बद्रीप्रसाद दाहाल ‘भस्मासुर’नौलो युग, अभिनव बहार ?
देखिन्छन् सब मानचित्र तनका, बन्ने अरे मोडल ? रङ्गी ओठ नचाउँदै मुसुमुसू, हाँस्दै लिए गोडल ॥ यै हो आधुनिकी प्रथा अब पिट्यो, देशै भयो जर्जर । झन् छन् व्यस्त त च्याट जुम्जुम अहो, पुस्तौँ-हजुर्बातक ॥

बद्रीप्रसाद दाहाल :
मम्मी ड्याड मिलेर घोक्रिन गए, आमा र बाबा हरे ।
अन्टी अङ्कलमा रमेर रसना, काकी र काका मरे ॥
अन्टी अङ्कलभित्र जाक्किन गए, मामा तथा माइजू ।
सानीमा र भिनाजु ज्वाँइ भतिजा हट्दै गए भाउजू ॥
आयो फेसनमा नयाँपन अरे, भन्छन् सबै छर्छरी ।
ल्याङ्गा-वान्पिस म्याडी टाइट लुगा, माग्दै गरे कर्करी ॥
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन ।
कस्तो फेसनमा ढले नव युवा, आत्तिन्छ हाम्रा मन ॥
चुल्ठो बाट्छ कपालको गजबले, मुन्द्रा फलामे भिर्यो ।
फाटेका सुरूवाल पाइँट कठै, गाँजा-सुराले पिर्यो ॥
डिस्को हिप्हप च्याँठ्ठिला लिरिकमा, नाच्ने युवाका दल ।
हाम्रा गीत र नाच जीणर् गनिए, आयो कताको भल ॥
मात्रै छन् कुच कञ्चुकी उर खुलै, अङ्गाङ्ग झन्-झन् खुला ।
कास्ता टाइट बस्न नै कठिन छन्, बित्ता कुरेतै लुगा ॥
झ्यालै झ्याल जताततै छ रमिता, नौलो अरे फेसन ।
ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ॥
बाट्ने केश खुला र जिङ्ग्रिङ हुँदा, लाखे भनी झुक्किने ।
आँखीभौँ सव कत्रिएर धनुझैँ, तेर्सो र बाङ्गो हुने ॥
आईब्रो लतपत्त छन् नयनमा, अङ्गाङ्गमा लोसन ।
नौला क्रीम दली मुखै धवल छन् , पर्फ्यूँ छरेका तन ॥
चस्मा छन् नव रङ्गका अति बडा, साक्षात् बने नायिका ।
टेढा नेत्र मिली सबै तरूनिए, श्रृङ्गारले छोपिँदा ॥
र्यापैर्याप र हिप्हपे गजलमा, जोडी मिली नाच्दछन् ।
तन्नेरी जति इस् र डिस् गरिकनै, अङ्ग्रेजझैँ हाँस्दछन् ॥
त्यस्तै ठाउँ चुनेर ट्याटु खतरा, खोप्ने चल्यो फेसन ।
डिस्को डान्स त ‘मोर-मोर’ हुन गै, सर्केर नाच्छन् तन ॥
बिर्से दूध ढिँडो र गुन्द्रुक मकै, ह्वीस्की करी रोजिए ।
थुक्पा तास र ब्रान्डि बीफ परकै, खानापिना खोजिए ॥
देखिन्छन् सब मानचित्र तनका, बन्ने अरे मोडल ?
रङ्गी ओठ नचाउँदै मुसुमुसू, हाँस्दै लिए गोडल ॥
यै हो आधुनिकी प्रथा अब पिट्यो, देशै भयो जर्जर ।
झन् छन् व्यस्त त च्याट जुम्जुम अहो, पुस्तौँ-हजुर्बातक ॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































