साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मह जोडी ‘एम्बिसन राष्ट्रिय गौरव’ सम्मानबाट सम्मानित

सम्मान कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले नयाँ पुस्ताले आआफ्नो एम्बिसनलाई साधना, समर्पण, सङ्कल्प र मिहिनेतबाट प्राप्त गर्नुपर्ने सन्देश दिनुभयो भने हरिवंश आचार्यले आफ्नो कलाकारिताको प्रारम्भिक चरणका सङ्घर्षपूर्ण अनुभवहरू सुनाएर नयाँ पुस्तालाई उत्प्रेरित गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँको नयाँ बानेश्वर स्थित एम्बिसन एकेडेमीले चर्तित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०८०’ बाट सम्मानित गरेको छ । जमल स्थित राष्ट्रिय नाचघरको सत्यमोहन प्रेक्षालयमा आयोजित एकेडेमीको अभिमुखीकरण, स्वागत तथा विशिष्ट साधक सम्मान समारोहमा मह जोडीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

उक्त अवसरमा एम्बिसन एकेडेमीका संस्थापक प्रिन्सिपल विष्णुकुमार घिमिरेले विभिन्न व्यक्तिका लागि प्रयोग गर्ने गरिएको ‘अद्वितीय’ र योगदानका विषयमा प्रयोग गर्ने गरिएको ‘अतुलनीय’जस्ता विशेषणहरू मह जोडीका लागि मात्र सुहाउने शब्द हुन् भन्दै एम्बिसनले केवल शैक्षिक उन्नयनमा मात्र ध्यान नदिएर हरेक वर्ष एक न एक जना राष्ट्रका गौरवहरूलाई खोजी गरी सम्मान गर्ने गरेको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक प्रा.डा. देवी नेपालले सम्मानित व्यक्तित्वद्वयका बारेमा बोल्दै २००७ सालमा जन्मिएर २०२२ सालमा रेडियो नेपालमा गायकका रूपमा प्रवेश गरी कलाक्षेत्रमा लाग्नुभएका मदनकृष्ण श्रेष्ठ र २०१४ सालमा जन्मिएर २०३१ सालमा रेडियो नेपालमा हास्यव्यङ्ग्य प्रस्तोताका रूपमा प्रवेश गरी कलाक्षेत्रमा लाग्नुभएका हरिवंश आचार्यले २०३६ सालदेखि मह जोडी बनेर आजसम्मको झन्डै पाँच दशकको यात्रा उदाहरणीय रूपमा पूरा गरिसक्नुभएको र यो जोडी विश्वकै इतिहासमा अनुपम रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पञ्चायत कालमा होस्, प्रजातन्त्र कालमा होस् वा वर्तमान लोकतान्त्रिक गणतन्त्र कालमा होस् विकृतिका विरुद्धमा र सुकृतिका पक्षमा निर्भीक आवाज उठाउँदै जनताका अपेक्षाहरूलाई शासकवर्गसम्म पु¥याउन र सभ्य, सुसंस्कृत, समुन्नत र समतामूलक मानवतावादी समाज निर्माणका लागि उहाँहरूले खेल्नुभएको अतुलनीय भूमिकालाई नेपाली माटोले कदापि भुल्ने छैन । यमलोक, प्यारालाइसिस, अंशबन्डा, ककफाइट, ऐना, शपथग्रहण, विज्ञापन, भकुन्डे भूत, दसैँ, लालपुर्जा, कान्तिपुर, सुरबेसुर, मदनबहादुर–हरिबहादुरलगायतका दर्जनौँ हास्यव्यङ्ग्यात्मक चलचित्रहरू, सयौँ हास्य टेलिशृङ्खलाहरू, हजारौँ मञ्चीय प्रस्तुतिहरू र अनगिन्ती जनजागरणमुखी प्रहसन, गीत, सङ्गीत, सूचना, विज्ञापन र सन्देशहरूले सर्वसाधारण जनतादेखि राज्यसञ्चालनको जिम्मा लिएका नेतृत्ववर्गसम्मलाई समेत नैतिकता, इमानदारी, सच्चरित्र र सत्मार्गका लागि दिशानिर्देश गरिरहेका हुनाले उहाँहरू जनमनका गायक, विश्वचर्चित हास्यकलाकार, अद्भुत अभिनेता, जनचेतनाका उद्बोधक, जागरणका संवाहक तथा नेपाल र नेपालीका सर्वोच्च गौरव हुनुहुन्छ ।”

सम्मान कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले नयाँ पुस्ताले आआफ्नो एम्बिसनलाई साधना, समर्पण, सङ्कल्प र मिहिनेतबाट प्राप्त गर्नुपर्ने सन्देश दिनुभयो भने हरिवंश आचार्यले आफ्नो कलाकारिताको प्रारम्भिक चरणका सङ्घर्षपूर्ण अनुभवहरू सुनाएर नयाँ पुस्तालाई उत्प्रेरित गर्नुभएको थियो । दुवै सम्मानित व्यक्तित्वले अत्यन्त प्राज्ञिक समूहबाट सञ्चालित एम्बिसन एकेडेमीले आफूहरूलाई राष्ट्रिय गौरव सम्मान प्रदान गरेर राष्ट्रका लागि थप कामहरू गर्नुपर्ने दायित्व थपिदिएको विचार व्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा युवाकवि तथा गजलकार ज्ञानु विद्रोहीले मह जोडी राजनीति, भूगोल, जाति, धर्म, भाषा, संस्कृति आदि सबै कुराभन्दा माथि रहेका हुनाले उहाँहरूलाई कुनै पनि प्रकारको सीमारेखाले विभाजन गर्न नसक्ने विचार व्यक्त गर्नुभएको थियो ।

प्रखर युवा कलाकार राजा राजेन्द्र पोखरेलको हास्यव्यङ्ग्यात्मक प्रस्तुति र चर्चित गायिका टीका प्रसाईंको साङ्गीतिक प्रस्तुतिका साथै एम्बिसन एकेडेमीका विद्यार्थीहरूका एक दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुतिहरू रहेको उक्त कार्यक्रममा नृत्यकला सम्मानबाट युवा नृत्यनिर्देशक तथा कलाकार चूडामणि फुँयाललाई र नवप्रतिभा सम्मानबाट चौध वर्षकै उमेरमा ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्य र सत्र वर्षको उमेरमा हालै ‘अर्जुनदृष्टि’ छन्दोबद्ध कवितासङ्ग्रह प्रकाशन गरेका प्रखर बालप्रतिभा विभूति अधिकारीलाई सम्मान गरिएको थियो ।

यसरी नेपालको राष्ट्रिय गौरव वृद्धिका लागि अतुलनीय योगदान दिनुहुने राष्ट्रका निधिहरूलाई हरेक वर्ष गरिने ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान’बाट यसभन्दा अगाडि नै विश्वका आँखाको ज्योति डा. सुन्दुक रुइत, वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ कवि वैरागी काइँला, वरिष्ठ कलाकार हरिप्रसाद रिमाल कल्याणी रिमाल, वरिष्ठ कवि तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिजस्ता राष्ट्रका गौरवहरूलाई सम्मानित गरिसकिएको जानकारी एम्बिसन एकेडेमीका निर्देशक देवीप्रसाद घिमिरेले दिनुभएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x