रोशन आपगाईंकठै मेरो देश ! कठै हामी नेपाली !
देशको ढुकुटी भरे, हामीले देशको ढुकुटी रित्याएर आफ्नो मात्र भर्यौँ उनीहरू चन्द्रमामा कसरी मानव बस्ती बसाल्ने भनेर घोत्लिरहन्छन्, हामी सत्ता कसरी ढाल्ने र टिकाउने खेलका लागि घोत्लिरहन्छौं !

रोशन आपगाईं :
इतिहासको त्यो कालखण्डमा
चीनको स्वणर्ीम संरचनाको
आधार निर्माण गर्न
हामीले कालीगढ
इन्जीनियर, आर्किटेक्चर
प्राविधिक अरनिकोको टोली
चीन पठाएका थियौँ तर,
अहिले हामी कुलो, पैनीदेखि
बाटो, पुल, भवन निर्माण गर्न पनि
चीनबाट ठेकेदार, इन्जिनियर
आर्किटेक्चरलाई रातो कार्पेट बिछ्याउँछौँ
हामीले भृकुटीलाई भगवान
बुद्धको उपदेश, ग्रन्थ र मूर्तिका
साथ ज्ञान र शान्तिको उज्यालो
किरण छर्न पठाएका थियौंं तर,
अहिले त हाम्रा धर्म र भगवानका
मूर्ति, ग्रन्थ र तस्बिर, सालिक
पनि उतैबाट आयात गर्छौं
रेडियो उतैबाट आयो
मोबाइल आयो उतैबाट
खाद्यान्न लत्ताकपडा उतैबाट आयो
गुन्द्रुक, ढिंडो त के कुरा गर्नु र
गुन्यु, चोली पटुकी, ढाका टोपी,
दौरा सुरुवाल उतैबाट आउन थाल्यो
अरु त के दियो कलश, धुप वाती,
टिका पोते, खादा माला, शंख घण्ट,
तिल कुश, जनै हुँदाहुँदै कात्रो पनि
उतैबाट आउन थालेको छ
अब केही वर्षमा संस्कृतका मन्त्र अनि
ब्राह्मण पनि चीनबाटै आउँनेछन्
राष्ट्रियताको नारा रटेर नथाक्ने हामी
स्वदेशी राडीपाखी, गलैंचा बुन्न- ओछ्याउन
लाज-धक मान्छौं अनि विना सङ्कोच गर्वका
साथ चिनियाँ म्याट गलैंचा घरघरमा ओछ्याई राखेका छौं
कुनै वेला संस्कृति, सभ्यता, बुद्ध दर्शन
अध्ययन गर्न चिनियाँहरू नेपाल आउँथे
अहिले नेपालीहरू उता जानु परेको छ
त्यो बेला काठमाडौमा ट्रली बस गुडेको देख्दा
चिनियाँहरू छक्क पर्थे
अहिले चिनिया बिजुली गाडी देखेर
नेपाली छक्कै पर्नु परेको छ
कुनै बेला नेपालको जुट, चिनीमिल, सिमेन्ट,
कागज, चुरोट कारखाना, रोपवे, रेल,
बोइङ जहाज, राजमार्ग लगायत विकास
पूर्वाधार नियालेर चिम्सा आँखा र भृकुटी
नखुम्चाई निर्निमेष हेर्थे चिनियाँहरू,
आजकल चिनियाँको औद्योगिक क्रान्ति
देखेर सर्मले हाम्रा परेली भुईंतिर लत्रिन्छन्
आजकल हामी सुनखानीमाथि मस्त
कुम्भकणर् निन्द्रा निदाइरहेका छौं तथापि,
सुनको खोजीमा मदनझैं ल्हासाको
कष्टकर यात्रा तय गर्न बाध्य छौं
उनीहरूले एकतावद्ध भएर पत्थरमा हिरा कुँदे
हामीले लुछाचुँडी गरेर हिरालाई नै पत्थर बनायौं
हामी यार्सागुम्बा, पाँचऔले, लौठसल्ला, केशर,
सर्पगन्धा, पिपला आदि दुर्लभ वनस्पतिहरू नुनको
भाउमा बिक्री गरेर त्यसैबाट प्रशोधित औषधी,
भिटामीन, मसलाहरू सुनको भाउमा खरीद गर्छौं
क्रान्तिपछि उनीहरूले विकासका
मूल गाउँगाउँबाट फुटाए,
पटकपटक चन्द्रमा, मङ्गलग्रह अन्तरीक्षमा पुगे
तर,
हामी सत्तामा पुग्यौं ! पुग्दैछौँ ! पुगिरहनेछौँ !
फरक यत्ति हो, उनीहरू आफू रित्तिएर भए पनि
देशको ढुकुटी भरे, हामीले देशको ढुकुटी
रित्याएर आफ्नो मात्र भर्यौँ
उनीहरू चन्द्रमामा कसरी मानव बस्ती बसाल्ने
भनेर घोत्लिरहन्छन्, हामी सत्ता कसरी ढाल्ने
र टिकाउने खेलका लागि घोत्लिरहन्छौं !
उनीहरूका नवीनतम् प्रविधि र उद्योग
कलकारखाना दिनहुँ उदय भइरहन्छन् तर,
अफशोच ! हाम्रा भएका पनि दिनहुँ
विलय र भागवण्डामा विक्री भइरहन्छन्
उनीहरूको सरकार र अभिभावक सन्तानको
उच्च शिक्षापछि स्वदेशमै रोजगारी, उद्योग
कलकारखाना सञ्चालनमा सहयोग गर्छन्
तर, विडम्वना !
हाम्रो सरकार नै जनतालाई विदेशीन प्रेरित गर्छ
अभिभावक आफ्ना सन्तानको जापान, अस्ट्रेलिया,
अमेरिकाको भिजा लाग्यो भन्दै उत्सब मनाउँछन्
चिनियाँहरू टिकटक जस्ता एप बनाउँदै
पैसा कमाउँछन् हामी त्यसैमा भुलिएर
अमूल्य समय बर्बाद गरिराखेका छौँ
कठै मेरो देश ! कठै हामी नेपाली ।
०००
म्याङ्लुङ न.पा.- ६, तेह्रथुम
हाल : नारीता- टोक्यो, जापान
Subscribe
Login
0 Comments
Oldest







































