साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय प्रतिभा पुरस्कार हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेललाई

प्रादेशिक प्रतिभा पुरस्कार-२०७९ बाट पुरस्कृत हुनेहरू मध्ये तीनजना स्रष्टा फित्कौली डटकमसँग रचनात्मक सम्बद्धता रहेका व्यङ्ग्य स्रष्टाहरू हुनुहुन्छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २१ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हरेक वर्ष प्रदान गरिँदै आएको भाषा एवम् साहित्य तर्फको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार ०७९/८० का लागि पुरस्कृत स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ ।

राष्ट्रिय प्रतिभा पुरस्कार, २०७९ द्वारा वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेललाई पुरस्कृत गरिने भएको छ । पूर्व प्रशासक एवम् लामो समयदेखि साहित्यिक लेखनमा सक्रिय पौडेलका अहिलेसम्म १९ वटा कृति प्रकाशित भएका छन् भने ती मध्ये ७ वटा त हास्यव्यङ्ग्य सङ्ग्रह नै प्रकाशित छन् । २००६ साल जेठ ९ गते सिन्धुपाल्चोकको सिपाखोखरेमा जन्मिनु भएका पौडेल कविता, नियात्रा, कथा र समीक्षा लेखनमा समेत सक्रिय रहँदै आउनु भएको छ । फित्कौली डटकममा नियमित हास्यव्यङ्ग्य लेख्दै आउनु भएका पौडेलका दर्जनौँ हास्यव्यङ्ग्य सिर्जना प्रविष्ट भएका छन् ।

त्यसै गरी प्रादेशिक प्रतिभा पुरस्कार-२०७९ बाट पुरस्कृत हुनेहरू मध्ये तीनजना स्रष्टा फित्कौली डटकमसँग रचनात्मक सम्बद्धता रहेका व्यङ्ग्य स्रष्टाहरू हुनुहुन्छ । मधेश प्रदेशबाट पुरस्कृत सञ्जय साह विगत एक वर्षदेखि फित्कौली डटकममा कथ्यौली स्तम्भमा लघुआकारका कथात्मक व्यङ्ग्य रचना लेख्दै आउनु भएको छ । पत्रकारितामा समेत सक्रिय साहका २ वटा हास्यव्यङ्य कृतिका साथै बज्जिका भाषाको अनुसन्धान अन्वेषणसँग सम्बन्धित कृतिहरू प्रकाशित छन् ।

गण्डकी प्रदेशबाट पुरस्कृत छायादत्त न्यौपाने व्यङ्ग्य निबन्ध र साइनो-शैली मार्फत व्यङ्ग्य सिर्जनामा सक्रिय हुनुहुन्छ र उहाँका पनि २ दर्जन भन्दा बढी सामग्री फित्कौली डटकममा प्रविष्ट भएका छन् । उहाँका आधा दर्जन भन्दा बढी बालसाहित्यिक कृतिहरू पनि प्रकाशित भएका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट पुस्कृत भरतकुमार साउद पनि हास्यव्यङ्ग्य कवितामार्फत फित्कौली डटकममा उपस्थिति जनाउँदै आउनु भएका स्रष्टा हुनुहुन्छ ।

यस अतिरिक्त कोशी प्रदेशबाट डिकप्रसाद बान्तवा, बागमती प्रदेशबाट डा.लोकबहादुर लोप्चन, लुम्विनी प्रदेशबाट शोभाराम चौधरी र कर्णाली प्रदेशबाट देवकी तिमल्सिनालाई पनि प्रादेशिक प्रतिभा पुरस्कार-२०७९ बाट पुरस्कृत गरिने भएको छ । पुरस्कृत नरेन्द्रराज पाैडेल, सञ्जय साह, छायादत्त न्याैपाने,  भरत साउद लगायत सबै स्रष्टाहरूप्रति फित्काैली डटकम हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x