साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाठयपुस्तक र बालसाहित्य विषयमा अन्तर्क्रिया

“विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था” विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा विशद् अन्तर्क्रिया कार्यक्रम भयो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० असार १५ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित “विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था” विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा विशद् अन्तर्क्रिया कार्यक्रम भयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर गोष्ठीको उद्घाटन गर्नुभएको
गोष्ठीका विशिष्ट अतिथि, उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बालसाहित्य बालबालिकाका लागि बीजतत्त्व हो, यस लेखनमा बालबालिकालाई अघि नबढाएसम्म कुनै पनि क्षेत्रमा बढ्न नसकिने धारणा राख्नुभयो । साथै,उहाँले विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण पाठ्यपुस्तकको लेखन र सम्पादन उत्तिकै गम्भीर र विचार पुर्‍याएर गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले “नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाज मिलेर वर्षभरि चारवटा उद्देश्यमूलक गोष्ठी, एकपटक बालपुस्तक प्रदर्शनी र एकपटक बालबालिकाबिच कविता प्रतियोगिता आयोजना गर्ने” बताउनुभयो ।

गोष्ठीमा विषयविज्ञ एवम् वरिष्ठ समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले “विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था” विषयक अवधारणापत्र प्रस्तुत गर्दै पाठ्यपुस्तकले बालबालिकालाई प्रश्न गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभयो । आलोचनात्मक शिक्षणकलाका लागि बालसाहित्य आवश्यक पर्ने बताउँदै उहाँले पाठ्यपुस्तक लेखन र स्वतन्त्र साहित्यलेखनबिच ठुलो फरक रहेको स्पष्ट पार्नुभयो ।

अवधारणापत्रमाथि टिप्प्णी गर्दै समालोचक डा. शैलेन्दुप्रकाश नेपालले “पूर्वीय मान्यता, विचार र परिवेश फरक रहेको परिप्रेक्षमा पाश्चात्य मान्यता, विचार र परिवेशका आधारमा मात्र हामीले हाम्रा धारणा बनाउन नहुने बताउनु भयो । पाठ्यपुस्तकले बालबालिकाको व्यक्तित्व विकास र आत्मबल बढाउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकाका उपयुक्त रचना पाठ्यपुस्तकमा राख्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न पनि राख्नुभएको थियो ।

टिप्पणीकार नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य डा. कौशिला रिसालले “बालबालिकाका पाठ्यपुस्तक कसले लेख्ने भन्ने निश्चित मापदण्डको आवश्यकता औँल्याउँदै पछिल्लो समयमा रचनाको गुणस्तरभन्दा आफ्ना नजिकका लेखकका रचना पाठ्यपुस्तकमा राख्ने गरिएको र कक्षाअनुसारको पाठ्यसामग्री नहुने गरेको” भनाइ राख्नुभयो ।

अध्यक्षताको आसनबाट नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले “पाठ्यपुस्तक लेखक र सम्पादक एकातिर, बालसाहित्य लेखक अर्कोतिर हिँडिरहेकाले एउटै मिलनबिन्दु खोज्नुपर्ने अवस्था रहेको” बताउनु भयो ।
नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले “बालसाहित्य, बालबालिकाको सिर्जनात्मक प्रतिभा र बालसाहित्यकारहरूको क्षमता अभिवृद्धिका लागि समाजको वर्तमान कार्यसमिति सक्रिय र समर्पित रहेका”े बताउनुभयो ।

यसैगरी गोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, बालसाहित्यकारहरू भाग्यशाली अधिकारी, छायादत्त न्यौपाने, विजयराज न्यौपाने, यम बाँस्तोला र नारायण तिवारी तथा पुस्तकालयविज्ञ इन्दिरा दलीले विभिन्न प्रश्न र विचार राख्नुभयो । कार्यक्रममा प्राज्ञहरू, बालसाहित्यकारहरू, बालपाठ्यपुस्तकका लेखक एवम् सम्पादकहरूको पनि उपस्थिति थियो ।

०००
– चेतनाथ धमला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x