सुलसुलेमातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न पुरस्कारहरू वितरण
प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको “महालक्ष्मी साहित्य पुरस्कार -२०७९ “ वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याए बापत भट्टराईलाई ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

हेटौंडा, मातृभूमि साहित्य समाज मकवानपुरको दुई दिवसीय शुक्रवार र शनिवार आयोजित पुरस्कार समर्पण तथा रचना वाचन कार्यक्रम भव्य समारोह बिच सुसम्पन्न भएको छ ।
प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको “महालक्ष्मी साहित्य पुरस्कार -२०७९ “ वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याए बापत भट्टराईलाई ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदातासमेत हुन् ।
महालक्ष्मी विकास बैङ्क प्रायोजक रहेको यो २० औँ पुरस्कार हो । २०७९ मा यो पुरस्कार साहित्यकार श्रवण मुकारुङले प्राप्त गरेका थिए । वित्तीय क्षेत्रको अग्रणी संस्था महालक्ष्मी विकास बैङ्क हेटौंडा शाखाले साहित्यको श्रीवृद्धिका लागि उक्त साहित्य पुरस्कार प्रायोजन गर्दै आएको छ ।
साथै मातृभूमि साहित्य समाज मकवानपुरले यस वर्षको केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट हेटौँडाका पत्रकार सुरेश श्रेष्ठलाई सम्मानित गरेको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।
यसैबिच मातृभूमि साहित्य समाजले यस वर्षको वर्षाकालीन आधा दर्जन पुरस्कारले साहित्य क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । मकवानपुरका अग्रज साहित्यकार आर.आर. चौलागाईं लाई १५ हजार राशिको श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य सम्मानले सम्मानित गरिएको छ भने ईश्वरी स्मृति मातृभूमि पुरस्कारबाट डा.शैलेन्द्रु प्रकाश नेपाललाई पुरस्कृत गरियो । सो पुरस्कारको राशि पनि १५ हजार रुपैयाँ नै रहेको छ । यस्तै १५ हजार राशिकै होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका छन्द कवि लकाश पौडेललाई, शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौँडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ अमर माध्यमिक विद्यालयका प्रअ मालती उप्रेती सम्मानित हुनुभएको छ ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री माधव बहादुर पोखरेलको अध्यक्षतामा भएको थियो । उक्त दुई दिवसिय कार्यक्रम शुक्रबार ५ गते प्रमुख अतिथी प्रा.डा. गोबिन्दराज भट्टराई र ६ गते चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका महासचिव हेमन्त ढुङ्गेल र सचिव मञ्जु खरालले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा पुरस्कार संस्थापक महालक्ष्मी विकास बैकका क्षेत्रीय प्रबन्धक शम्भु प्रसाद पराजुली, हेटौंडा शाखाका मेनेजर अनन्त धिताल बैक कर्मचारी र अन्य संस्थापकहरूको उपस्थित रहेको थियो । मकवानपुर जिल्ला भित्रका स्थानीय स्रष्टा एवम् पत्रकारहरू, र चितवनका वरिष्ठ स्रष्टाहरू केशव राज आमोदी, गोविन्दराज विनोदी, धनराज गिरी, लकास पौडेल, विष्णु प्रसाद पौडेल गजलकार पुष्प अधिकारी अञ्जली र अन्य स्रष्टाहरूको पनि उपस्थिति रहेको थियो ।
अतिथिहरू सबैले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा समाजका संरक्षक एवम् संस्थापक अध्यक्ष हयग्रीव आचार्य, सल्लाहकार देवराज खरेल,उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, लगायतको सहभागिता रहेको थियो ।
०००
– हेटौँडाबाट किशन पौडेल
Subscribe
Login
0 Comments
Oldest












































