कविराज घिमिरेबुढ्यौली (काव्यअंश- ६)
पानीको छ महत्त्व जीव र जगत् बाँच्छन् यसैले गरी, पानीकै बलले दुरुस्त हुइने हट्छन् सबै रोग ती, पानीले सब चाउरीपन सबै हट्ने छ खाने गरौं, पानी शुद्ध रहोस् सबै घरघरै खाने व्यवस्था गरौं ।

कविराज घिमिरे :
गल्दैयो अनुहार चाउरिपना देखिन्छ सर्वाङ्ग नै
सुक्को पात बटारिएसरि भयो यो जिन्दगी भारझैँ
केही ख्याल रहन्न बैँस रहँदा गर्ने नगर्ने गर्यो
यस्ताकै परिणामले विरहका गाथा बुनाई भयो
॥४१॥
थर् थर् कम्पन हुन्छ, हात जहिल्यै पोखिन्छ खानेकुरा
लेख्नै हुन्न समात्न यो कलम झन् छोडिन्छ है पक्डिँदा
कुप्रो भैकन बाँस तुल्य बनिँदै झुक्तै हिँडेका दिन
पक्कै आउन सक्छ नागरिक हो गन्दै बसौँ सो दिन
॥ ४२ ॥
उल्टो अर्थ बुझिन्छ बोल्छ जसले राम्रो कुरा तैपनि
विश्वासी जनमाथि हुन्न भर नै शङ्का लिने छन् अनि
यस्तै हुन्छ, समग्र चाल घरमा वृद्धाहरूको बुझी
पारौं उज्ज्वल शान्त सभ्य मन ती सौहार्द होस् जिन्दगी
॥ ४३ ॥
यस्ता लक्षण टार्नुपर्छ, सहजै पाकोपना भाग्दछ
हेरौँ है अब के गरेपछि सबै निर्मूल यो बन्दछ
इच्छामात्र लिए उपाय छ सबै खोजी गरौँ आज नै
होस् दीर्घायु उमेर ढुक्क सँगले बाँच्ने गरौं स्वस्थभै
॥ ४४ ॥
बुढ्यौलीका लक्षण कम गर्ने तरिका
आफ्नै कारण छन् अस्वस्थ अथवा मान्छे बुढ्यौली हुने
खायो भोजन जे मिल्यो अनि वृथा पीडा हुँदै तड़िपने
मांसाहार अशुद्ध भोजन हुँदा आलस्य निम्त्याउँछ
छोड़दा साग र पात कब्जियतले हानी गरी पिर्दछ
॥ ४५ ॥
खानाले दिनसक्छ, यौवनपना वृद्धे हऊन् जो नर
जल्ले गर्दछ ख्याल स्वस्थ रहने जानेर खान्छन् सब
चिल्ला क्षार र अम्लयुक्त जति छन् खाना खराबी बुझी
त्याग्नै उत्तम हुन्छ, वृद्ध जनले होला सुखी जीवनी
॥ ४६ ॥
हुन्छन् दूषित ती अखाद्य पनि छन् होटेलका भोजन
सस्ता वस्तु पदार्थ सेवन गरी रोगी भए जीवन
खान्छौं बिस्कुट चाउचाउ सबले खै खाद्य खै तागत ?
के होला अनि फुर्तिलो तनविषे मिल्ला कहाँ राहत
॥ ४७ ॥
रायो बेथु लुँडे र सिस्नु सजिउन् तोरी अझै चम्सुर
पालुङ्गो सुप छन् अनेक थरिका खाएर सब्जी तब
फर्सी इस्कुस आलु राम-झिंगनी त्यस्तै करेला अनि
छन् स्वादिष्ट र लाभदायक बुझौं दिन्छन् जवानी पनि
॥ ४८ ॥
जाँतो गायब भी ढिकी विलय भो सारा भए नक्कली
खान्छौं पोलिसयुक्त चामल पिठो मानेर उत्कृष्ट ती
बेच्ने छौं गहुँ धान पाक्छ सडुवा खाद्यान्न पो भित्रियो
तन्नेरी पनि वृद्ध हुन्छ, यसरी खे याद कल्ले गर्यो
॥ ४९ ॥
नास्पाती अनि स्याउ अम्बक उता केरा भए सुन्तला
लिच्ची मौसममा फुले रहरिला ती स्वादिला मुन्तला
जान्नैपर्दछ खान स्वाद सँगले दिन्छन् सधैँ तागत
कम्जोरीपन हट्छ, वृद्धजनको बालो झनै हाँस्तछ
॥ ५० ॥
सूर्यारम्भ अगाडि सक्छ, जसले स्नानादि कर्म छन्
योगा ध्यान गरी शरीर बलियो फुर्तीपना पाउँछन्
हिंड्दै स्वच्छ हवा लिएर शुभको आनन्द जो मान्दछन्
त्यस्ता व्यक्ति सधैं चिरायु रहने सत् कर्ममा लाग्दछन्
॥ ५१ ॥
पानीको छ महत्त्व जीव र जगत् बाँच्छन् यसैले गरी
पानीकै बलले दुरुस्त हुइने हट्छन् सबै रोग ती
पानीले सब चाउरीपन सबै हट्ने छ खाने गरौं
पानी शुद्ध रहोस् सबै घरघरै खाने व्यवस्था गरौं
॥ ५२ ॥
प्राणायाम गरेर ज्येष्ठ जनले व्यायाम गर्दा सधैँ
खुम्चेका अवरुद्ध स्नायु जति छन् तन्केर खुल्छन् सवै
पोल्ने झम्झम रोग हट्छ सहजै ताजापना छाउँछ
सबै कट् कट् कम्मर दुख्न छोड्छ छिनमै फुर्तीपना आउँछ
॥ ५३ ॥
०००
‘बुढ्यौली’ खण्डकाव्य (२०७९)
Subscribe
Login
0 Comments
Oldest








































