साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रह्माको विधान

सत्ता, शक्ति र सम्पत्तिको चरम दुरुपयोग गरी आम नागरिक माथि गरिएको अत्याचार र ज्यादतीको मूल्य चुकाउनैपर्छ । उनीहरू सबैको पापपुण्य, दानधर्म, न्याय, व्यवहार तथा क्रियाकलापको सबै हिसाबकिताब चुस्तदुरुस्त पारेर राख्नू, समय धेरै टाढा छैन !

Nepal Telecom ad

रोशन आपगाईं :

एक दिन ब्रह्माले देवर्षि नारदलाई ब्रह्मलोकमा डाक्न प्रतिनिधिमार्फत सन्देश पठाए । सन्देश पाउनासाथ नारदजी ब्रह्मासामुन्ने उपस्थित भई झुकेर प्रणाम गर्दै खडा भए ।

नारदलाई आफ्नो सामुन्ने देखे पछि ब्रह्माले भने, “नारद, तुरुन्तै गएर नन्दी, यमराज, शनिदेव, शेषनाग र मुसालाई यहाँ डाकेर ल्याऊ ।” तत्पश्चात् ब्रह्माजीको आदेश शिरोधार्य गर्दै ‘हस् प्रभु’ भनी नारदजी त्यहाँबाट अन्तरध्यान भए ।

डाक्न पठाइएका सबै पाँचैजना ब्रह्मलोकमा उपस्थित भए । सबैजनाले ब्रह्माजीलाई झुकेर सादर प्रणाम गरे । एकटक सबैको अनुहारमा हेरिसकेपछि ब्रह्माजीले भने, “तिमीहरू स्वर्गको आनन्दमा अभ्यस्त भइसक्यौ । स्वर्गमा हरतरहका सुखसुविधाहरूको भरपुर उपभोग पनि गर्यौ । अब तिमीहरूलाई म एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिन्छु । इमानदारीपूर्वक पूर्ण रूपमा सिद्ध गरेर फर्कनू ।”

पाँचैजना एकापसमा मुखामुख गर्न थाले । ब्रह्माजीले फेरि थपे, “पृथ्वीलोकको नेपालखण्डबाट आउने मानवीय लर्कोले नर्कलोकमा थामी नसक्नुको भीड लाग्न थालेको छ । त्यहाँ तिनको व्यवस्थापनमा निकै कठिनाइ उत्पन्न हुन थालेको छ । यता, स्वर्गका रमणीय स्थानहरू भने विस्तारै खाली हुन थालेका छन् । एकपटक नेपालखण्डमा गएर यस्तो अवस्था आउनुको खास कारण के हो ? त्यसको सम्पूर्ण सत्यतथ्य बुझेर त्यहाँको शासन व्यवस्था, पाप, धर्म, कानुन, न्याय, दण्डविधान तथा मानवीय अवस्थाका बारे एक वर्षसम्म सूक्ष्म अध्ययन गर्नु । अध्ययन पश्चात प्राप्त नतिजाको आधारमा एक प्रतिवेदन तयार पारी ब्रह्मलोकमा उपस्थित हुनू ! ”

ब्रह्माजीको आदेश पाउनासाथ पाँचैजना ब्रह्माजीलाई प्रणाम गर्दै त्यहाँबाट पृथ्वीलोकको नेपालखण्ड तर्फ प्रस्थान गरे ।

एक महिना पनि बित्न नपाउँदै एक दिन हस्याङफस्याङ गर्दै पाँचैजना पुनः ब्रह्मलोक पुगे । ती सबै डर, ग्लानि र पश्चात्तापको भावमा ब्रह्मदेवका सामुन्ने शिर झुकाउँदै उपस्थित थिए ।

