सुलसुलेकवि सुरेन्द्र अस्तफल र आख्यानकार अष्टदेव खनाल पुरस्कृत
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले भानुभक्तका कृतिमा कहीँ कतै केही कमजोरी छन् भने तिनका बारेमा चर्चा गर्दा भानुभक्तको महत्ता नघट्ने बताए ।

चितवन, ०८०, असार ३० । चितवन साहित्य परिषद्ले नारायणगढमा आयोजना गरेको २१०औँ भानु जयन्ती समारोहमा कवि सुरेन्द्र अस्तफल र आख्यानकार अष्टदेव खनाल पुरस्कृत भएका छन् । कवि अस्तफललाई चिसाप प्रतिभा पुरस्कारबाट र आख्यानकार खनाललाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार अर्पण गरिएको हो ।
प्रतिभा पुरस्कारको राशी १५ हजार ४५ र खेमलाल लामिछाने साहित्य पुरस्कारको राशी ५० हजार ४५ रुपैयाँ रहेको छ । पुरस्कृत व्यक्तित्व कवि अस्तफलका बारेमा चितवन साहित्य परिषदका नवराज ढुंगानाले चिनारी प्रस्तुत गरेका थिए । आख्यानकार खनालको अन्तश्चेतना उपन्यासका बारेमा समीक्षक कपिल अज्ञातले टिप्पणी गरेका थिए । पुरस्कृत दुवै स्रष्टाले मन्तव्य व्यक्त गर्दै पुरस्कारले हौसला थपेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेले भानुभक्तका कृतिमा कहीँ कतै केही कमजोरी छन् भने तिनका बारेमा चर्चा गर्दा भानुभक्तको महत्ता नघट्ने बताए । ‘भानुभक्त आचार्य नेपाली साहित्यका सर्वाधिक लोकप्रिय कवि हुन्’ घिमिरेले भने, ‘उनीद्वारा लेखिएको रामायण सर्वाधिक लोकप्रिय छ ।’ भानुभक्तले सँस्कृतबाट नेपालीमा अनुवाद गरेको रामायण लोकप्रिय हुनुको मुख्य कारण यो धार्मिक र साहित्यिक ग्रन्थ हुनु रहेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
०००
– चितवनबाट चिरञ्जीवी दाहाल
Subscribe
Login
0 Comments
Oldest











































