सुलसुलेसाहित्य सदनले मोहनविक्रम सिंह र डा.अभि सुवेदीलाई सम्मान गर्ने
साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ मोहनविक्रम सिंह र ‘व्यथित साहित्य सम्मान’ प्रा.डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

काठमाडौं, ०८० जेठ १६ । साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ मोहनविक्रम सिंह र ‘व्यथित साहित्य सम्मान’ प्रा.डा.अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
साहित्य सदन नेपालले प्रतिवर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान’बाट यस वर्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा सौन्दर्यचिन्तक मोहनविक्रम सिंहलाई र यस वर्षदेखि साहित्य सदनले प्रदान गर्ने ‘व्यथित साहित्य सम्मान’बाट वरिष्ठ समालोचक, कवि, निबन्धकार एवं नाटककार प्रा.डा.अभि सुवेदीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यमा मोहनविक्रम सिंह समाजवादी यथार्थवादी धाराका सशक्त स्रष्टा एवं द्रष्टाका रूपमा सुपरिचित हुनुहुन्छ । साहित्य लेखन यात्रामा झन्डै सात दशक व्यतीत गरिसकेका अठासी वर्षीय सिंहका सिर्जना र समालोचना गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
अभि सुवेदी नेपाली र अङ्ग्रेजी दुवै भाषामा समानान्तर रूपमा कलम चलाउने व्यक्तित्व हुनुहुन्छ । छ दशकको साहित्यिक यात्रा पार गर्नुभएका सुवेदीका करिब दुई दर्जन कृति प्रकाशित छन् ।
राणाविरोधी आन्दोलनदेखि निरन्तर राजनीतिक, वैचारिक सङ्घर्षमा हेलिनु भएका मोहनविक्रम सिंह साम्यवादी आस्थाका अविचलित शिखर व्यक्तित्व हुनुहुन्छ भने अभि सुवेदी प्राध्यापन र लेखन दुवै क्षेत्रका सगरमाथा व्यक्तित्व हुनुहुन्छ ।
साहित्य सदन नेपालले उहाँहरू दुवै जनालाई यही २०८० साल जेठ २६ गते शुक्रवार दिनको २ बजे साहित्य सदन नेपालको प्रेक्षालय, रामहिटी बौद्धमा एक भव्य समारोहका बिच उक्त सम्मान/ पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको कुरा साहित्य सदनका कार्यवाहक अध्यक्ष डा. हेमनाथ पौडेलले जानकारी दिनु भएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