कार्यसिद्धी नगरी तुरुन्तै सबैजना फर्किएर आएको देखेर ब्रह्मालाई आश्चर्य लाग्यो । अनि, आक्रोशमिश्रित स्वरमा सोधे, “मैले त्यति संवेदनशील र महत्त्वपूर्ण विषयको अनुसन्धान गर्नका खातिर तिमीहरूलाई उपयुक्त पात्र सम्झेर जिम्मेवारी सुम्पेको थिएँ । तर, प्राप्त जिम्मेवारी पूरा नगरी यो दयनीय र लाचार अवस्थामा आज किन यहाँ ? पूर्वनिर्धारित समयसम्म अध्ययन, अनुसन्धान नहुनाको खास कारण के हो ? सविस्तार सबैजनाले पालैपालो यथार्थ बताओ ! ” त्यसउप्रान्त ब्रह्मदेव केही शान्त देखिए ।

कार्यदलका एक सदस्य मुसाले बिन्ती गर्दै भने, “प्रभु, नेपालखण्डमा त मैले जहीँतहीँ भद्रगोल मात्र देखेँ । मेरो काम खानेकुरा, अन्न, बालीनाली काट्ने, खाने तथा नष्ट गर्ने हो । तर, त्यहाँ त मभन्दा पनि बढी काट्ने, नष्ट गर्ने, संहार गर्ने अनि हसुर्ने ठूलाठूला सुकिलामुकिला अजङ्गका मुसा हुँदारहेछन् । अरुको कुरा काटेर दिन बिताउने, ठूलाठूला अपराध, हत्या, हिंसा गर्ने तर प्रमाण नष्ट गर्न फाइल, सीसीटीभी फुटेज नै गायब बनाइदिँदा रहेछन् ! शासकले सबै सरकारी संयन्त्र र ढुकुटीमा नै ब्रह्मलुट मच्चाएका रहेछन् । त्यहाँका शासकले त कुबेरको भन्दा पनि ठूलठूलो धनको भन्डार थुपरेका रहेछन् । मान्छेहरू आफ्नो धर्मकर्म, संस्कार, परम्परा नै नष्ट गरी पथभ्रष्ट भइसकेछन् । लोकलाजको ख्यालसम्म नगरी समग्र मानव जातिकै बदनामी गर्दै त्यहाँको समाज नै क्षयीकरणको दिशामा अग्रसर हुन थालिसकेछ । त्यही भएर त्यहाँ रहँदा आफ्नै बदनामी हुने ठानी आफैँलाई हिनताबोध भएर टिक्नै नसकी भागेर आएँ प्रभु !”

मुसाको पालो सकिएपछि नन्दीले आफ्नो व्यथा यसरी खोले, “मेरो परिचय देवलोकमा भयंकर शरीर भएको सर्वशक्तिमान साँढेको रूपमा रहेको छ । तर, नेपालखण्डमा त कसैलाई नगन्ने, नटेर्ने, हेपाहा प्रवृत्ति भएका, सधैँ डुक्रिएर बस्ने, नियम-कानुन, दण्डविधान, केहीले पनि नछुने, जनतालाई दास बनाएर राख्ने, भ्रष्टचारमा लिप्त, सहकारी र मिटरब्याजमा नाममा सर्वसाधारणलाई ठग्ने, सामन्ती प्रवृत्ति भएका जेमा पनि मपाइँत्व झार्ने कठोर हृदयका, मभन्दा पनि बलवान्, जहाँतहीँ साँढे नै साँढे रहेछन् प्रभु ! त्यही भएर डरले अत्ताल्लिएर अनुसन्धान नै नसकी म फर्केर आँए ।”

शनिग्रह यसरी पोखिए, “मेरो दृष्टि जहाँ पर्‍यो त्यहाँ सर्वनाश मात्र हुन्छ भन्ने भनाइ छ । साढे सातको दशाले त्यसको जीवन कष्टकर र अत्यन्तै दयनीय अवस्थामा पुग्छ । त्यही भएर मेरो नजिक पर्न सबै डराउँछन् । मेरो नाम सुन्दा मात्र पनि मान्छेहरू काम्छन् । तर, नेपालखण्डमा त मभन्दा पनि बढी शक्तिशाली शनिरूपी दशाधारीहरू रहेछन् । तिनीहरूको कुदृष्टि जहाँ पर्‍यो त्यहीँ सकिने र नष्ट हुँदोरहेछ । देशका ठूलाठूला उद्योग, कलकारखाना, विमानस्थल, रेलवे, रोपवे, सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, न्यायालय, प्रशासनलगायत सबै क्षेत्र ध्वस्त बनाएका रहेछन् । उनीहरूको शक्ति र प्रभावले समग्र जनता नै दशा लागेर थलिएजस्ता दुःखी, शक्तिहीन भएका छन् । त्यहाँ निरीह अवस्थामा बाँच्नलाई कठोर संघर्ष गर्नुपर्ने दयनीय अवस्था रहेछ । नेपालखण्डमा रहँदा ती नरपिशाचहरूको कुदृष्टि स्वयम् ममाथि नै पर्न थाल्यो । उनीहरूका सामु मेरा सम्पूर्ण शक्ति निरीह र दुस्प्रभावी सावित भए ।”

