साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आठ स्रष्टा सम्मानित तथा पुरस्कृत

प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्मय प्रतिष्ठानले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान गरेका र लुकेका प्रतिभाहरूलाई समेत खोजेर पुरस्कृत, सम्मानित गरेकामा खुसी व्यक्त गर्दै प्रशंसा गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १४ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान, पुरस्कार अर्पण तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

समारोहमा प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मानबाट शशी पन्थी, गुल्मी र रमेश गोर्खाली, वीरगञ्ज पर्सा, दायित्व वाङ्मय सम्मानबाट विष्णुबहादुर सिंह, अर्घाखाँची र चन्द्रकान्त आचार्य, अर्घाखाँची, विद्वच्छिरोमणि हेमराज पुरस्कारबाट चूडामणि गौतम, काठमाडौँ (पच्चीस हजार रुपैयाँ), दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट वसन्त रिजाल, काठमाडौँ (पन्ध्र हजार रुपैयाँ), हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट त्रिभुवनचन्द्र वाग्ले, तनहुँ (एघार हजार रुपैयाँ), दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट डा. जया सत्याल, काठमाडौँ (एघार हजार रुपैयाँ) लाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्मय प्रतिष्ठानले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान गरेका र लुकेका प्रतिभाहरूलाई समेत खोजेर पुरस्कृत, सम्मानित गरेकामा खुसी व्यक्त गर्दै प्रशंसा गर्नुभयो । उहाँले १०८ वटा कृति प्रकाशन गरिसक्नुभएका बृहत्तर नेपाली शब्दकोशका लेखक चूडामणि गौतमलाई पुरस्कृत गरेकामा प्रतिष्ठानको सराहना गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नेपाली वाङ्मयको उत्थानमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि कल्याण श्रेष्ठले रामप्रसाद पन्तद्वारा सिर्जना गरिएको ‘निबन्धावली’ शीर्षकको निबन्धसङ्ग्रह र दायित्व साहित्यिक पत्रिकाको १४१औँ अङ्कको लोकार्पण गर्नुभयो ।

सो अवसरमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा रचना साहित्यिक पत्रकारिताका पर्याय रोचक घिमिरेले चूडामणि गौतम र ‘निबन्धावली’ कृतिबारे क्रमशः परिचयात्मक एवम् समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभयो । अन्य सम्मानित, पुरस्कृत प्रतिभाहरूका व्यक्तित्वमाथि प्रा.डा. भागवत ढकालले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका सभापति रामप्रसाद पन्तले प्रतिष्ठानले समर्पण गरेका सम्मान र पुरस्कार ग्रहण गरिदिएकामा पुरस्कृत, सम्मानित स्रष्टाहरूप्रति कृतज्ञता प्रकट गर्नुभयो । यसैगरी पुरस्कृत प्रतिभाहरूले खुसी व्यक्त गर्दै आफ्ना धारणा व्यक्त गर्नुभएको सो समारोहमा प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौला, प्रतिष्ठानका संस्थापक तथा सदस्य यादव भट्टराईलगायतले दायित्व वाङ्मय प्रतिष्ठानका गतिविधिका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x