साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक प्रोल्लास सिन्धुलीयको उपन्यास ‘भग्न भैरव’ सार्वजनिक

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १६ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गर्नुभयो ।

आफूलाई नै कथावाचक बनाएर लेखिएको उपन्यासबारे रोचक घिमिरेले ‘भैरव र आफ्नो’ सम्बन्धसँग सम्बन्धित रोचक संस्मरण सुनाउनुभयो । आफूले देखेका, भोगेका र आजसम्म भैरव अर्यालबारे संकलन भएका तथ्यहरू प्रोल्लास सिन्धुलीयलाई उपलब्ध गराएर उपन्यास लेख्न लगाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उपन्यास भए पनि यो तथ्यमा आधारित भैरव अर्यालको जीवनी नै हो ।”

त्यस्तै गरी अर्का वक्ता लेखक नारायण ढकालले विश्वप्रसिद्ध चित्रकार भ्यानगगको आत्मजीवनीपरक उपन्याससँग तुलना गर्दै भग्न भैरवको तारिफ गर्नुभयो । “३३ वर्षको जीवनमा भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई प्रोल्लासले रोचक शैलीमा प्रस्तुत गरेका छन् । सम्भवतः यो नेपालको पहिलो आत्मजीवनीपरक उपन्यास हो ।”

त्यस्तै कवि ज्योति जङ्गलले हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको बौद्धिकता, शिल्प र हास्यचेतको चर्चा गर्दै उपन्यासको भाषा-शैली र प्रस्तुतिको चर्चा गर्नुभयो । “कविको भाषा आफैँमा विम्बात्मक त भैहाल्छ तर भग्न भैरवमा प्रोल्लासले प्रस्तुति र लेखनको बुनोटमा समेत नयाँ काम गरेका छन् । यो उपन्यास नेपाली साहित्यको एउटा उपलब्धि हुनेछ ।”

लेखक सिन्धुलीयले भैरव अर्यालको जीवनीमा आधारित उपन्यास लेख्न रोचक घिमिरेले प्रेरित गरेको बताउनुभयो ।

बुकहिलले सार्वजनिक गरेको ३०२ पृष्ठको उपन्यासको मूल्य ५५५/- रुपैयाँ राखिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x