अब पालो शेषनागको थियो । उनले भने, “प्रभु, मलाई चारैलोकमा हजार जिब्रो भएको, परिस्थितिअनुरूप क्षणभरमै आफ्नो स्वरूप, बोली तथा रङ फेर्न सिपालु भनेर चिन्छन् । तर, त्यहाँ त क्षणभरमै बोली फेर्ने, छेपारोको जस्तो रङ फेर्ने, बोली-व्यवहार र कार्यमा पूरै आकाश जमिनको फरक भएका, अरूलाई झुक्याउन, ठग्न, कुरा फेर्न तथा चाकडी गर्न अत्यन्तै सिपालु, गफैले संसार खाने, संसारकै बुद्धिजिवी, बाठो, ज्ञानी आफैँलाई ठान्ने प्रवृत्ति भएका मानवहरू रहेछन् । त्यही भएर आफ्नो विशेषता र क्षमता नै उनीहरूको भन्दा कमजोर ठानी लज्जित भएर देवलोकमा फर्कन बाध्य भएँ ।”

अन्त्यमा, यमराजले बिन्ती चढाए, “प्रभु, मेरो काम त आयु र मिति पुगेकाहरूलाई पृथ्वीलोकबाट उठाएर ल्याउने हो । मैले प्राकृतिक न्यायको सिद्धान्तअनुसार विधिविधानले निर्दिष्ट गरेको कार्य पूणर् जिम्मेवारीका साथ अविचलित रूपमा अनुशासनको परिधिमा रहेर गर्ने गर्दछु । तर, नेपालखण्डमा त बाटो-पुल बनाउने पैसा, जनतालाई खाद्यान्न-औषधि किन्ने पैसा, सबै आफैँ झ्वाम पारी जनतालाई भोकैनाङ्गै, औषधि उपचारबाट समेत वञ्चित गराउँदा रहेछन् । कहिले धार्मिक, साम्प्रदायिक तथा पार्टी र सिद्धान्तको नाममा, कहिले व्यवस्था परिवर्तनको नाममा एकापसमा जुधाएर, भिडाएर, लडाएर भटाभट अल्पआयुमै नर्कतिरको टिकट काटेर जर्बजस्ती धकेलिदिँदा रहेछन् । त्यहाँ धर्म, मानवता, विधिविधानको त कुनै नाम निसान नै भेटिनँ मैले ! त्यही भएर अनुसन्धान नै गर्न नसकेर फर्किएँ, प्रभु ।”

सबैको गुनासो सुनिसकेपछि ब्रह्माले लामो सास तानेर भने, “ठिक छ, हाम्रो विधानमा सानो-ठूलो, धनी-गरिब, राजा-प्रजा सबैलाई समानुचित न्याय व्यवहार हुन्छ । प्राणीले आफ्नो कर्मअनुसारको फल अवश्य भोग्नुपर्छ । सत्ता, शक्ति र सम्पत्तिको चरम दुरुपयोग गरी आम नागरिक माथी गरीएको अत्याचार र ज्यादतीको मूल्य चुकाउनैपर्छ । उनीहरू सबैको पापपुण्य, दानधर्म, न्याय, व्यवहार तथा क्रियाकलापको सबै हिसाबकिताब चुस्तदुरुस्त पारेर राख्नू, समय धेरै टाढा छैन ! धैर्य गर, समय आएपछि सबैको न्यायोचित हिसाबकिताब अवश्य हुनेछ ।”

०००
तेह्रथुम (हाल जापान)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x