सुलसुलेविश्वराज अधिकारीको ‘बज्जिका कहाबत’ सार्वजनिक
गरुडास्थित रेडियो मधेश मसला एफएमको प्रेक्षालयमा आयोजित साहित्यिक कार्यक्रममा विश्वराज अधिकारीद्वारा संकलित ‘बज्जिका कहाबत’ कृति सार्वजनिक गरिएको हो ।
रौतहट, ०८० असार १४ । नेपाल साहित्यिक पत्रकार संघको १७ औँ वार्षिकोत्सवको अवसर पारेर रौतहटमा कृति सार्वजनिक गरिएको छ ।
बज्जिका साहित्य संगम रौतहट आयोजक तथा नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेश र आकृति व्रिmयशन हेटौँडा सहआयोजक भई रौतहटको गरुडास्थित रेडियो मधेश मसला एफएमको प्रेक्षालयमा आयोजित साहित्यिक कार्यक्रममा विश्वराज अधिकारीद्वारा संकलित ‘बज्जिका कहाबत’ कृति सार्वजनिक गरिएको हो ।
सर्लाहीका बज्जिका साहित्यकार तथा साहित्यिक पत्रकार रामचन्द्र महतोको प्रमुख आतिथ्यमा विहीवार भएको कार्यक्रममा बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र साह, साहित्यकार मनमोहन सिंह मनोहर, रामचन्द्र महतो कुशवाहा, साहित्यकार विन्दा साहनी तथा कृतिकार अधिकारीले संयुक्त रुपमा ‘बज्जिका कहाबत’को विमोचन गरेका हुन् । प्रमुख अतिथि कुशवाहा ‘बज्जी’ साहित्यिक त्रैमासिक पत्रिकाका प्रकाशक-सम्पादक हुन् ।
अमेरिकाको ओक्लहामामा प्राध्यापन पेसामा आबद्ध अधिकारीले बज्जिका भाषामा प्रचलित उखानहरूको संकलन गरेका हुन् । कृतिको प्रकाशन आकृति क्रियसन हेटौँडाले गरेको हो ।
कार्यक्रममा विमोचनकर्ताहरूले कृतिको महत्वका साथै बज्जिका भाषामा प्रचलित उखानहरूको बारेमा विस्तृत प्रकाश पारेका थिए । कार्यक्रममा भाषासेवी तथा साहित्यकारहरू विपिनकुमार सिंह, कृष्णकुमार सिंह, राजेश कुशवाहा, रामऔतार साह, संगीता सहनी, रेणु गुप्ता, अभिजीत रामलगायतले प्रकाश पार्दै बज्जिका भाषामा प्रचलित लोकसाहित्यको जगेर्ना गर्नुपर्ने बताएका थिए ।
बज्जिका साहित्य संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशमा साहित्यिक पत्रकारिता र पत्रिकाको अवस्थाको साथै बज्जिका लोकसाहित्यबारे सञ्जय साह मित्रले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कुशवाहा, कृतिकार अधिकारी तथा प्रकाशक संस्थाका प्रमुख साहित्यकार राम अविकासलाई गमछा ओढाएर सम्मान गरिएको थियो ।
नेपाली, अंग्रेजी र बज्जिका भाषामा निरन्तर लेखिरहेका कृतिकार विश्वराज अधिकारीको यसअघि ‘बङमतीसे लमहा’ आधुनिक गीत संग्रह र ‘कहाँ गेल ऊ लोग’ संस्मरण संग्रह प्रकाशित छन् ।
०००
– रौतहटबाट सञ्जय साह
Subscribe
Login
0 Comments
Oldest











































