सुलसुलेसत्रौँ स्थापना दिवस सम्पन्न, साहित्यिक पत्रकारहरू सम्मानित
स्थापना दिवसका अवसरमा अभिव्यक्तिका सम्पादक प्रकाशक नगेन्द्रराज शर्मा, आँजुरका सम्पादक राम भरोस कापडी भ्रमर, नारीस्वरकी सम्पादक हिरण्यकुमारी पाठक, सिर्जनाका सम्पादक डी.आर.पोखरेल र हिमाली गुराँसका सम्पादक खिमानन्द पोखरेललाइ सम्मानित गरियाे ।

काठमाडौँ, ०८० असार १४ । नेपाल साहित्यिक पत्रकार सङ्घ (२०६३) सम्पूर्ण साहित्यिक पत्रकारहरूको साझा सङ्गठन हो । यस सङ्घले आफ्नो १७ ओैँ स्थापना दिवस तथा सम्मान समारोह सम्पन्न गरेको छ ।
समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईबाट नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा स्थापित “विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान-२०८०” र “राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान -२०८०” वरिष्ठ साहित्यिक पत्रकारहरूलाई प्रदान गर्नुभयो । सो सम्मानमध्ये अभिव्यक्ति द्वैमासिक (२०२७)साहित्यिक पत्रिकाका प्रधान सम्पादक/प्रकाशक नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा अतुलनीय योगदान पुर्याएबापत “विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान- २०८०” प्राप्त गर्नुभएको हो ।
यसैगरी आँजुर द्वैमासिक मैथिली साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक राम भरोस कापडी भ्रमर, हाम्रो सिर्जना त्रैमासिक साहित्यिक पत्रिका (२०५३)का सम्पादक/प्रकाशक डी.आर.पोखरेल, नारीस्वर त्रैमासिक साहित्यिक पत्रिका( २०५४)का सम्पादक/प्रकाशक हिरण्यकुमारी पाठक, हिमाली गुराँस द्वैमासिक साहित्यिक पत्रिका (२०५४)का सम्पादक/प्रकाशक खिमानन्द पोखरेलले साहित्यिक पत्रकारितामा अमूल्य योगदान पुर्र्याएबापत “राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान- २०८०” द्वारा सम्मानित गरियो ।
यसअवसरमा प्रमुख अतिथि कुलपति राईले “हामी नेपाल प्रज्ञा-प्रतिष्ठानका सम्पूर्ण प्राज्ञहरू साहित्यिक पत्रकारिताकै परिणाम हौँ । यसैबाट फुलेका, फलेका र प्रस्फुटित भएका हौँ ।तसर्थ, मेरो नेतृत्वको प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट एवम् वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रू पचास/पचास हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निणर्य गरेको हो । साथै, प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषा मास्न खोज्यो भन्ने मिथ्या आरोप निन्दनीय छ । यस प्रतिष्ठानको ऐन र सङ्घीय संविधानअनुरूप नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषा र साहित्यको संरक्षण र संवर्धन गर्नु मूल कर्तव्य हो । केही परम्परागत विषयवस्तुको ध्वंस र क्रमभङ्ग गरेर समानताका आधारमा नयाँ निर्माण गर्न खोज्दा कतिपय व्यक्तिहरूलाई असह्य भयो होला । यसबाट कदाचित पनि आफू विचलित नहुने र महत्त्वपूणर् प्राज्ञिक काम गर्ने” बताउनुभयो
नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले “आफू सम्मानित हुन लागेको यस सुखद क्षणमा पनि स्वास्थ्यको प्रतिकूलताका कारण उपस्थित हुन सकिएन । यस सङ्घले १७ औँ स्थापना दिवस मनाइरहँदा साहित्यिक पत्रकारिताले भोग्नु परेका जटिलताबारे निक्र्योल पुर्याउन सकोस् । यसप्रति आफू सदा तत्पर रहेको” भन्दै शुभकामना पत्रमार्फत् उल्लेख गरेको बेहोरा यस सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले समारोहमा वाचन गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष रोचक घिमिरेले “प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिकालाई दिँदै आएको अनुदान/सहयोगलाई निरन्तरता दिई साहित्यिक पत्रकारिताका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्णय गरेकोमा आफैँमा महत्त्वपूर्ण कदम हो, साथै प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषाको विद्यमान गरिमालाई बचाउँदै सबै जातजातिका भाषा र साहित्यको उन्नयन गर्नुपर्दछ । विश्वविद्यालय र क्याम्पसका डिग्री र पिएचडीका विद्यार्थीहरूका परीक्षाजन्य थेसिसहरू यसप्रतिष्ठानबाट प्रकाशित गर्न नहुने भन्दै ऐतिहासिक र अनुसन्धानात्मक कृतिहरू प्रकाशन गर्नमा ध्यानदिनुपर्ने” बताउनुभयो ।
