साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बेफिक्री बेलुकी’ ब्यानरमा दमदार कविताको प्रस्तुति

कार्यक्रममा हास्य र व्यङ्ग्य कविताहरूको बाहुल्यता र बाँकी कविता छन्दसंरचनामा आधारित स्तरीय कविताहरूको प्रस्तुति रहेको ‘बेफिक्री बेलुकी’को ब्यानरमा सम्पन्न काव्यगोष्ठीको विशेषता देखियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख २ । सुकेधारास्थित बागमती बोर्डिङ स्कुलको सभाकक्षमा अनौपचारिक काव्यगोष्ठीमा राजधानीका प्रतिष्ठित दुई दर्जन कविहरूले कविता वाचन गर्दै नववर्षको स्वागत गरेका छन् ।

बागमती बोर्डिङ स्कुलका संस्थापक सुरेन्द्र सिटौलाले कवितात्मक स्वागतपछि आरम्भ भएको गोष्ठीको शुरुवातमा अनिल पौडेल कीर्तेले दमदार हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेपछि नरेन्द्रराज पौडेलको ‘चस्मा हरायो कता’, हरिकला उप्रेतीको ‘कालेका बाउ’, गिरिराज जोजीको ‘दारी’ शीर्षकको  कविता प्रस्तुत गरिए ।

कार्यक्रममा रुद्र अधिकारीका मुक्तक सिर्जना, हरि घिमिरे, चक्र दवाडीको र सरोज घिमरेका व्यङ्ग्य कविता प्रस्तुत भएपछि गायक कमलीकान्त भेटुवालले लोकभाकाको गीत गुनगुनाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा समसायिक धाराका स्थापित छन्दकविहरूको प्रतिनिधित्व थियो । भूवनहरि सिग्देल, प्रल्हाद पोख्रेल, कोषराज न्यौपाने, जगदीश्वर पोखरेल, दिनेश पाण्डे, दिव्यचन्द्र आचार्य, डा.जीवन अधिकारी, नगाधिराज, रमेश खकुरेल, नगाधिराजहरूद्वारा छन्द संरचनामा आफ्ना रसदार कविता प्रस्तुत गरिए । दिनेश पाण्डेको छन्दमा पनि समसायिक विद्रूप स्थितिमाथि गरिएको व्यङ्ग्य निकै प्रभावशाली थियो भने, केही कविता नववर्षको स्वागतमा समर्पित थिए ।

गद्यशैली संरचनामै रचित कविताहरू प्रस्तुत अन्य कविताहरूमा नरनाथ लुइँटेल, प्रेम वली ढकलपुरे, टेकबहादुर कोइराला, लक्ष्मण गाम्नागे, र चट्याङ मास्टरका कविताहरू निकै चोटिला र हास्यव्यङ्ग्यात्मक थिए । कार्यक्रममा थरेन्द्र बरालले प्यारोडी र धीरेन्द्र प्रमर्षिले गजल गायन प्रस्तुत गरे । .

कार्यक्रमको बिसौनीतिर प्रा.डा माधवप्रसाद पोख्रेलले आफ्नो सुन्दर कविता प्रस्तुतिपछि छोटो तर सारगर्भित मन्तव्य दिनु भयो । प्रस्तुत भएका कविताबारे उहाँको कथन थियो- ‘प्रस्तुत कविता सुनेपछि राष्ट्र र राष्ट्रियता जोगाउने दायित्व अब हाम्रा कविहरूमै मात्र रहेको छ ।’ अबको पुस्तालाई राष्ट्रिय चिन्तनले प्रशिक्षित गर्न कविहरू क्रियाशील हुनु पर्दछ, नत्र अब न राष्ट्र रहन्छ, न राष्ट्रियता रहन्छ- पोख्रेलको कथन थियो ।

यस कार्यक्रममा हास्य र व्यङ्ग्य कविताहरूको बाहुल्यता र बाँकी कविता छन्दसंरचनामा आधारित स्तरीय कविताहरूको प्रस्तुति रहेको ‘बेफिक्री बेलुकी’को ब्यानरमा सम्पन्न काव्यगोष्ठीको विशेषता देखियो । कार्यक्रमको संयोजन र सहजीकरणमा कोकगोष्ठीका कोषराज न्यौपाने र सिस्नुपानीका लक्ष्मण गाम्नागेको भूमिका रहेको थियो ।

अन्त्यमा सुरेन्द्र सिटौलाले कविताबद्ध शैलीमै धन्यवाद ज्ञापन गर्दै बेलाबेला यसैगरी आतिथ्यता प्रदान गर्न उपस्थित कविहरूलाई पुनः आमन्त्रण आव्हान गरी अनौपचारिक रुपमै कार्यक्रम समापन भएको जानकारी दिए ।

कार्यक्रम समापनपछि उपस्थित स्रष्टाहरूलाई सायंमकालिन भोजन गराएर विदा गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x