साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अविरल यात्रा’मा कवि लक्ष्मी मालीका एक दर्जन कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाकी पूर्वउपसभामुख, पूर्व कानुन मन्त्री एवम् साहित्यकार डा.शिवमाया तुम्बाहाङ्फे उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार ९ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि लक्ष्मी मालीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाकी पूर्वउपसभामुख, पूर्व कानुन मन्त्री एवम् साहित्यकार डा.शिवमाया तुम्बाहाङ्फे उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

वरिष्ठ कविहरू श्यामल, वासुदेव अधिकारी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर तथा साहित्यकार अनिता लामा, अग्रज स्रष्टाहरू प्रा.डा.खेमनाथ दाहाल, नर्मदेश्वरी सत्याल, नमुना शर्मा र डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कवि लक्ष्मी मालीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले लक्ष्मी मालीका करिब तीन दशकबिचमा रचना भएका दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याइएको बताउनु भयो ।

पारिजात स्मृति केन्द्रलगायत विभिन्न सङ्घसंस्थामा नेतृत्व गरिसकेकी, पारिजात कला पुरस्कारकी संस्थापकसमेत रहेकी, साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने र मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानकी अभियन्ता, पाठ्यक्रम निर्माणमा समेत अहम् भूमिका निर्वाह गरेकी, २०२८ सालको नयाँ शिक्षाको विरोधमा सक्रियता देखाएकी, यो मुलुकमा सम्पन्न भएका ऐतिहासिक आन्दोलनहरूमा साहित्यिक एवम् राजनैतिक उपस्थिति जनाएकी र शिक्षक आन्दोलनमा समेत सरिक भएर सङ्घर्षका हरेक मोर्चामा उभिएकी लक्ष्मी मालीले नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै विभिन्न सङ्घसंस्थाले पुरस्कार तथा मान, सम्मानद्वारा सम्मानित गरेकी स्रष्टालाई आज हामी सुन्ने छौँ भन्ने धारणा उहाँले राख्नुभयो ।

समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । उहाँले भन्नु भयो ।

आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले अविच्छिन्न चार दशकदेखि सक्रियता देखाइरहेकी सक्रिय एवम् लगनशील स्रष्टा लक्ष्मी मालीलाई प्रस्तुत गरिएको छ । लक्ष्मी माली आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र अत्यन्त सरलताका साथ, जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि भएको धारणा राख्नुभयो र कविलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।

कवि लक्ष्मी मालीले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा धेरै स्रष्टाका कविता सुन्न उपस्थित भएकी छु । यो उद्देश्यमूलक विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता पनि जाहेर गर्दछु । समाजमा दुःख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि; शिक्षा र रोजगारीले ल्याएको परिवर्तनले निम्न वर्गका पात्रमा देखिएको पृथकता अनुभूत गरेपछि, श्रमजीवीका पसिनाको अवमूल्यन भएको देखेपछि, ज्येष्ठ नागरिक उपहासमा परेको देखेपछि आफ्नो मनमा उत्पन्त अनुभूतिलाई सिर्जनामा उतारेको रचनागर्भको पनि जानकारी गराउँदै आफ्ना ‘सानुमाया’, ‘सिमलको टिम्बा’, ‘हली र मैसापको वार्ता’, ‘मनमाया’, ‘नच्छे गल्ली’, ‘छाता’ र ‘आमा तिम्रो नाम के हो ?’ शीर्षकका सातओटा सशक्त एवम् सुन्दर कविता वाचन गर्नुभयो ।