यसैक्रममा समारोहका विशेष अतिथि, सङ्घका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले जब नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना भयो, तब साहित्यिक पत्रकारिताको समस्याको पहिचान, संस्थागत विकास र साहित्यिक पत्रकारको सम्मानमा जोड दिँदै आएको बताउनुभयो ।
यसैगरी समारोहका अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले “नेपाल साहित्यिक पत्रकार सङ्घसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको छ । यसले गर्दा आफूले सकेसम्म साहित्यिक पत्रकारिताका विषयमा भूमिका खेल्ने” बताउनुभयो ।
यस्तै समारोहका अतिथि एवम् साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीले “आफूले पनि साहित्यिक पत्रकारितालाई जीवनको अभिन्न अङ्गको रूपमा आत्मसात् गरिसकेकाले यसको इतिहासलाई अक्षुण्ण राख्दै एकआपसमा सहकार्य र एकता गर्न सकिने” बताउनुभयो ।
सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार, मैथिली साहित्यिक पत्रिका “आँजुर” द्वैमासिकका सम्पादक तथा मधेस प्रज्ञा-प्रतिष्ठानका कुलपति रामभरोस कापडी भ्रमरले “आफूले तिसको दसकदेखि साहित्यिक पत्रकारिता गर्दै आए पनि यस हैसियतमा कसैले खोजी गरेनन् तर आज नेपाल साहित्यिक पत्रकार सङ्घले मैथिली भाषामा साहित्यिक पत्रकारिता गरेबापत जुन सम्मान प्रदान गर्यो, यसबाटआफू ज्यादै हर्षित भएको” बताउनुभयो ।
अर्का सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार,हाम्रो सिर्जना साहित्यिक त्रैमासिकका सम्पादक डी.आर.पोखरेलले “आफू पनि साहित्यिक पत्रकारको हैसियतमा सम्मानित हुन पाउँदा गौरवबोध भएको छ । यसबाट अझ जिम्मेवारी बढेको महसुस भएको छ” भन्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व ,वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यिक पत्रिका नारीस्वर द्वैमासिकका सम्पादक हिरण्यकुमारी पाठकले “नेपाल साहित्यिक पत्रकार सङ्घबाट सम्मानित हुँदा मलाई साहित्यिक पत्रकारितामा थप प्रेरणा मिलेको छ । हामी अलग रहेर होइन, एकआपसमा एकीकृत भावनासहित एकठाउँमा सबै उभिनुपर्ने” बताउनुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको अध्यक्षतामा समारोह सम्पन्न समारोहमा दुवालले “प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले साहित्यिक पत्रकारिताका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्नु एउटा उपलब्धि हो । साथै, साहित्यिक पत्रिकाको अनुदान रोकियो रे भन्ने भ्रम फैल्याउने पनि छन् । तर विगतमा साहित्यिक पत्रिकाले प्राप्त गरेको अनुदानले पनि निरन्तरता पाउने भएको छ, यो सकारात्मक दृष्टिकोण हो । साहित्यिक पत्रिकाको रूपमा आधिकारिक दर्ता भई सञ्चालनमा रहेका अनलाइन साहित्यिक पत्रिकालाई पनि क्रमशः समेट्ने योजना रहेको बताउनु हुँदै प्रज्ञा- प्रतिष्ठानले नेपालीलगायत नेपालमा बोलिने सम्पूणर् मातृभाषा र साहित्यको विकासमा विशेष योगदान पुर्याउनु पर्नेमा” जोड दिनुभयो ।
यस अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्यका क्रममा “नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारहरूलाई एकआपसमा समेटेर एकताबद्द भएको छ, यो नै सङ्गठनका लागि महत्त्वपूणर् कुरा हो” भन्नुभयो ।
यसैगरी सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले धन्यवाद ज्ञापनका क्रममा साहित्यिक पत्रकारको आकर्षणको केन्द्रका रूपमा रहेको नेपाल साहित्यिक पत्रकार सङ्घको विकल्प छैन, यसलाई आात्मसात् गर्दै अघि बढ्नुपर्छ” भन्नुभयो । सङ्घका उपाध्यक्ष बालिका गिरीले सम्मानित साहित्यिक पत्रकारहरूको सम्मानपत्रको बेहोरा बाचन गर्दै यसअवसरका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सङ्घका महासचिव चेतनाथ धमलाले कार्यक्रम सञ्चालनका क्रममा “सातै प्रदेशमा नेपाल साहित्यिक पत्रकार सङ्घको प्रादेशिक संरचना रहेको र साहित्यिक पत्रकारिताको उन्नयनमा अनेकौँ पहलकदमी लिएको बताउनु भयो भनेसङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले “सम्मानित एवम् वरिष्ठ साहित्यिक पत्रकारको योगदान र व्यक्तित्त्वबाट आफू झनै प्रेरित रहेको” उल्लेख गर्नु गर्नुभएको थियो ।
०००
– चेतनाथ धमलाबाट
Subscribe
Login
0 Comments
Oldest











































