सुलसुले‘रमेश विकलको लुकेको प्रतिभा’ नामक कृतिको लोकार्पण
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्माले कृतिको लोकार्पण गर्नुहुँदै साहित्यकार विकलको कलाकारिताको पक्ष पनि उल्लेखनीय रहेको बताउनुभयो ।

काठमाडौं ०८० असार २१ । रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा रमेश विकलद्वारा ‘रवि चालिसेका’ नामबाट सिर्जना गरिएका चित्रकलाहरूको सङ्ग्रह विमोचन गरियो ।
डा.यामप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा वणर्नात्मक लेखन गरिएको र केके कर्माचार्यद्वारा सम्पादित Ramesh Vikals Hidden Talent (रमेश विकलको लुकेको प्रतिभा) नामक कृति प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्माले लोकार्पण गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वरिष्ठ कलाकार हरिप्रसाद शर्माले कृतिको लोकार्पण गर्नुहुँदै साहित्यकार विकलको कलाकारिताको पक्ष पनि उल्लेखनीय रहेको बताउनुभयो ।
प्रतिष्ठानका महासचिव विजय चालिसेको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा प्रा.डा.अभि सुवेदीले कृतिको समीक्षा गर्दै विकल साहित्यमा जस्तै कला सृजनामा पनि यथार्थवादी रहेको बताउनुभयो ।
कार्यक्रममा ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछाली, गोकणर्ेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कलाकार मुकेश मल्ल, कृतिका लेखक डा.यामप्रसाद शर्मा, कृतिका सम्पादक केके कर्माचार्यले विकलको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै उहाँको कलाशिल्प बारे आआफ्ना धारणा राख्नु भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा.हेमनाथ पौडेलले लोकार्पित कृतिका साथै स्रष्टा रमेश विकलको साहित्य एवम् कलाका प्रवृत्ति र योगदानका बारेमा मन्तव्य दिँदै समारोहमा समुपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तथा समारोका सभाध्यक्ष रोचक घिमिरेले विकलको कलाकारिताको आरम्भ रचना पत्रिकाको पहिलो अङ्कको आवरणसँगै भएको बताउनु भयो । विख्यात कलाकार मनुजबाबु मिश्रले आफ्नो कलागुरु रमेश विकल हो भनी उल्लेख गरेको प्रसङ्गसँगै विकललाई त्यो बेलामै विश्वविख्यात कलाकार र कलाकृतिबारे जानकारी रहेको बताउनु भयो ।
साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको घनिभूत सहभागिता रहेको समारोह नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भएको हो । समारोहको सञ्चालन जङ्ग पहाडीले गर्नुभएको थियो ।
विकलको यो लोकार्पित कृति गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रकाशित भएको जानकारी पनि दिइएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































