साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुजयन्तीको अवसरमा ‘पर्या साहित्य विमर्श र कविता वाचन’

डा. पुष्पा केसी भण्डारीले हिमाली संरक्षण समूहले बिगतमा गर्दै आएको वन तथा वातावरण चेतना सम्वन्धित कार्यक्रमहरूको संस्मरण गर्दै यस्ता साहित्यिक कार्यक्रमहरूले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २९ । काठमाडौं फरेस्ट्री कलेज र वन तथा वातावरण साहित्यिक समूहको आयोजना २१० औं भानुजयन्तीको अवसरमा आयोजित ‘पर्या साहित्य विमर्श र कविता वाचन’ कार्यक्रम सम्पन्न भयो ।

प्राज्ञ ध्रुब मधिकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा निवर्तमान माननीय तथा साहित्यकार डा.पुष्पा केसी भण्डारी, पर्या साहित्यका अभियन्ता विजय हितान, वन तथा वातावरण साहित्यिक समूहका संयोजक तथा निबन्धकार डा. रोशन शेरचन उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि र कार्यक्रमको अध्यक्षबाट भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको सो कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य डा. झमकबहादुर कार्कीले गर्नु भएको थियो भने कलेजका सह-प्राचार्य एवम् वन तथा साहित्यिक समूहका संस्थापक सदस्य डा.हिमलाल श्रेष्ठले सहभागीहरूको स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।

डा. पुष्पा केसी भण्डारीले हिमाली संरक्षण समूहले बिगतमा गर्दै आएको वन तथा वातावरण चेतना सम्वन्धित कार्यक्रमहरूको संस्मरण गर्दै यस्ता साहित्यिक कार्यक्रमहरूले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

यसै क्रममा पर्या साहित्यका अभियन्ता विजय हितानले साहित्यिक कलम पर्या साहित्यतिर विश्वव्यापीरूपमा समृद्ध हुँदै गएको र नेपाली साहित्य पनि यसमा सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो । डा. रोशन शेरचनले वन तथा वातावरण साहित्यिक समूहको मुख्य उद्देश्य नै साहित्यको माध्यमबाट जनचेतना जगाउने र सिर्जना मार्फत सम्वन्धित निकायमा खबरदारी गरी भावी पुस्तालाई सन्तुलित पृथ्वी हस्तान्तरण गर्नु रहेको उल्लेख गर्नुभयो ।

कलेजका विद्यार्थीहरू विजय पौडेल र पूणर्िमा जोशीले संयुक्त रुपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा आमन्त्रित अतिथिहरूले आफ्नो साहित्यिक लेखन, पर्यावरणीय साहित्यको बढिरहेको लेखन प्रवृति, यसको महत्व र भानु जयन्तीको उपादेयतामाथि प्रकाश पार्नु भएको थियो ।

अतिथिहरूले कलेजले यसप्रकारको कार्यक्रम गरेर पर्या साहित्यमा भावी पुस्तालाई समेत जोड्ने सह्रानीय काम गरेको कुरा उल्लेख गर्नु भयो । कार्यक्रममा अतिथि लगायत साहित्यकारहरू राजेशमान के.शी., प्रेम खनाल, ममता पौडेल बगालेले कविता वाचन गर्नु भएको थियो भने कलेजका विद्यार्थीहरू ओजस्वी अम्गाई, दिवस घर्तिमगर, कृतिका दाहाल, प्रिया पुन मगर, कन्चन गाहा मगर, अभिशु न्यौपाने तथा सजल प्रधानले आ-आफ्नो कविता वाचन गरेका थिए ।
कार्यक्रममा भानुभक्त र घाँसी, जलवायु परिवर्तन र वातावरण, वन जंगल, बिग्रदो वातावरण, अनि पृथ्वी र सिंगो ब्रह्माण्डप्रतिको चिन्ता र चिन्तनयुक्त कविताहरू वाचन भएको थियो । कार्यक्रमको उत्तरार्धमा कलेजका कर्मचारी कृष्णहरि महर्जनले कृष्णहरि बरालद्वारा लिखित दिपक जंगमद्वारा संगीतबद्ध आनन्द कार्कीले गाउनु भएको ‘यी हल्लाहरू हुन् तिमीले सुनेका…’ भन्ने बोलको गीत गाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै सिर्जना अभियान समाज, भक्तपुरका सचिव समेत रहनु भएका प्राज्ञ ध्रुब मधिकर्मीले विद्यार्थी भनेका भावी नेतृत्व पुस्ता हो, पर्यावरणीय साहित्यमा लाग्नु भएका साहित्यकार तथा पर्यावरण र वातावरण संरक्षणमा लाग्नु भएका व्यक्तित्वहरूबाट यस प्रकारको कार्यक्रम आयोजना हुनु सह्रानीय कार्य हो, विद्यार्थीनहरू जो वन र वातावरण बिज्ञान पढिरहेका छन्, उनीहरू समेतमा साहित्यिक रुची जगाउने अभिप्रायले आयोजित यस कार्यक्रमको ज्यादै ठूलो महत्व छ भन्नु भयो ।

कार्यक्रमको समापन गर्दै डा. झमकबहादुर कार्कीले यस प्रकारको कार्यक्रम गर्ने पहिलो प्रयास भए पनि कार्यकम राम्रोसँग अघि बढेको, उपस्थित अतिथि साहित्यकारहरूको कविता र मन्तव्यले पर्यावरणीय चेतलाई साहित्यसँग जोड्ने सत्प्रयास अघि बढाउन विद्यार्थी लगायत अन्य इच्छुक व्यक्तिहरूलाई हौसला प्रदान गर्ने कुरा उल्लेख गर्नु भयो ।

कार्यक्रममा साहित्यकारहरूले आफूले प्रकाशन गरेका पुस्तकहरू कलेजको पुस्तकालय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा डा.कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x