जाने तयारी भैरहेको महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले बताए ।
नेपाल निजामती कर्मचारी संगठनको सभा कक्षमा आयोजित रचना वाचन कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका उपाध्यक्ष बासुदेव पोखरेलको अध्यक्षतामा र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको थियो ।
०००
– माधव गोज्याङ्ग्रे, उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest












































