सुलसुलेरमेश सायनको ‘अन्तर’ उपन्यासमाथि अन्तर्क्रिया सम्पन्न
कार्यक्रमका सभापति रमेश प्रभात सभापति रहेकाे कार्यक्रमा मूख्य वक्ता भूपिनले यौनिक अल्पसंख्यकको यौन जीवनलाई प्राथमिकतामा राखेर ‘अन्तर’ उपन्यास लेखिएको बताए ।

गैँडाकोट, ०८० साउन ६ । अक्षर समूह चितवनले यही साउन ६ गते शनिबार नारायणी रिसोर्ट, गैंडाकोटमा युवा लेखक रमेश सायनको ‘अन्तर’ उपन्यासका बारेमा अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख वक्ता भूपिनले रमेश सायनको ‘अन्तर’ नयाँ अवतार भएको बताएका छन् । यसअघि लेखक सायनले ‘भागेर भूगोलभरी’ कवितासङ्ग्रह र ‘छुटेका अनुहार’ निबन्धसङ्ग्रह प्रकाशन गरेका छन् भने यो ‘अन्तर’ उपन्यास उनको तेस्रो पुस्तक हो । भूपिनका अनुसार ‘अन्तर’ उपन्यासमा यौनिक अल्पसंख्यकको जीवनचित्रलाई कथानक बनाइएको छ ।
वक्ता भूपिनले यौनिक अल्पसंख्यकको यौन जीवनलाई प्राथमिकतामा राखेर ‘अन्तर’ उपन्यास लेखिएको बताए । ‘यौनिक अल्पसंख्यकको जीवन प्रेमबाट कम र यौनबाट धेरै चल्छ भन्ने प्रसङ्गलाई लेखकले प्राथमिकताका साथ लेखेका छन्’, भूपिनले थप प्रष्ट पारे । त्यस्तै नेपालको अर्थराजनीतिलाई पनि यो पुस्तकमा प्रष्ट ढंगले उल्लेख गरिएको भूपिनले बताए । यति हुँदाहुँदै पनि यौन अलिक बढी हावी भएको र कृति अलिक अश्लील भएकोमा भने उनले लेखकलाइ प्रश्न गरे ।
त्यस्तै उक्त पुस्तकमाथि टिप्पणी राख्दै कथाकार वसन्त पराजुलीले यौनिक अल्पसंख्यकको पहिचानलाई पुस्तकले सम्बोधन गरेको जोड दिए । अर्का टिप्पणीकार प्रेम सिग्देलले उपन्यासमा उठाइएका विषयवस्तु अश्लील नभई समाजको वास्तविक चित्रण भएको बताए । कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले लेखक सायनको लेखनशिल्प काव्यिक भएको बताए ।
कार्यक्रमका सभापति रमेश प्रभातले यौनिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । ‘यिनै अल्पसंख्यकको विषयवस्तुमा लेखक सायनले राम्रो उपन्यास लेखेका छन्’, प्रभातले थपे । कार्यक्रमलाई अक्षर समूह चितवनका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































