साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याकोे ४३९ औँ विशेष शृङ्खला शुभकामना कविगोष्ठी

साहित्य सन्ध्यामा ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा, ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चासहित विशेष शुभकामना कविगोष्ठी’ सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख २ । साहित्य सन्ध्यामा ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा, ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चासहित विशेष शुभकामना कविगोष्ठी’ सम्पन्न भएको छ ।

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३९ औँ विशेष शृङ्खला वैशाख २ गते शनिबार अपराह्न ठिक १ बजे पद्मोदय मा.वि., रामशाहपथ, काठमाडौँमा आयोजना गरी ‘विक्रम सम्वत्’ परिचर्चा, ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण तथा परिचर्चा, ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चासहित विशेष शुभकामना कविगोष्ठी’ गरी सम्पन्न भयो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्रा.दिनेशराज पन्त उपस्थित हुनुहन्थ्यो भने विशिष्ट अतिथिमा प्रा.डा.रमेशप्रसाद भट्टराई, अतिथिका रूपमा डा.षडानन्द पौड्याल, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.डा.खेमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू कणाद महर्षि र डम्बर पहाडी ‘एलाक’, नियात्राकार पोषरमण चापागाईँ, डा.रूपनारायण श्रेष्ठ, खेमराज निरौला, नर्मदेश्वरी सत्याल, गोपालकुमार मैनाली र सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा ‘विक्रम सम्वत्को प्रचलन र महत्त्व’ विषयमा प्रा.दिनेशराज पन्तले विशद चर्चा गर्नुहुँदै अभिलेखका आधारमा लिच्छवी काल पहिलो प्रामाणिक सम्वत् चलाउने समय मानिन्छ । यद्यपि यो कालभन्दा पहिले पनि विभिन्न कालहरू, प्रचलनहरू चलेका पाइन्छन् । लिच्छवी कालमा झण्डै झण्डै अहिलेकै जत्रो नेपाल रहेको र त्यसपछि तीनवटा राज्य सञ्चालन भएको पाइन्छ । काठमाडौँ मूल केन्द्र रहेर त्रिशुली- नुवाकोटसम्म फैलिएको एउटा राज्य, नान्यदेवको सिमरोनगढ राज्य र सिँजा राज्य सञ्चालन भएका पाइन्छन् । सक सम्वत्, मानदेवले चलाएको सम्वत्, नेपाल सम्वत् र विक्रम सम्वत् चलेका पाइन्छन् । सुरुमा विक्रम सम्वत् पनि मालव सम्वत्, कृत सम्वत्का रूपमा चलाइएको थियो तर बारौँ शताब्दीमा राजा अंशुवर्माको समयमा विक्रम सम्वत्ले व्यापकता लिएको पाइन्छ । चन्द्र शमशेरको पालासम्म तिथिका आधारमा पन्द्र दिनको दसैँपेस्की (तिर्नेगरी) दिने चलन चलेको, पछि एक महिनाको तिर्नेगरी पेस्की दिने गरिएकोमा चन्द्र शमशेरले गतेका आधारमा तिर्नेगरी पेस्की दिने चलन चलाएका हुन् तर त्यो पछि गएर तिर्नुनपर्ने गरी पाउने अवस्थामा परिणत भएको हो । माघदेखि नै उत्तरायण सुरु हुने र साउनदेखि सूर्य दणिण दिशामा जाने, ल्होसारका नामले तीनओटा अलग अलग नयाँ वर्ष मनाइँनेजस्ता सांस्कृतिक पक्षलाई समेटेको विक्रम सम्वत् ऐतिहासिक एवम् सांस्कृतिक हिसाबले महत्त्वको रहेको धारणा राख्नुभयो ।

