सुलसुलेप्रज्ञा प्रतिष्ठानकाे राष्ट्रिय कविता महोसवमा १० जना कवि पुरस्कृत
नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव- ०८० को समुद्घाटन प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भयो ।

काठमाडौं, ०८० असार ९ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव- ०८० को समुद्घाटन प्रमुख अतिथि तथा प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भयो ।
उद्घाटनका अवसरमा प्रधानमन्त्री दाहालले नेपाली समाजको सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्न आव्हान गर्नु भयो । सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेको पनि उहाँले बताउनु भयो ।
यसअवसरमा प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गर्नुभयो । यसैक्रममा प्रमुख अतिथि प्रधानमन्त्री दाहालले प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकार लगायतका विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका संरक्षक तथा विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग बसाल्न सक्ने सम्भावना रहेको र यसलाई हामीले विश्वभरि पुर्याउन सक्नुपर्छ भन्नुभयो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष भूपाल राईले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंश भएर विकास हुन्छ भन्नुहुँदै एकलभाषी चरित्र भत्काएर पुनःसंरचित गरिएको छ, यसले सकारात्मक र नवीन चेतनाको सुरुवात भएको छ भन्नुभयो ।
भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यसवर्ष नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरेकोमा आफूलाई गौरवबोध भएको कुरा उल्लेख गर्दै शुभकामना पत्र पठाएर ऐक्यबद्धता जनाउनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले राष्ट्रिय कविता महोत्सवको माहोल उल्लासमय छ, मनिषीहरूको सार्थक उपस्थितिले उत्साह थपेको छ र युगचेतनामा केन्द्रित कविता देखा पर्नु सुखद उपलब्धि हो भन्नुभयो ।
राष्ट्रिय कविता महोत्सव-२०८० को उद्घाटन सत्र सञ्चालन क्रममा सदस्यसचिव डा. धनप्रसाद सुवेदीले समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सवप्रति अनेकौँ प्रश्न र जिज्ञासाबिच आकर्षक र उत्साहप्रद ढङ्गले उपस्थित भएका छौँ । यसले नयाँ चेतनाप्रवाह गरेको छ भन्ने विषयमा जोड दिनुभएको थियो ।
यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, पद्य/काव्य विभाग प्रमुख तथा राष्ट्रिय कविता महोत्सवका संयोजक बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सवलाई समावेशी सिद्धान्तअनुरूप अपनाइएको हो र यसले झन् विधागत रूपमा कवितालाई समृद्ध तुल्याउने बताउनुभयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’को अध्यक्षतामा कविता वाचन सत्र सम्पन्न भयो ।
महोत्सवमा इमेल र प्रत्यक्ष गरी ८९२वटा कविता प्राप्त भएकोमा ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता गरिएको थियो ।
कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटा रहेको छनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि आमन्त्रण गरिएको थियो ।
आज यिनै वाचित कविताहरू मध्येबाट नेपाली भाषामा उमेश पुन/छोरी, सिमाना र देश, कृपाकरुणा पोखरेल/रक्तिम कथा, जीवन आरोही/प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा/कविले के सम्झियो ?, नवीन अभिलाषी/भेरी अभिशप्त बगिरहेछ, प्रकाश दिप्साली राई/नौरानको नाम, राधिका कल्पित/परिचयपत्र तथा नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी/मुई गोठ नाइँ भान्या हूँ र पूणर्ानन्द ओझा/मान्सा तथा खाम मगरभाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)/हुन्के वे बड्डाका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ ।
महोत्सवमा अतिथि कविहरू नर्मदेश्वर प्रधान, रमण घिमिरे, गोपाल अश्क, रामबहादुर थापा मगर, सन्जाकुमारी दनुवार, धीरेन्द्र प्रेमर्षी, योगेन्द्र प्रधान, दिग्विजय मिश्र, केवल विनाबी, गीता कार्की, प्रगति राई, मुक्तान थेवा, प्रकाश गुरागाई, भूमिका चौधरी, हाङयुग अज्ञात, टङ्कमणि अधिकारी, सोझो गाउँले, स्वप्निल स्मृति, डा. सोमबहादुर धिमाल, शोभा सुनुवार, रचना तामाङ यात्री, छम गुरुङ र वसन्त बुर्लाकोटीले कविता वाचन गर्नुभएको थियो ।
०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमला

Subscribe
Login
0 Comments
Oldest











































