सुलसुलेइलाममा भानु तथा स्वमेस्वरानन्द जयन्ती
कवि एवम् समीक्षक कुलप्रसाद ढकालद्वारा उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको आयोजना अर्थात् उल्लिखित स्रष्टाद्वयको जन्मजयन्ती मनाउनुको औचित्यमाथि प्रकाश पारिएको थियो ।

फिक्कल, इलाम, ०८० असार २९ इलाम जिल्लाको सूर्योदय नगरपालिका- १०, फिक्कलमा एउटा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो ।
नेपाली साहित्यमा मौसमअनुसारको बाजा बजाउने क्रमले तीब्रता पाउनु स्वभाविक नै हो । विशेष गरी नेपाली साहित्यका आदि महाकाव्यकार , राष्ट्रिय विभूति, राम भक्ति धाराका प्रवर्तक आदिकवि भानुभक्त आचार्य र आध्यात्मिक तथा शैक्षिक चेतनाको शिखर व्यक्तित्व स्वामी स्वमेस्वरानन्दको क्रमशः २१० औँ र १९६ औँ जन्मजयन्तीको अवसरमा तिनै व्यक्तिहरूको सिर्जनात्मक क्षेत्रको चर्चापरिचर्चा, रचनावाचन , नेपाली साहित्य र शिक्षाको क्षेत्रमा पुर्याएका योगदान र वर्तमान अवस्थासम्म आइपुग्दा दुवै स्रष्टाको प्रभाव आदि बारे घनीभूत छलफल पनि भएको थियो ।
सूर्योदय नगरपालिकामा साहित्य, सङ्गीत, कला-संस्कृति, समाज, अध्यात्म-दर्शन आदिको उजागर गरी संरक्षण तथा सम्वद्र्ध्धन गर्ने उद्देश्यले वि.सं. २०७१ सालमा स्थापित संस्था सूर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यिक स्रष्टा तथा द्रष्टा, कविहृदयी व्यक्तित्व, समाजसेवी आदि व्यक्तित्वहरूको गुणात्मक उपस्थिति रहेको थियो ।
मध्य वर्खाको समय भएकाले वर्तमान कार्यसमितिका पदाधिकारीहरू विभिन्न कारणले उपस्थित हुन नसके पनि आजीवन सदस्यहरू तथा बौद्धिक व्यक्तित्वहरूको गणितीय उपस्थितिले कार्यक्रम रोचक र अनुशासित भएको अनुभूति गरियो । कार्यक्रममा संस्थाका सदस्य कवि एवम् समीक्षक कुलप्रसाद ढकालद्वारा उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको आयोजना अर्थात् उल्लिखित स्रष्टाद्वयको जन्मजयन्ती मनाउनुको औचित्यमाथि प्रकाश पारिएको थियो ।
त्यसपछि दीप प्रज्ज्वलन गरी आजको कार्यक्रमको प्रमुख अतिथि सूर्योदय नगरपालिकाका पूर्व उप-मेयर दुर्गादेवी भट्टराईद्वारा तुल पढेर उद्घाटन गरिएको थियो । देशलाई सम्झने र नगरलाई सम्झने राष्ट्रगान र नगरगान भने उच्चारण नगरिएको बुझियो ।
यो कार्यक्रम अलिक भिन्न किसिमको रह्यो जसमा स्रष्टाका जन्मजयन्तीको दिन व्यक्तिगत रचनावाचन भन्दा पनि त्यो शुभ दिन तिनै स्रष्टाका लागि खर्च गर्नुपर्छ भन्ने मानसिकता बनाएर कार्यक्रम सम्पन्न गरिएको पाइयो र यो अत्यन्त सही कार्य पनि हो । त्यसैले ज-जसले रचनावाचन गरे तिनै स्रष्टाहरूको अनेक सन्दर्भ र कृतिका, पङ्िक्त वा श्लोक वा फुटकर कविता नै वाचन गरी स्रष्टाप्रति सम्मान जनाइयो ।
कार्यक्रममा नयाँ सिद्धान्त सुरु भएकै कारण रचनावाचक भन्दा बढी श्रोताको उपस्थिति र अनुशासन अनुकरणीय रह्यो । स्रष्टाद्वय कुलप्रसाद ढकाल र देवीप्रसाद गौतमद्वारा विशेष स्रष्टाका, व्यक्तित्व, कृतित्व र मूल्याकनसहितको प्रस्तुति भएका थिए भने रचनावाचन गर्ने कविहरूमा दुर्गादेवी भट्टराई, बालकुमार भण्डारी, देवीप्रसाद गौतम, कुलप्रसाद ढकाल, निर्मला कट्टेल अग्रवाल, अर्जुन सुवेदी, संस्थाका पूर्व संस्थापक सह-सचिव नदी भट्टराई (स्वामी स्वमेस्वरानन्दको बारेमा पनि रचनावाचन) आदि रहेका थिए । सबैले भानुभक्तका रामायणलगायतका र विभिन्न फुटकर रचनावाचन गर्दा कार्यक्रम कवितामय भएको अनुभूति भयो ।
निर्मला कट्टेल अग्रवालको रामायणमा भएको केही श्लोक वाचनले कार्यक्रम मन्त्रमुग्ध भएको अनुभूति भयो भने देवी गौतम र कुलप्रसाद ढकालको विश्लेषणात्मक चर्चाले भानुभक्तको र स्वामीको बारे थप जान्न उपस्थित सबैमा प्रेरणा मिलेको थियो । त्यसैगरी बालकुमार भण्डारीको स्रष्टा, कविता र लेखन सम्बन्धी टिप्पणी पनि कम रोचक थिएन । समग्रमा कार्यक्रम भव्य र सभ्य थियो ।
संस्थाका अध्यक्ष धनकुमार तामाङको अध्यक्षता, सूनपाका पूर्व उप-मेयर दुर्गादेवी भट्टराईको प्रमुख आतिथ्य र कुलप्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका सचिव प्रेमसागर भट्टराईको सहजीकरण रहेको थियो ।
०००
फित्कौलीको लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest











