गेष्ठीमा कथाकार तारा गाउँलेद्वारा लिखित ‘नथाकेको घाउ’ कथासङ्ग्रहको प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सभाध्यक्ष र लेखकले संयुक्तरूपमा लोकार्पण गर्नुभयो । लोकार्पित कथासङ्ग्रहको समीक्षा गर्दै प्रा.डा.रमेशप्रसाद भट्टराईले साहित्य सन्ध्याको विशेष समारोहमा आज यो कृतिको लोकार्पण भएको छ । साहित्य सन्ध्या संवादको स्थल हो । संवाद ज्ञाननिर्माण हो । वर्तमानमा ज्ञान ग्रहण गर्ने कुरा विकृत हुँदे गएको छ र नक्कल गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । हेगेल्सले आफ्नो जीवनकालमा लेखेका केही किताब प्रकाशित गरे र उनको जीवनपछि उनका शिष्यले अप्रकाशित किताबहरू प्रकाशित गराइदिए । अहिले त्यो परम्परा कायम छैन ! लघुकथा लेखनको प्रारम्भ सन १८४२ पछि भएको हो । कथापरम्परामा चेखभ कथाको बुनोटमा चिन्ता गर्दथे भने मुन्द्रो चाहिँ कथाको विषयमा केन्द्रित भएका पाइन्छन् । कथाकार तारा गाउँले पनि कथाको ढाँचा, पाठकलाई निरन्तर तान्ने कौशल वा क्षमताका आधारमा हेर्दा कथाको बुनोटमा ध्यान दिने स्रष्टा हुन् भन्ने देखिन्छ । यो सङ्ग्रहका कथामा विषयको चयन सुन्दर छ, पात्रको निर्माण र कथा बुन्ने कला पनि सुन्दर छ । त्यसैगरी कथाका विषय, निर्मिति र प्रस्तुति पनि सुन्दर पाइन्छ । कथामा कथाकारको प्रतिबद्धता सोझै उपस्थित छ । समाजमा विद्यमान वर्गीय र लैङ्गिक समस्या उजागर गरिएको छ र वर्गसँग लिङ्गको सम्बन्ध कायम गरिएको छ ।

यथार्थलाई प्रस्तुत गर्ने भिन्न किसिमको शैलीको प्रयोग गरिएको छ । सङ्ग्रहका सबै कथामा कथाको र विषयको पुष्टता पाइन्छ । बालमनोविज्ञान र गरिबको मनोविज्ञानको सुन्दर चित्रण गरिएको छ अनि वैचारिक सचेतता भएन भने वर्गीय पक्षधरताले मात्रै काम गर्दैन भन्ने देखाइएको छ । वणर्गत विभेदको चित्रण पनि कथामा गरिएको छ । आपूmभित्रको विद्रोह र पाठकका तहमा विद्रोहको चेतना सम्प्रेषण गर्ने प्रयत्न गरिएको छ । कथाभित्र उपकथा ल्याइएको छ र त्यो शक्तिशाली देखापर्छ । विपन्न वर्गका मानिसको जीवनमा समस्याहरू एकपछि अर्को रूपमा आउँछन्, आइरहन्छन् भन्ने यथार्थको उजागर गरिएको छ । मानव शरीरमाथि अरूको अधिकार रहेको यथार्थलाई पनि सुन्दर ढङ्गले देखाइएको छ । कथामा पूर्वीय ग्राम्य परिवेशको चित्रण गरिएको छ । सबै कथाहरू पाठकीय प्रभाव दिनसक्ने रहेका छन् भन्नुहुँदै अब भने उहाँले आख्यानको सिर्जना गर्दा सैद्धान्तिक पक्षलाई पनि ध्यान दिनु आवश्यक छ । लेखकीय स्तर निर्धारण गर्नुपर्ने, शिल्पगत पक्षमा थप सुधार र पष्किारसहित उपन्यास सिर्जनाका तहका फड्को मार्नुपर्ने सुझाव दिनुभयो ।

गोष्ठीमा साहित्यकार मुकुन्द न्यौपानेद्वारा लिखित ‘अमर सूक्तिसुधा’माथि टिप्पणी गर्दै गोपालकुमार मेनालीले मुकुन्द नयौपाने जीवनको यो उत्तरार्धमा पनि चौधओटा संस्थामा क्रियाशील रहेका, दशओटा कृति प्रकाशित गरिसकेका स्रष्टा हुन् । यो ‘अमर सूक्तिसुधा’मा बयालिसजना स्रष्टाका एकदेखि दश हरफे सूक्तिहरूलाई सङ्गृहीत गरेका छन् । राजनीतिज्ञदेखि राजामहाराजासम्मका सूक्तिहरूलाई अनि पाँच हाइकु र चार मुक्तकलाई पनि सूक्तिकै रूपमा यहाँ समावेश गरिएको छ । महाभारतका, रामायणका, गीताका सूक्तिहरू पनि यसमा समाविष्ट छन् । पछिल्लो पुस्ताको अभिलेखका लागि नेपालको पुरानो राष्ट्रिय गान र अहिलेको राष्ट्रगान पनि यसमा समेटिएको छ । आपूmले पढेका, सुनेका, जानेका कुराहरूलाई एउटै सानो कृतिमा समावेश गरेर यो कृतिलाई पठनीय, सङ्ग्रहणीय पार्ने प्रयत्न गरेकामा साहित्यकार मुकुन्द न्यौपाने धन्यवादका पात्र देखिएको धारणा राख्नुभयो ।

