सुलसुलेस्रष्टा शिवप्रसाद जैशीको उपन्यास ‘बाँठी’ सार्वजनिक
उपन्यास कृति प्रकाशित गरेकामा कृतिकारलाई बधाइ दिँदै बिग्रँदै गएको राजनीतिक पर्यावरण सुधार्न स्रष्टाहरूले सक्रियतापूर्वक कलम चलाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

काठमाडौँ, ०८० असार ९ । स्रष्टा शिवप्रसाद जैशीको उपन्यास ‘बाँठी’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले पुस्तक सार्वजनिक गर्नु भएको हो ।
डा. रावलले अछामको केन्द्रीयतामा यहाँको संस्कार, संस्कृति, भाषा र समस्यालाई गहिरोसँग पक्रेर उपन्यास कृति प्रकाशित गरेकामा कृतिकारलाई बधाइ दिँदै बिग्रँदै गएको राजनीतिक पर्यावरण सुधार्न स्रष्टाहरूले सक्रियतापूर्वक कलम चलाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
महिलामा हुने बाँझोपनले झेल्नु पर्ने सामाजिक विभेदलाई जैशीले उपन्यासको विषयवस्तु बनाउनु भएको छ । अछामीहरूले बाँझोपन भएका महिलालाई बाँठी भन्ने गरेका छन् । उपन्यासमा बाँझोपनको समस्या रहेकी गौमतीलाई प्रमुखपात्रको रुपमा प्रस्तुत गरिएको छ ।
तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोहमा लाेकार्पित कृतिकाे समीक्षा गर्दै साहित्यकार नरनाथ लुइँटेल, महेशविक्रम शाह र डा. जीवेन्द्रदेव गिरीले ‘बाँठी’ उपन्यासमा प्रस्तुत सुदूरपश्चिमका महिलाहरूका समस्यामा केन्द्रित विविध पक्षमाथि प्रकाश गर्नुभएको थियो । उहाँहरूले उपन्यासको कथानक, भाषा, परिवेश र संस्कृतिमा अछामी आञ्चलिकता झल्किएकाे बताउनु भयो ।
शेरबहादुर कुँवर र शिवराज जोशीले स्रष्टा जैशीप्रति शुभकामना मन्तव्य दिनु भएको थियो भने प्रकाशक भुँडी पुराण प्रकाशनका तर्फबाट केशव पराजुलीले बोल्नु भएको थियो ।
कृतिकार शिवप्रसाद जैशीले लेखकीय मन्तव्य दिँदै सिर्जनाकर्ममा आफूलाई प्रेरित गर्ने शिक्षक शिक्षिका, उत्प्रेरित गर्दै कृति प्रकाशनमा साथ सहयोग प्रदान गर्ने र समारोहमा उपस्थित भएर उर्जा प्रदान गर्ने सबैप्रति कृतज्ञता जाहेर गर्नु भयो ।
भुँडी पुराण प्रकाशन, अछाम सेवा समाज, कमर्श क्याम्पस एल्मुनाई र नौखुवा साहित्य समाजद्वारा संयुक्त रुपमा प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित लोकार्पण समारोहलाई रामबहादुर कुँवरले सहजीकरण गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