कवि डम्बर पहाडीले ‘बाँसघारी’, कवि नमुना शर्माले ‘रानीपोखरी’, कवि नन्दु उप्रेतीले ‘एकलव्य’, कवि अनिता लामाले ‘सुनचरी’, कवि अस्मिता मानन्धर (लक्ष्मी मालीकी छोरी)ले ‘मेरी छोरी’ शीर्षकका त्यस्तै सशक्त र सुन्दर कविता वाचन गर्नुभएको थियो । सबै गद्यलयमा सिर्जना गरिएका कविताले एकपछि अर्को गर्दै स्रोताको मन तान्नसकेका थिए ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि वरिष्ठ कवि श्यामलले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८० औँ शृङ्खलामा पुगेको रहेछ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थित गुणात्मक छ र यस्तै साना परिष्कारका लागि सहायकसिद्ध हुने गोष्ठीले आगाको भुङ्ग्राको काम गर्दछन् । आज वाचित सबै कविता प्रभाव पार्ने खालका छन् र वाचनकलाले पनि कविताको प्रभाव बढी हुँदो रहेछ भन्ने देखिएको छ । तापनि स्रष्टाले सिर्जनामै बढी ध्यान पुर्याउनुपर्ने हुन्छ । आजका कवितामा सरल र सुललित भाषामा आफ्नै वरपर देखे, सुने र भोगेका अनुभूतिलाई सुन्दर तरिकाले उजागर गरिएको छ भन्नु भयो ।

श्यामलले वाचित कवितामाथि टिप्पणी गर्दै भन्नु भयो- आज वाचित सबै कविता गहिरो अर्थ राख्ने खालका रहेका छन् । स्रष्टाले सिर्जनाको आन्तरिक र बाह्यलयमा ध्यान दिँदै ध्वन्यार्थ सम्प्रेषण गर्नुपर्दछ र त्यो सामथ्र्य लक्ष्मी मालीका कविताले राखेका छन् । साथै आजका कविताले समाजमा प्रयोग भइरहेका र सरल शब्दको चयनबाटै सुन्दर कविता सिर्जना गर्नसकिन्छ भन्ने पुष्टि पनि गरेका छन् । कविता चित्रमय देखिन्छन् । कसैको सोचलाई बाहिर ल्याउने उपकरणजस्तो गरी एकलव्य कवितालाई प्रयोग गरिएको छ । श्रमसौन्दर्यको सुन्दर अभिव्यक्ति कवितामा भएको छ । कविता थोरैले पढ्ने तर गहिरो प्रभाव छाड्ने विधा भएको हुँदा कविता सिर्जनामा स्रष्टा सचेत चाहिँ हुनै पर्दछ । लक्ष्मी माली यो समयकी प्रतिनिधि कवि पनि भएकीले भाषिक संस्कृतिको जगेर्नामा र थप परिष्कारमा जोड त दिनुपर्छ नै । आजको यो विशेष समारोह सार्थक रहेको छ भन्नुभयो ।

विशेष अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो असिऔँ शृङ्खलामा आज वरिष्ठ एवम् सक्रिय स्रष्टा लक्ष्मी मालीलाई सुनियो । सरल तरिकाले गम्भीर भाव सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि भएको छ । महासङ्घको यो सभाकक्षमा हरेक शनिबार फरक फरक घटकका सिर्जनशील समारोह हुने छन् र तिनले साहित्यिक, साङ्गीतिक, वैचारिक खुराक दिने छन् । त्यसैले हाम्रो सक्रिय सहभागिताका लागि म अनुरोध पनि गर्दछु भन्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; सिर्जना, व्यवहार र आन्दोलनकी पर्याय बनेकी लक्ष्मी मालीको घर आफैँमा साहित्यिक घर, साहित्यिक जोडी र साहित्यिक परिवार भएको; सिङ्गो जीवन आन्दोलनमा र रूपान्तरण अभियानमा लगाएकी स्रष्टाले आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै हाम्रो समाजका नारीहरूले, तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूणर् भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको मर्मान्त एवम् जीवन्त चित्रणसहित कविता सिर्जना गरिरहेकोमा खुसी व्यक्त गर्नु भयो ।

आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, अत्यन्त लगनशील, सक्रिय, गुणग्राही स्रष्टा लक्ष्मी मालीका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्को महिनामा ८१ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका स्रष्टा महेशराज खरेललाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
-रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x