गोष्ठीमा विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, मुकुन्द नयौपाने, कुमार नेपाल, कणाद महर्षि, कात्यायान, प्रदीपरत्न शाक्य, डा.खेमनाथ दाहाल, बलराम विष्ट, खेमराज निरौला, भावना न्यौपाने, गणेश मार्मिक घिमिरे, यदुनाथ वसन्तपुरे, डा.गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी एलाक, जयन्ती स्पन्दन, मुकुन्दप्रसाद ढकाल, डा.भागवत आचार्य, तारा गाउँले, गोपालकुमार मैनाली र एकराज भट्टराईले आआफ्ना कविता, गीत, मुक्तक, एलाक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै अतिथि डा.षडानन्द पौड्यालले साहित्य सन्ध्या ऊर्जाशील संस्था हो र यसले आज ४३९ औँ शृङ्खला सम्पन्न गरिरहेको छ । यो संस्थाको उद्देश्य नयाँ र पुरानो पुस्ताको संयोजन हो । सूत्रबद्धरूपमा सूक्तिमय पारेर लेखिने विधालाई कविता मान्ने गरिन्छ । अहिले पनि यही पक्षमा सबै स्रष्टाको ध्यान जानु आवश्यक रहेको छ । शरीर राजनीति विश्वभर फैलिएको वर्तमानमा विगतका हाम्रा मूल्यमान्यतालाई बिर्सिने प्रवृत्तिको बढोत्तरी भइरहेको हुँदा हाम्रा संस्कृतिजन्य कुराहरूलाई उजागर गर्दै विश्वव्यापीकरण गर्ने दायित्व स्रष्टाको रहेको छ र त्यो दिशामा सबैको ध्यान जानु आवश्यक छ । आजको गोष्ठीमा विशेष परिचर्चा, समीक्षा सम्पन्न भएका छन् र समग्रमा गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतथिले विक्रम सम्वत्को ऐतिहासिक महत्ताका बारेमा विशद चर्चा गरिदिनुभएको छ । विशिष्ट अतिथिले लोकार्पित कथासङ्ग्रहका बारेमा मसिनोगरी समीक्षा गरिदिनुभएको छ । अतिथिले ‘अमर सूक्तिसुधा’को समीक्षा गरिदिनुभएको छ र अर्का अतिथिले आज वाचित सिर्जनामाथि टिप्पणी गरिदिनुभएको छ । आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरेर उपस्थित भइदिने सबै सबैप्रति हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको यो अभियानलाई मूल्याङ्कन गरेर पोखरामा क्रियाशील रहेको ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’ले यस वर्षको रु.एक लाख रुपैयाँ राशिको ‘हेमराज पहारी स्मृति पुरस्कार तथा सम्मान’द्वारा साहित्य सन्ध्यालाई सम्मानित गर्ने निणर्य गरेको जानकारी हामीलाई प्राप्त भएको छ र यो महत्त्वपूणर् मूल्याङ्कनका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

त्यसैगरी साहित्य सन्ध्यामा लामो समय महत्त्वपूणर् योगदान गर्नुभएका र हाल सल्लाहकार रहनुभएका डा.देवी नेपाल तथा सन्ध्याका सदस्य ज्ञानु विद्रोहीका परमपूज्य पिता कुवेरनाथ नेपाल हालै कीर्तिशेष हुनुभएको हुँदा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकाकूल सम्पूणर् परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका समारोहमा यसैगरी निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्को महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x